बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ

बुधबार, ३१ असार २०८३, १० : ३२
बुधबार, ३१ असार २०८३

काठमाडौं । नेपालमा बढ्दो नसर्ने रोग (एनसिडी) को जोखिम न्यूनीकरण तथा विपद्का समयमा बिरामीले निरन्तर स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न सरकार, स्वास्थ्य निकाय र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजना अन्तर्गत आयोजित ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफलमा सहभागीहरूले स्वास्थ्य प्रणालीलाई विपद् जोखिम व्यवस्थापनसँग एकीकृत गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाले नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा कार्यान्वयनका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले जोखिममा रहेका समुदायको पहिचान गरी पूर्वतयारी सुदृढ बनाउनुपर्ने बताए।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले विपद्सहित सबै अवस्थामा मानवीय सेवा निरन्तर रहेको जानकारी दिए भने विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न बहुपक्षीय सहकार्य र नीतिगत समन्वय अपरिहार्य रहेको बताए। डेनिस रेडक्रसका देशीय व्यवस्थापक डेभिड फोग्देनले विश्वव्यापी रूपमा नसर्ने रोग गम्भीर चुनौती बनेको उल्लेख गर्दै समुदायमा विपद् प्रतिरोधात्मक स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा डेनिस रेडक्रसका निरु प्रधान, नेपाल रेडक्रसका प्रमोद अधिकारी र अनिल महर्जनले परियोजनाका उपलब्धि, अध्ययनका निष्कर्ष तथा विपद् पूर्वतयारीसँग नसर्ने रोग व्यवस्थापन जोड्नुपर्ने आवश्यकता प्रस्तुत गरे।

छलफलमा एनसिडी सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकरण, आवश्यक औषधि र स्वास्थ्य सामग्रीको आपूर्ति, स्थानीय तहको भूमिका, स्रोत परिचालन, अनुसन्धानमा आधारित नीति निर्माण तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उपायबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा निमित्त कार्यकारी निर्देशक मोना अर्याल र कञ्चनपुरको लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाले सहकार्य र परियोजनाबाट प्राप्त अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रममा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप