बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पुस १० को शून्य समय : निधिको त्यो असफल प्रयास !

बुधबार, २० पुस २०७९, १९ : ३०
बुधबार, २० पुस २०७९

काठमाडौँ । आम निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो दल बनाएपछि कांग्रेस सभापति शेरबहादुर देउवामा छैटौँ पटक प्रधानमन्त्री बनिछाड्ने हुटहुटी जाग्यो । आफ्नो नेतृत्वमा सरकार बनाउन पाँच दलीय गठबन्धनलाई बहुमत जुटाउन जम्मा दुई सांसदको समर्थन अपुग थियो । त्यसको चाँजोपाँजो पनि करिब मिलिसकेको थियो । देउवालाई साथ दिन ६ सिट भएको जनमत र ४ सिट भएको नागरिक उन्मुक्ति पार्टी तयार थिए । 

यता गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कुनै हालतमा पहिलो चरणमा प्रधानमन्त्री बन्ने दौडमा थिए । जसले चुनावपछि पहिलो चरण देउवा कि प्रचण्ड भनेर गठबन्धनमा गलफती लामै चल्यो । न देउवा गले न प्रचण्ड । बरु ट्याक टूका लागि देउवा र प्रचण्डले निकटस्थ परिचालन गरे । उनीहरूको ट्याक टूको यात्रा थियो बालकोट ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ध्येयमा माओवादी महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत बालकोट धाउन थाले । यता देउवालाई प्रधानमन्त्री बनाउने ध्येयका साथ कांग्रेस नेता विमलेन्द्र निधिले पनि बालकोटतिर सोझिए । र, पुस ९ मा साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न निधि बालकोट पुगे ।

बालकोटमा ओली र निधिबीच आधा घण्टा कुराकानी भयो । निधिले कांग्रेस र एमाले मिलेर जाने प्रस्ताव राखे । निधिको प्रस्तावमा ओलीले सकारात्मक जवाफ दिए । ‘अहिले देउवाजीलाई प्रधानमन्त्रीमा समर्थन गर्छौँ, दोस्रो चरणमा मलाई समर्थन गर्नुपर्छ,’ ओलीले प्रस्ताव अघि सारे । त्यसपछि निधिले सरकारलाई समर्थन मात्र गर्ने कि सहभागी पनि हुने भनेर ओलीलाई सोधे । जवाफमा ओलीले सरकारमा सहभागी हुने सङ्केत दिए । 

ओलीसँग निधिले प्रधानमन्त्रीबाहेक अरू पद बाँडफाँटबारे पनि जिज्ञासा राखेका थिए । तर ओली १० पुसमा प्रधानमन्त्री नियुक्ति भएपछि बाँकी विषय छलफल गरेर जान सकिने बताए । त्यसपछि निधि ट्रयाक टूमार्फत भएपनि देउवा प्रधानमन्त्री हुनेमा ढुक्क भएर फर्किए । बालकोटबाट निस्केपछि निधिले देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई सन्देश सुनाए । 

निधिसँग प्रचण्डले भने, ‘मलाई शेबहादुरजीले दुई दुई पटक बचन दिनुभएको छ । तयारी गर्नुस् भनेपछि म त ढुक्क भएर आएको थिएँ ।’ 

निधि र ओलीको वार्ताको सुइँको माओवादी अध्यक्ष प्रचण्डलाई पुग्यो । पुस ९ गते राति नै प्रचण्डको सचिवालयबाट निधिलाई फोन गयो । प्रचण्डले राति नै निधिसँग भेटवार्ता गर्न चाहे । तर निधिले राति भेटवार्ता गर्न नसक्ने जनाउ दिए । १० गते बिहान देउवासँग कुराकानी गरेपछि मात्र निधि करिब १० बजेतिर खुमलटारतिर लागे । त्यतिबेला खुमलटारमा पार्टीको स्थायी कमिटी बैठक चलिरहेको थियो ।

निधि त्यहाँ पुगेपछि प्रचण्डले बैठक थाँती राखे । प्रचण्ड आक्रोशित मुडमा देखिन्थे । प्रचण्डले निधिसँग हात मिलाउँदै भने, ‘गठबन्धन त टुट्यो विमलेन्द्रजी के भएको हो ? कांग्रेसलाई राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने ?’ निधि खुमलबार पुग्नुअघि कांग्रेसबाटै प्रचण्डलाई राष्ट्रपति र प्रधानमन्त्री चाहिने सन्देश पुगिसकेको थियो ।

प्रचण्डले आफूलाई कांग्रेसका एक नेताबाट दुवै पद चाहिने ‘भरखरै खबर आएको’ निधिलाई सुनाएका थिए । जवाफमा निधिले उक्त कुरा आफूलाई थाहा नभएको सुनाए । त्यसपछि निधिले प्रचण्डलाई देउवाको सन्देश सुनाए, ‘पहिलो चरणमा तपाईंले समर्थन गर्नुहोस् भन्ने शेरबहादुरजीको चाहना छ । दोस्रो चरणमा तपाईंलाई सहयोग गर्ने भन्नु हुन्छ । गठबन्धन कायमै राख्न चाहनुहुन्छ ।’ तर पहिलो चरणमा देउवालाई सहयोग गर्न प्रचण्डले अस्वीकार गरे । 

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवाले पहिलो चरणमा प्रधानमन्त्री हुन चाहना राखेको निधिको तर्क थियो ।

देउवाले चुनावपछि मात्र दुई–दुई पटक आफू प्रधानमन्त्रीका प्रस्ताव गरेको प्रचण्डको दाबी थियो । निधिसँग प्रचण्डले भने, ‘मलाई शेबहादुरजीले दुई दुई पटक बचन दिनुभएको छ । तयारी गर्नुस् भनेपछि म त ढुक्क भएर आएको थिएँ ।’ 

यो कहिले भएको भनेर निधिले प्रतिप्रश्न गरे । ‘कांग्रेस संसदीय दलको निर्वाचन हुनभन्दा दुई दिनअघि पहिलो चरण तपाईंलाई भन्नुभएको हो । पछि शेरबहादुरजीले पार्टीमा दबाब छ भन्नुभयो,’ प्रचण्डले भने । 

साथै प्रचण्डले निधिसामु तीन वटा प्रश्न तेर्स्याए, ‘कसको दबाब हो ? परिवारको हो कि ? पार्टीको हो कि ? देशी–विदेशीको हो ?’ आफूलाई दबाबबारे थाहा नभएका भन्दै निधिले पहिलो चरण प्रधानमन्त्री हुने देउवाको चाहना रहेको दोहोर्‍याए । 

निधिका अनुसार सुरुमा भने देउवाले पहिलो चरण प्रचण्डलाई प्रधानमन्त्री दिने सङ्केत देखाएका थिए । तर पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवाले पहिलो चरणमा प्रधानमन्त्री हुन चाहना राखेको निधिको तर्क थियो ।

उक्त निर्णय संसदीय दलको निर्वाचनका लागि मात्र गरिएको उपसभापति पूर्णबहादुर खड्काले आफूलाई बताएको प्रचण्डले सुनाए । त्यसपछि प्रचण्डले निधिसँग धेरै गफ गर्न चाहेनन् । ‘गठबन्धन जोगाउन अब एक–दुई घण्टा समय बाँकी छ । तपाईं गठबन्धन जोगाउन आउनुभएको हो कि तोड्न आउनु भएको हो ?,’ आशंका मिश्रित प्रश्नसँगै प्रचण्डले संवाद टुङ्ग्याए ।

निधिले जवाफमा गठबन्धन कायम रहोस् भन्ने उद्देश्यका साथ खुमलटार आएको भनेर निस्किए । खुमलटारबाट बाहिरिएपछि निधिले प्रधानमन्त्री नदिए प्रचण्ड गठबन्धन टुटाउने मुडमा रहेको सन्देश देउवालाई सुनाएका थिए । पहिलो चरण प्रधानमन्त्री हुने भए ओलीसँग संवाद बढाउन देउवालाई निधिको सुझाव थियो ।

त्यसपछि देउवा र ओलीबीच टेलिफोन संवाद भयो । ओलीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने तयारी थाल्न देउवालाई भनेका थिए । बालुवाटारमा आन्तरिक छलफलमा रहेका देउवाले पाँच बजेसम्म पर्खिन भनेर धारा ७६ (३) अनुसार सरकार बनाउने सङ्केत दिए । ७६ (३) अनुसार गर्दा आफैँ सरकारमा सहभागी हुन गाह्रो हुने ओलीको सन्देशसहित एमाले उपाध्यक्ष विष्णु पौडेलले निधिलाई फोन गरे ।

र देउवा संविधानको धारा ७६ को (२) र ३ मा अलमलिँदा सत्ता गुमेको कांग्रेस नेताहरूको बुझाइ छ । देउवाले ओलीलाई मात्र होइन प्रचण्डलाई पनि ७६ को (३) अल्झाउने प्रयास गरेको लुकेको छैन ।  

‘प्रधानमन्त्रीसँग राम्रो कुरा भएको छ । संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन ड्राप्ट तयार पार्नुहोला । ७६ (३) अनुसार कांग्रेसको एकल सरकार हुन्छ । हामीलाई आफैँ सरकारमा सहभागी हुन गाह्रो हुन्छ,’ पौडेलको भनाइ थियो । पौडेलले टेलिफोनमा गरेको कुराकानी निधिले भानुमार्फत देउवालाई कम्युनिकेट गरे । 

यता देउवा र ओली पनि संवादमै रहेको देखिन्थ्यो । १० पुसमा उनीहरुबीच ३ पटक फोनमा कुराकानी भएको थियो । कांग्रेस नेताहरुका अनुसार देउलाई ओलीले ‘दिउँसो ३ बजे बालुवाटार आएरसँगै शीतलनिवास जाउँला’ भनेका थिए । 

तर देउवा संविधानको धारा ७६ को (२) र ३ मा अलमलिँदा सत्ता गुमेको कांग्रेस नेताहरूको बुझाइ छ । देउवाले ओलीलाई मात्र होइन प्रचण्डलाई पनि ७६ को (३) अल्झाउने प्रयास गरेको लुकेको छैन । सोही कारण पुस १० को बिहान ११ बजे बालुवाटार पुगेर प्रचण्डले गठबन्धन विसर्जन गरेको नेताहरू बताउँछन् ।

देउवाले प्रचण्ड र ओलीलाई विश्वास लिन नसक्दा कांग्रेस प्रतिपक्षी बनेको छ । कांग्रेससँग यात्रामा ब्रेक लगाएर प्रचण्ड एमालेसहितको सहयोगमा प्रधानमन्त्री बनेका छन् । देउवालाई प्रधानमन्त्री बनाउने ध्येयमा बालकोट र खुमलटार पुगेका निधि असफल भए । अहिले उनी कांग्रेसभित्र र बाहिरको आलोचनाको निसाना बनेको देखिन्छ । दिल्ली जानुअघि निधिले प्रचण्डसँग संवाद गर्न चाहेका थिए । तर उनको सचिवालयले समय नमिलाएको निधिको गुनासो छ ।

यो गुनासो निधिले माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेललाई पनि सुनाए । निधिमार्फत कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको बटमलाइन राखेको बस्नेत र गजुरेलको दाबी थियो । बुधबार बिहान ११ बजेतिर निधिले गजुरेल र बस्नेतसँग टेलिफोनमार्फत प्रचण्डसँग भएको कुराकानी स–विस्तारमा सुनाएर दाबीको खण्डन गरे । अनि निधि दिउँसो १ बजे चार दिने भ्रमणका लागि दिल्ली प्रस्थान गरे । निधिको दिल्ली यात्राको ‘साइड इफेक्ट’ भने गर्भमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप