सत्ता हस्तान्तरणः एमालेले संसद चल्न नदिए बुधबार के गर्लान् प्रचण्ड ?
मङ्गलबार, ०९ जेठ २०७४, २१ : ०८
काठमाडौं, जेठ ९– सत्ता साझेदार प्रमुख घटक नेपाली काँग्रेससँग नौ नौ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
नौ महिनाको अवधिमा प्रचण्ड नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्ने सहमति काँग्रेस र माओवादीबीच भएको थियो । तर स्थानीय तहको निर्वाचन मधेसवादी दलहरुको सहमति खोज्नकै लागि दुई चरणमा गर्ने निश्कर्षमा सत्तारुढ दलहरु पुगे ।
दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भए पनि प्रचण्ड नेतृत्वमा पहिलो चरणको निर्वाचन मात्र सम्पन्न गर्ने काँग्रेसले अड्डी कस्यो । सोही सहमतिमा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री प्रचण्ड नेपाली काँग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्न तयार भएका छन् ।
विपक्षीले नै रोके प्रचण्डको राजिनामा
अहिलेकै माओवादी–काँग्रेस गठबन्धन कायम राख्न भन्दै प्रचण्डले पूर्व सहमतिअनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् । आफ्नो नौ महिने शासनकालमा भएका उपलब्धिको चर्चा गरी संसदमा संबोधन गरी राजिनामा दिने प्रचण्ड तयारी भने प्रमुख विपक्षी दल नेकपा एमालेले नै असफल पार्न खोजेका छन् ।
मंगलबार नै संसदमा सम्बोधन गरी राजिनामा दिने तयारी गरी प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुसँग सामुहिक तस्विर नै खिचाइसकेका छन् । तर सोमवार सरकारले गरेको स्थानीय तहको संख्या बढाउने निर्णयको विरोध गर्दै एमालेले संसद चल्न नदिने भएपछि प्रधानमन्त्रीको राजिनामाको अन्योल भएको छ ।
प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको संख्या बढाएकोमा विरोध मात्र गरेको छैन, जेठ ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदासम्म प्रधानमन्त्री प्रचण्डलाई राजिनामा नदिने दबाब नै दिएको छ ।
तर काँग्रेस नेताहरुले भने बुधबार प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने दाबी गरेका छन् । काँग्रेस नेता डा.प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डको राजिनामा बुधबार आउने बताएका छन् ।
संसद बैठक चल्न नदिने चेतावनी
एमालेले स्थानीय तहको संख्या थप गर्ने निर्णय सरकारले फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले आफूहरुसँग गरेको सहमति विपरित स्थानीय तहको संख्या बढाएकाले संसद बैठक अवरोध गर्नु परेको स्पष्टिकरण पनि दिए ।
मंगलबार बोलाइएको संसद बैठक स्थगित भएपछि संचारकर्मीसँग कुरा गर्दै उनले संसद बैठक सञ्चालन गराउने वातावरण बनाउने दायित्व सरकारको भएको बताए ।
प्रमुख सचेतक ढकालले प्रमुख दलहरुबीचको सहमतिमै स्थानीय तहको संख्या थप गर्ने सहमति सरकारले उलंघन गरेको आरोप पनि लगाए । एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय संविधान र कानुन विपरित रहेको दावी गरे ।
यता, सत्ता साझेदार काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्रीलाई संसदमा बोल्न समेत नदिएर स्थापित संसदीय परम्परानै तोडि दिएको आरोप लगाएका छन् ।
मुलुकलाई निकास दिन प्रधानमन्त्रीले गरेको प्रयासमा एमाले बाधक बनेको उनले टिप्पणी गरे ।
एमालेले स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान लिएपछि मंगलबार बस्ने भनिएको संसद बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बुधबार विहान नौं बजे बस्ने प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा सहमति बन्ने र संसद बैठक अघि बढने काँग्रेस प्रमुख सचेतक श्रेष्ठले विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । माओवादी केन्द्रको हेडक्वाटर बैठकले पनि काँग्रेससँगको सहकार्य कायम राख्न प्रधानमन्त्रीले राजिनामा दिने सोमवार मात्रै निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण