शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बेरोजगार भए बिना विभागीय मन्त्री : साथीभाइको बधाई थाप्ने र सल्लाह सुझाव लिएर दिन काट्दै

बुधबार, २० पुस २०७९, ०६ : ५१
बुधबार, २० पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य ३ विभागीय मन्त्री यतिबेला कर्मचारीलाई निर्देशन दिनेदेखि अनुगमनका लागि सक्रिय भइरहेका बेला वर्तमान सरकारका ४ जना मन्त्री भने बेरोजगार भएका छन् । सरकार गठन भएको १० दिन पुग्दासमेत विषयगत मन्त्रालय नपाउँदा बिना विभागीय मन्त्रीहरु कामकाज बिहीन बनेका हुन् ।

मन्त्रालयको जिम्मेवारी नतोकिएका कारण फुर्सदमा रहेका मन्त्रीहरु आफ्नो सरकारी निवासमा साथीभाइको बधाई थाप्न र सल्लाह सुझाव लिन व्यस्त छन् । नेकपा एमालेबाट मन्त्री भएका ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र जनमत पार्टीबाट मन्त्री भएका अब्दुल खानले अहिलेसम्म विभागीय मन्त्रालय पाएका छैनन् ।

मंगलबार बिना विभागीय मन्त्रीहरु अब्दुल खान, राजेन्द्र राई आफ्नो सरकारी निवास, पुल्चोकमा साथीभाइको बधाई थापिरहेका थिए । मन्त्री ज्वालाकुमारी साह पार्टीको कार्यक्रममा सहभागी भएकी थिइन् भने मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुसँग सो क्षेत्रका लागि के के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरे ।

बिना विभागीय मन्त्री अब्दुल खान काठमाडौं छोड्ने तयारीमा छन् । उनी जिल्लामा जानका लागि प्रधानमन्त्रीसँग सल्लाह गर्न सिंहदरबार जाने तयारीमा छन् । मन्त्री भएदेखि सरकारी निवास पुल्चोक, पार्टी कार्यालय बुद्धनगर र सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा गएर दिनचर्या बिताएका उनी आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।

मन्त्री भए यता साथीभाइ, नेता कार्यकर्ताको बधाई लिएर उनको दैनिकी बितिरहेको छ । उनले भने, ‘बधाई, शुभकामना लिने, भेटघाट, छलफल गर्दै आइरहेको छु । विभिन्न जिल्लाबाट कार्यकर्ताहरु भेट्न आइरहनु भएको छ । अध्ययन गर्ने, विभिन्न निकायका सचिव, कर्मचारीसँग छलफल गरेर दिन बितेको छ । सिंहदरबार खासै गएको छैन । कहिले काहीँ दलको कार्यालयमा गइरहेको छु ।’ प्रधानमन्त्रीसँग छलफल गरेर आफ्नो जिल्लातिर जान लागेको उनले बताए ।

बैतडीबाट निर्वाचित भएका एमालेबाट मन्त्री भएका दामोदर भण्डारी पनि भेटघाट तथा छलफलमा व्यस्त छन् । सुदूरपश्चिमको प्रतिनिधित्व गराउँदै आफूलाई मन्त्री बनाएको भन्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिए । उनले भने, ‘यतिबेला म राष्ट्रसेवक कर्मचारीहरु, विद्वान वर्गहरुबाट सल्लाह सुझाव लिइरहेको छु । विभिन्न मन्त्रालयका काममा पनि सरिक भइरहेको छु । थुप्रै कामको बारेमा छलफल गरिरहेको छु । मलाई त्यस्तो अप्ठ्यारो अनुभव चाहिँ भएको छैन ।’

प्रधानमन्त्री कार्यालयमा राम्रो चेम्बर पाएको र नियमित रुपमा कार्यालय गइरहेको उनले बताए । सुदूरपश्चिमबाट नेतृत्व गर्दै मन्त्री भएका कारण सो क्षेत्रबाट धेरै अपेक्षा आएको उनले बताए ।

उनले भने, ‘सुदूरपश्चिम प्रदेश ज्यादै सम्भावना बोकेको प्रदेश हो । ५ पटक प्रधानमन्त्री पाएर पनि त्यो प्रदेशमा सोचेजस्तो विकास हुन सकेन । सो प्रदेशबाट मन्त्री भएका कारण विकासका ढोका खोल्नुपर्छ, अहिलेको सरकारबाट जनताले आशा राखेका छन् भन्ने सुझाव प्राप्त भएको छ । त्यसलाई ग्रहण गरिरहेको छु । शुभचिन्तक, पार्टीका नेता कार्यकर्ता, कर्मचारी, पत्रकार लगायतसँग छलफल तथा कुराकानी गरिरहेको छु ।’

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसँग आफूले जुन मन्त्रालयमा रहँदा बढी कार्यसम्पादन गर्न सक्छु, त्यही मन्त्रालय दिन आग्रह गरेको उनले बताए । सरकारलाई सफल बनाउनका लागि आफूलाई जुन मन्त्रालय उपयुक्त हुन्छ, त्यही मन्त्रालय दिन आग्रह गरेको बताउँदै आफू प्रभावकारी ढंगले काम गर्न तयार रहेको उनले प्रस्ट पारे ।

यस्तै बिना विभागीय मन्त्री राजेन्द्र राई पनि फुर्सदिलो बनेका छन् । उनी पनि जिल्लाबाट काठमाडौं आएका पार्टीका नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । मंगलबार राई आफ्नो सरकारी निवास, पुल्चोकमा शुभचिन्तक, साथीभाइको बधाई तथा सल्लाह–सुझाव लिन व्यस्त थिए ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले मन्त्री क्वाटरमा जिल्लाका साथीहरु आउनुभएको छ । पार्टीका साथीहरु आउनुभएको छ । छलफल छ, बधाई साटासाट छ, खुसीयाली चलिरहेको छ । कहिलेकाहीँ प्रधानमन्त्रीको कार्यालयमा पनि पुगेको छु ।’

विभागीय मन्त्री भन्दा बिना विभागीय मन्त्री हुँदा अहिले सहज भइरहेको उनले सुनाए । छलफल तथा भेटघाट गर्नका लागि समय मिलिरहेको र साथीहरुले राम्रो सल्लाह सुझावहरु दिइरहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्रमा संकट छ । यसलाई व्यवस्थित गर्नुप-यो भन्ने सुझाव आएको छ । जनतालाई रोजगारी सिर्जना गर्नुप-यो, गरिबी घटाउनुप-यो । मुलुकमा सुशासन हुनुप-यो भन्ने सल्लाह सुझाव छ ।’

उनले आफू जुनसुकै मन्त्रालय सम्हाल्न सक्षम भएकाले जुनसुकै मन्त्रालय दिए पनि केही फरक नपर्ने बताए । आफूले जुन मन्त्रालय पाए पनि परिणाम निकाल्ने गरी काम गर्ने उनको भनाइ छ । केही दिनपछि मन्त्री राई पनि जिल्ला जाने तयारीमा छन् ।

मन्त्रीहरु कामबिहीन भएका बेला सिंहदरबारका मन्त्रालय पनि सुनसान छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयमा मानिसहरुको चाप घटेको छ भने अघि बढाउनुपर्ने कामहरु रोकिएका छन् ।

शिक्षा मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले नीतिगत रुपमा धेरै काम गर्नुपर्ने मन्त्रालयमा विभागीय मन्त्री नहुँदा समस्या पर्ने बताइन् । आफू विज्ञान प्रविधितर्फको सचिव भएका कारण आफ्नो शाखामा कामको चाप धेरै नभएका कारण विभागीय मन्त्री नभए पनि समस्या नभएको उनले बताइन् । केही काम भए पनि विभागीय मन्त्री आएपछि गर्नेगरी तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

गत पुस ११ गते मन्त्रीको शपथ लिए पनि बिना विभागीय हैसियतमा रहेका चार मन्त्री विषयगत मन्त्रालय सम्हाल्ने प्रतीक्षामा छन् । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिनुका साथै नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप