शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डेडलाइन जेठ ३१ : राजपा नेपाल अनिर्णीत, कार्यकर्ता अन्यौलमा

बुधबार, १० जेठ २०७४, १४ : ०३
बुधबार, १० जेठ २०७४

काठमाडौ जेठ १०– नवगठित राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल अन्यौलमा देखिएको छ । चुनावमा जाने/ नजाने भन्नेमा पार्टी अनिर्णित भएपछि कार्यकर्ता समेत अन्यौलनमा देखिएका छन् ।

जेठ ३१ काे स्थानीय तह दोस्रो चरणको चुनाव हुन २१ दिन बाँकी रहँदासम्म पनि राजपा नेपाल के गर्ने भनि हालसम्म प्रष्ट भएको छैन । अरु दलहरु चुनावी तयारीमा लागि सकेका छन् तर राजपा नेपालले प्रष्ट धारणा नबनाउँदा तराई मधेशमा कार्यकर्ताहरु अन्योलमा रहेका हुन् ।

यद्यपी केन्द्र स्पष्ट नभएपनि धनुषा, महोत्तरी, रौतहट, पर्सा लगायतका जिल्ला पार्टी कमिटीले विज्ञप्ति जारी गरी संविधान संशोधन नभएसम्म चुनावमा जान नहुने दवाव दिएका छन् ।

संविधान संशोधन र स्थानीय तहको संख्या नबढाएसम्म चुनावमा नजाने कुरा राजपा नेपालका नेताहरुले स्पष्ट रुपमा भन्दै आइरहेका छन् तर चुनावमा नगए के गर्ने त्यो कुनै तयारी छैन । आठ गते राजपा नेपाल अध्यक्षमण्डल तथा संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने विषयमा छलफल गर्नका लागि बैठक बसेका थियो तर प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि एकदिनको समय माग गरेका थिए । त्यसको भोलिपल्ट मन्त्रिपरिषद् बैठकले मधेसका जिल्लामा २२ स्थानीय थप गरेको भएपनि त्यसको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा विरोध गरेको छ ।

उपेन्द्र–गच्छदारका कारण राजपालाई थप चुनौति

उता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम दोस्रो चरणको चुनावको तयारीमा जुटिसकेको छ । तराई मधेशमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रसँगै यी दुई दलको पनि चुनावी चहल पहल बढेपछि राजपा नेपाल झन अप्ठ्यारोमा परेको बुझिएको छ । स्थानीय तहको संख्या भए हुन्छ राजपा नेपालले संशोधन नभएसम्म चुनावमा नजाने अडान लिएपनि स्थानीय तहको संख्या थप भए चुनावमा जाने मनस्थिति बनाएको छ । जेठ ८ गते प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि राजपा नेपालले स्थानीय तहको संख्या थप गर्न दवाव दिएको थिए । सो दलका नेताहरुले मन्त्रिपरिषद्बाट निर्णय मात्र होइन, त्यो कार्यान्वयन भए मात्र आफूहरु विश्वस्त हुने प्रधानमन्त्री प्रचण्ड समक्ष स्पष्ट पारेका थिए । स्थानीय तहको संख्या थप भयो भने चुनावमा जानलाई सजिलो हुने राजपा नेपालका नेताहरुको तर्क छ । तर यस विषयमा उनीहरु खुलेर बोल्न चाहेका छैन । स्थानीय तहको संख्या बढाउन सरकार तयार भयो भने त्यसको बारेमा जनतालाई भन्न सकिने आधार रहने नेताहरुको भनाई छ ।

जेठ ८ गते मन्त्रीपरिषद्को निर्णयबाट स्थानीय तहको सँख्या थप्ने निर्णय गरेपनि त्यो कार्यान्वयन हुनेमा बाधा पुगेको छ । एमालेले त्यसलाई स्वीकार नगर्ने भनि रहेको छ । यस अवस्थामा मधेशी मोर्चा झन अन्योलमा रहेको हो ।

प्रदेशको पुनः संरचनाका लागि अडान लिएका मधेशवादी दलहरु त्यसलाई आयोगमार्फत टुगों लगाउन लचिलो भए । पछि सविधान संशोधन गरेर मात्र चुनावमा जाने कुरा भयो तर चौतर्फि दवावका कारण सविधान संशोधनलाई पनि तत्कालका लागि छाड्ने मनस्थितिमा उनीहरु पुगे र स्थानीय तहको संख्या थप्नुपर्ने विषयमा अडान लिएर बसे । अब स्थानीय तहको सँख्या पनि थपाउन सकिएन भने जनताको बीचमा जान समस्या हुने राजपाका एक नेताको बुझाई छ ।

स्थानीय तहको संख्या नथपिए चुनावमा नसकिने भन्दै राजपा अध्यक्ष महन्थ ठाकुरले आफूहरु आन्दोलनमा जान बाध्य हुने बताए । स्रोतका अनुसार राजपा नेपालका केही नेताहरुले चुनावमा नै जानुपर्ने धारणा राखेपछि अध्यक्ष ठाकुरले चुनावमा त जाने तर जनतालाई के जवाफ दिने भनि प्रश्न गर्ने गरेका छन् । बरु आन्दोलन घोषणा गर्ने र सहमति भयो भने बीचैमा आन्दोलनका कार्यक्रम रोक्ने तर्क महन्थ ठाकुरको छ ।

तर, आन्दोलन घोषणा गर्ने पक्षमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव र शरतसिह भण्डारी छैनन् । उनीहरुले यस्तो परस्थितिमा मुद्दा र एजेण्डालाई थाँती राखेर चुनावमा जाने र चुनावपछि त्यसका लागि पुनः संघर्ष गर्ने तर्क गर्दै आएका छन् । यद्यपी यी सबै विषयको बारेमा राजपा नेपाल अध्यक्ष मण्डलको बैठक विजुली बजारमा बसिरहेको छ । एउटा कुनै निष्कर्ष निकालेर संघीय गठबन्धनको बैठक बस्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप