शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वटा युद्ध लडेका कमाण्डर ‘विवश’ न्यूरो अस्पतालको बेडमा छटपटिँदै

आइतबार, १७ पुस २०७९, २१ : १९
आइतबार, १७ पुस २०७९

 विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर सख्त घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सोही कारण उनी औषधि सेवन गरिरहेका थिए । केही दिनदेखि टाउकोबाट लगातार पिप बग्न थालेपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि प्रतिष्ठानले विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरेको हो । ‘तीन दिन अगाडि बिपी प्रतिष्ठान इमरजेन्सीमा भर्ना हुनुभएको थियो, आज बिहान न्यूरो रेफर गरेको हो,’ उनका सहयोगी लविन्द्र खड्काले भने, ‘अपरेशन गर्नुपर्छ भनेको छ, उहाँसँग सिटी स्क्यान गर्ने पैसासमेत नभएर हामीले केही रकम जम्मा गरेर सिटी स्क्यानचाहिँ गरेका छौं, दैनिकको बेडचार्ज बुझाउने पैसा पनि उहाँसँग छैन, टाउकोबाट पिप बगिरहेको छ ।’

जनयुद्धकालमा पटक–पटक उनले मृत्युलाई नजिकबाट देखेका छन् । जनयुद्धकाल र शान्तिकालमा गरी उनी ९ पटक जेल परेका छन् । उनी माओवादीका तर्फबाट प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको बन्द सूचीमा थिए ।

२०५७ मंसिरदेखि माओवादीले थालेको सशस्त्र युद्धमा लागेका उनले तेह्रथुमको पोक्लाबङ, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, सिन्धुलीको भिमान, ओखलढुङ्गाको रुम्जाटार, सिरहाको लहान, काभ्रेपालान्चोकको भकुण्डेवेसी, मोरङको बेलबारी, जाँते, झापाको विर्तामोड चेकपोष्ट आक्रमण, सुनसरीको दुहवी चेकपोष्ट, भोजपुरको रिपीटर टावर आक्रमण, संखुवासभाको तुम्लिङ्टार भिडन्त, इलामको मंगलबारे भिडन्तमा लडेका थिए ।

उनको श्रीमती विमला चौहान (सीमा) जनयुद्धकै बेलामा सहिद भएकी थिइन् भने बहिनी पनि जनयुद्धमा सहभागी भएकी थिइन् । उनी ०६१ सालको फागुनमा मोरङको जाँतेमा भएको भिडन्तमा परी गम्भीर घाइते भएका थिए । त्यसबेला उनको भारतको सिलिगुढी लगेर उपचार भएको थियो । एक्कासी मोटार्रले लागेका उनी २६ दिनपछि होसमा आएका थिए ।

भारतको जलपाइगुडी र कलकत्ता गरी ३ वर्ष जेल बसेका उनी झापाको भद्रपुर, काठमाडौं हनुमान ढोका, जावलाखेल, खाँदबारी, ललितपुर, विराटनगर, पथरी, चैनपुर, उदयपुरलगायतका ठाउँमा उनी ९ पटक जेल परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप