शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कनकाई नगरमा चुनावी माहोल : मेयर र उपमेयरमा ११ जना मैदानमा

शुक्रबार, १९ जेठ २०७४, १२ : ३४
शुक्रबार, १९ जेठ २०७४

झापा, जेठ १९– झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार तोक्न सकेको छैन । मध्य झापामा पर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्न मैदानमा उत्रिएका उम्मेदवारले विभिन्न एजेण्डा अघि बढाएका छन् ।

शुक्रबार सुरुङ्गामा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले कनकाई नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् ।

कार्यक्रममा सबै उम्मेदवारले कनकाई नगरलाई नमूना नगर बनाउन आफ्नो उम्मेदवारी गरेको र सहकार्यका साथ अघि बढ्ने बताएका छन् । उनीहरुले निर्वाचनलाई द्वन्द्वरहित बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कनकाई नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा एकराज उप्रेती, उपमेयरमा कविता बस्नेत, नेकपा एमालेको तर्फबाट मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मञ्जु प्रसाईं उम्मेदवार बनेका छन् ।

त्यस्तै नेकपा माओवादीका तर्फबाट उपमेयरमा शान्ता अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा केदारप्रसाद गिरी र उपमेयरमा चित्रा श्रेष्ठ उम्मेदवार बनेका छन् । नेकपा मालेले मेयरको उम्मेदवार सो पार्टीका नेता प्रेम दाहाललाई बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भीमप्रसाद अधिकारी मेयर र धर्मलाल राजवंशीे उपमेयरको उम्मेदवार बनेका छन् भने नेकपा माओवादी क्रान्तिकारी (देशभक्त गणतान्त्रिक मोर्चा) को तर्फबाट कवि हरिभक्त संग्रौला उपमेयरको उम्मेदवार बनेका छन् ।

सबै उम्मेदवारले कनकाई नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई यथाशीघ्र समाधान गर्ने, सिंगो नगरलाई नै बन्दमुक्त बनाउने, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप