आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

बिहीबार, २८ पुस २०७९, १० : ०३
बिहीबार, २८ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले बिहीबार बिहान मात्र अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी कांग्रेसको धादिङबाट समानुपातिक कोटामा सांसद बनेका हुन् । त्यस्तै प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक र राजु विष्टमध्ये एक जना उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारको विषयमा टुंगो लगाउन केही बेरमा राप्रपा बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ । 

बागमती प्रदेश सभा सचिवालयले विहान १०ः३० बजेदेखि २ः०० बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरि दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । 

सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ः०० बजेका लागि प्रदेश सभा हलमा राखिएको सचिव खड्काले जानकारी दिए । 

बागमती प्रदेशमा सत्ता साझेदार ५ दलसँग ७० सांसद रहेका छन् । जसमा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीक ७, हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । त्यस्तै सरकारलाई समर्थन नदिएको प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेससँग ३७ र नेमकिपाको ३ सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप