बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीता नेपाली : कटवालेकी छोरीदेखि सांसदसम्मको रामकहानी

आइतबार, २८ जेठ २०७४, १२ : ४७
आइतबार, २८ जेठ २०७४

काठमाडौं, जेठ २८ – नेकपा माओवादीले सुरु गरेको जनयुद्धले १० बर्षमा नछोएको कुनै भूगोल र कुनै मानिस रहेन । दशबर्षे जनयुद्ध कसैका लागि आशाको केन्द्र बन्यो भने कसैका लागि त्रासको । तरपनि यो आम नेपालीको जिवनसंग जोडिएरै छाड्यो । माओवादी केन्द्रकी सचेतक सीता नेपाली पनि यो जनयुद्धबाट टाढा रहने करै भएन । जनयुद्धले राजनीतिज्ञ र गैरराजनीतिज्ञ सबैको जीवनलाई प्रभावित ग¥यो । राजनीतिमा लागेकाहरु त झन् प्रभावित हुने नै भए ।

सीताकोे परिवार दलित परिवार हो । उनका बुबा गाँउमा कट्वाले काम गर्थे । सुरुमा सीतालाई उनका बुवा र काका पनि राजनीतिमा लागेका छन् भन्ने पत्तो थिएन ।

कांग्रेसले गोली ठोक्छ भन्थे भर्खर बहुदल आएको त्यो समयमा गाँउ गाँउमा काँग्रेसका मान्छेहरु र त्यसको भातृसंगठन नेविसंघ स्कुलमा गएर संगठन विस्तार गर्दै थियो । ‘हामी पढ्ने स्कुलमा पनि नेविसंघका मान्छे आएर मेरी बहिनीलाई (काकाको छोरी) नेविसंघको साधरण सदस्य दियो ।

स्कुलमा मेरो काका शिक्षक हुनुहुन्थ्यो । बहिनीले घरमा गएर त्यो सदस्यता आफ्नो बुबालाई देखाई । काका त स्कुलका शिक्षक थिए । तर उहाँ भूमिगत भएर कम्युनिष्टको कार्यकर्ता भएर काम गर्नु हुन्छ भन्ने थाह थिएन । तत्काल काकाले बहिनीलाई नेविसंघको सदस्यता फिर्ता गर्न लगाउनु भयो ।’ सीताले आफ्नो राजनीतिको सुरुवात यसरी सुनाइन् ।

‘काकाले पछि हामीलाइ राजनीतिका सामान्य कुराहरु सिकाउनु भयो । कम्युनिष्ट भनेको गरीबको पक्षमा काम गर्छ । काँग्रेस धनीहरुको पार्टी हो । त्यो समयमा काँग्रेसले ६० बर्ष पुगेपछि बुढापाकालाई गोलि हान्छन् कम्युनिष्ट भन्ने प्रचार गरिन्थ्यो । त्यहिबेला मैले काकाको मुखबाट रुस र चीनको अनि कम्युनिष्टको बारेमा सुने ।’

भेदभावप्रति वितृष्णा सीताको अनुभवमा त्यो बेलामा दलितमाथि हुने भेदभाव पनि अलि बढि नै थियो । त्यहि भएर उनी कम्युनिष्टप्रति नजिक हुँदै जातीय र वर्गीय भेदभाव हुदैन भनेर अनेरास्ववियु छैठौमा संगठित भइन् ।

भन्छिन् ‘२०५१ सालसम्म विद्यार्थी र महिला संगठनमा जोडिएर काम गरे । ५१ सालमा मलाई पार्टी सदस्यता दिइयो । हामी त्यो समयमा मशालमा थियौ । यसका नेता मोहनविक्रम सिंह थिए । उहाँले राजनीतिक वैचारीक प्रशिक्षण दिनुहुन्थ्यो । ५२ सालबाट माओवादीले जनयुद्ध सुरु गरेपछि यसको बारेमा हाम्रो पार्टीमा पनि बहस हुन थाल्यो । युवाहरुलाई राज्यसत्ताको बारेमा जे सिकाइन्थ्यो त्यो माशालमा हुदैनथियो ।’

विद्रोहको योजना यहि क्रममा २०५६ सालमा सुर्खेत जिल्ला पार्टीले विद्रोह गर्ने योजना बनायो । जिल्ला सम्मेलनबाट नै विद्रोहको तयारी भयो । तयारी पुरा गरेर जिल्ला सम्मेलनबाट नै पुरा सीतासहितको टिम माओवादीमा आयो ।

त्यसवेलासम्म सीताले विवाह गरीसकेकी थिइन् । ‘मैले अन्तरजातिय विवाह गरेकी हुँ । मेरो श्रीमान पनि राजनीतिमा नै भएकाले मलाई धेरै सहज भयो । नत्र अन्र्तजातिय विवाह त्यति टिक्न सम्भव हुदैनथियो ।’

विद्रोहपछि सीता माओवादीमा गइन् । ‘श्रीमान राम चपाई पूर्णकालीन भएर माओवादीमा लाग्नुभयो । म भने पार्टटाइमर भए । बैधानिक रुपमा काम गर्न देशभक्त मोर्चा बनाएका थियौ । यसमा म उपाध्यक्ष थिए । यो मोर्चामा काँग्रेस ,एमाले र माओवादी भएकाले काम गर्न सजिलो थियो । यो मोर्चाले कयौ कार्यकर्ता जन्मायौ ।’

आफ्नो अनुभव सुनाउदै सीताले भनिन् ‘म ५६ सालमा पूर्णकालिन भए । त्यो समयमा मेरो बच्चा डेढ बर्षको थियो । बच्चा छोडेर हिँडे, आइएलमा पढ्थे पढाई पनि छुट्यो । त्यसवेला जिल्ला सदस्य, क्षेत्रीय व्युरो हुदै सुर्खेतको पश्चिममा पनि काम गरे ।

शान्ति प्रकृयापछि .... पार्टी शान्ति प्रक्रियमा आयो । शान्तिकालमा युद्धकालका कयौ मुद्धाहरु स्थापित गर्नुपर्ने थियो । मलाई पनि पार्टीले पहिलो संविधान सभामा प्रत्यक्ष तर्फबाट सुर्खेतको २ नं क्षेत्रबाट टिकट दियो । मेरा प्रतिष्प्रधी ह्रयदयराम थामी र यामलाल कडेल थिए । उहाँहरु जिल्लामा स्थापित र मन्त्री भएका व्यक्ति थिए । मैले पहिलोपटक हारे । त्यसको प्रमुख कारण पार्टी भित्रका नेताहरुको अन्र्तघात थियो । त्यसपछि मैले पार्टीको काम गरे जिल्लामा सहइन्चार्ज भएर । पछि जिल्ला इन्चार्ज भएर काम गर्दैथिए दोस्रो संविधान सभामा मलाई पार्टीले समानुपातिकमा राख्यो । मैले दोस्रो संविधानसभामा सभासद हुने अवसर पाए । पार्टीले दिएको जिम्मेवारी अहिलेसम्म इमान्दारीका साथ गर्दै आएकी छुृ । अहिले पनि पार्टीले सचेतकको भूमिका दिएको छ । त्यो पनि मैले इमान्दारीका साथ निभाएकी छु ।

जनयुद्धको प्रतिफल ‘अहिले माओवादीका कारण धेरै महिला र जनजातिहरुे निर्णायक ठाँउमा पुगेका छन् । यदि नेपालमा जनयुद्ध हुदैन थियो भने नेपालमा यति छिटो यो परिवर्तन सम्भव थिएन ।’ सीताको अनुभव छ । ‘पछिल्लो राजनीतिक परिवर्तन माओवादी जनयुद्धकै कारण भएको हो । हिजोको परिवेश फरक थियो । अहिले फरक छ । हिजोका सपना पुरा गर्नुछ । अहिले हामी पुरा गर्ने ठाँउमा छौ ।’ हिजो आफुले देखाएका देखेका सपना पुरा गर्नुपर्छ भन्ने सीताको मान्यता छ ।

कृष्ण गिरीसँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप