शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसलाई उम्मेदवार छनौटमा सकस

बुधबार, १० जेठ २०७४, ०८ : ५५
बुधबार, १० जेठ २०७४
धनगढी - दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ । उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा समस्या देखिएपनि आज सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन । यद्यपि उम्मेदवारको टुङ्गो नलाग्दै काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपालगायतका दलले मतदातालाई आफ्नो पक्षमा रिझाउन चुनावी घरदैलो सभा, अन्तरक्रियाजस्ता कार्यक्रम गर्दै आएका छन् । नेकपा ९एमाले०ले भने धनगढी उपमहानगरपालिकाको प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणी देवकोटालाई उम्मेदवार बनाउने निर्णय तीन दिनअघि मात्रै गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले पनि उपमहानगरको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय वैशाखमा नै गरिसकेको थियो । यी दुई पार्टीले धनगढी उपमहानगरसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाइसकेको भएपनि टुङगो लगाइएका कतिपय ठाउँमा अझै कुरा नमिलेको बताइन्छ । कैलालीमा एक उपमहानगर ९धनगढी०, छ नगरपालिका र छ गाउँपालिकासमेत १३ वटा स्थानीय तह रहेका छन् । यीमध्ये धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी महत्व र चासोका साथ हेरिरहेका छन् । ७ नं प्रदेशको एक मात्र महानगरका साथै मुख्य व्यापारिक केन्द्र भएको र पछिल्लो संविधान सभाको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र रहेकाले पनि यो उपमहानगरको चुनावलाई बढी चासोका साथ हेर्ने गरिएको हो । दोश्रो चरणमा निर्वाचन हुने भनेपछि सुरुको अवस्थामा केही सेलाएको यहाँको चुनावी सरगर्मी पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप