आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा सभामुख र उपसभामुखको निर्वाचन पुस २८ र २९ हुने

सोमबार, १८ पुस २०७९, ११ : ४६
सोमबार, १८ पुस २०७९

मकवानपुर ।  बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । बैठक बस्नुअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूची तयार पारेको प्रदेशसभा सचिवालय हेटौडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

जसअनुसार प्रदेशसभाका सभामुखको लागि आगामी २८ गते र उपसभामुखको लागि आगामी २९ गते निर्वाचन गर्न दलहरूबीच सहमति भएको उनले बताए । उक्त निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलीय बैठकमा सहमति भएको उनले बताए ।

उक्त सर्वदलीय बैठकको सहमति अनुसारको सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रुप दिइने उनले बताए । सभामुख र उपसुभामुको निर्वाचन पश्चात प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको उनको भनाइ छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा बन्द रहेको अवस्थामा सरकार सञ्चालनको लागि मन्त्रिपरिषदबाट जारी भएका ५ वटा अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताए । बैठकमा प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश–२०७९,  प्रदेश निजामती सेवा अध्यादेश,–२०७९, असोज १२ गते जारी गरेको प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश–२०७९, असोज ३० गते जारी गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश– २०७९, प्रदेश कृषि विकास अध्यादेश–२०७९ पेश गर्ने कार्यसूची रहेको छ । 

प्रदेशसभाको बैठकमा दलीय रुपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेका मन्त्रीहरुलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन् । बागमती प्रदेशमा केही मन्त्री निर्वाचनमा पराजित भएका छन् भने केही उम्मेदवार बन्नबाट बञ्चित भएका थिए । संविधानत् ६ महिनाको लागि सांसद निर्वाचित नभएका व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्था अनुसार सोही हैसियतमा उनीहरूलाई सदनमा आसनको व्यवस्थापन गर्न दलहरूबीच सहमति भएको प्रवक्ता गुप्ताले बताए ।

त्यस्तै प्रदेशसभाको आजको बैठकमा नियमित क्रियाकलाप अन्तर्गत प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठ्ठी पत्रहरू बाचन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप