शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दोस्रो चरणको चुनावी रौनकः शाहीको काँध थाप्न पाल्पा पुगे स्थापित

सोमबार, ०८ जेठ २०७४, १७ : ३३
सोमबार, ०८ जेठ २०७४
तानसेन (पाल्पा), जेठ ८– काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित २० वर्षपछिको स्थानीय तहको चुनावमा एमालेबाट टिकट पाउन बालकोटदेखि धुम्बाराही निकै धाए । एमालेबाट टिकट पाउने आशाले उनले फेसबुकका जुकरबर्गलाई समेत पैसा बुझाए, केशव स्थापित फ्यान क्लव बनाइ स्पोन्सर गरेर । तर २० वर्षको अवधिमा धेरै पार्टी चहारीसकेका स्थापितले एमालेबाट काठमाडौं महानगरपालिकाको टिकट भने पाएनन् । एमालेबाट टिकट नपाएपछि उनले केही ठाउँमा आक्रोश पनि पोखे । तर पनि एमालेबाट पछिको ठाउँ राख्दै स्थापित स्थानीय तहको पहिलो चरणको निर्वाचनको अन्तिम समयमा एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यको प्रचारप्रसारमा झुल्किए । काठमाडौं महानगरपालिकाबाट टिकट नपाएकोमा स्थापित असन्तुष्ट नरहेको, बरु उनी एमाले उम्मेदवारलाई जिताउने अभियानमा लागेका छन् भन्ने सन्देश फैलाउन एमाले नेता कार्यकर्ताले चुनाव प्रचार कार्यक्रममा स्थापितसँगै बसेका फोटो खिचाएर सामाजिक सञ्जालदेखि हरेक मिडियामा पुर्याए । काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्थापित महानगरमा सडक विस्तार लगायतका केही विकासे कामहरु गरेर स्थापित भएका हुन् । स्थापित गरेको कामको जस एमालेले अहिले पनि लिने गरेको छ । तत्कालिन अवस्थामा एमालेबाट काठमाडौंका मेयर बनेका स्थापित नेकपा मालेदेखि अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीमा गए । २०७० सालमा भएको दोस्रो सविधानसभाको चुनावमा राईको पार्टीबाट संसदको टिकट पाएर पनि जमानत बचाउन सकेनन् । तिनै स्थापित पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाल्पा हान्निएका छन् । पाल्पा सदरमुकाम रहेको तानसेन नगरपालिकाको मेयरमा एमालेले पूर्व मेयर रहेका अशोककुमार शाहीलाई नै टिकट दिने भएपछि स्थापित शाहीको प्रचार अभियानका लागि केही दिनदेखि पाल्पामा रहेका छन् । पाल्पाको पर्यटन प्रवद्र्धनदेखि विकासे योजनाहरु लिएर तानसेन झुल्किरहने स्थापितलाई बोकेर शाही यतिबेला भोट नगरवासीको घरघर पुग्न थालेका छन् । स्थापितलाई आधुनिक काठमाडौँका परिकल्पनाकारको उपमा दिएर शाहीले साथीको मायाले उनी आफ्नो चुनावी अभियानमा साथ दिन आएको उल्लेख गर्दै तानसेनमा घरदैलो अभियान थालेका छन् । दूग्ध उत्पादनको केन्द्र बनेका लुहुङ र चिउडीका किसानलाई सडक पूर्वाधार, आधुनिक यन्त्रउपकरण, सहुलियतमा कर्जा उपलब्ध गराई दूग्धजन्य उद्योग स्थापनाको सम्भावनालाई ध्यान दिने प्रतिवद्धता जनाउदै शाही स्थापितको साथ लिएर सोमवार तानसेन १२ बौघापोखराथोकमा घरदैलो अभियानमा जुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप