मुकेश मल्लको कलायात्रा : राजाले छानेको मान्छेलाई छुने ?

‘तपाईं कलाकार होइन ?’ जागिर दिने हाकिमले मुकेश मल्ललाई सोधे ।
‘हो, हजुर ।’
‘ल मेरो पोट्रेट बनाउनुस् ।’
कुर्सीमा बसिरहेका हाकिमले आफ्नो आसनलाई स्वाभाविक बनाउन अलिकति शरीर तन्काए । एक किसिमले ती हाकिमले मुकेशको परीक्षा लिएका पनि थिए । ‘लौ मार्यो ! जागिरको सवाल छ,’ मुकेश ०४२ सालमा शिक्षा मन्त्रालयमा जागिर खान जाँदाको घटना सुनाउँछन् ।
उनलाई कागज र कलम दिइएको थियो । विशेषतः एब्स्ट्राक्ट र ल्यान्डस्केप बनाउँदै आएका मल्लले यसअघि पोट्रेट नबनाएका होइनन्, तर यसरी दबाबमा परीक्षास्वरूप बनाएका थिएनन् । पोट्रेट बनाउँदा उनले रेखाचित्रसहित सोचविचार गरी आफ्नो मर्जीले बनाउँथे । तैपनि उनले ती हाकिमको मुहार उतारे, कसोकसो मिल्न पुग्यो । यसरी उनी २०४२ देखि २०४६ सालसम्म शिक्षा तथा संस्कृति मन्त्रालयमा कलाकार (गजेटेट थर्ड क्लास) को जागिरे भए ।
मुकेश कलाकारिता र कला लेखनमा होमिन चाहन्थे । नेपाली कलाको प्रवद्र्धन र संवद्र्धन गर्न उनी औपचारिक रूपमा २०३३ सालदेखि सक्रिय छन् । त्यतिबेला उनले धरानमा ‘युवा कला केन्द्र’ खोलेका थिए । उनको पहिलो एकल चित्रकला प्रदर्शनी धरानको मोती स्मृति भवनमा २०३४ सालको फागुनमा भएको थियो । त्यतिबेला उनले ५० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मका ३० वटा चित्र प्रदर्शनीमा राखेका थिए ।
युवा कला केन्द्रबाट २०३५ वैशाखमा उनले आफ्नो सम्पादनमा ‘कला’ वार्षिक मुखपत्र निकाले, यसको तीन अंक निकालेपछि २०४० सालमा उनी काठमाडौं आएका हुन् । काठमाडौंमा पेट पाल्न जागिर खानैपर्ने भयो । मन्त्रालयको प्रौढ शाखाले गर्ने प्रकाशनमा ‘इलुस्ट्रेसन’ बनाउने जागिर खान उनी काकाको भनसुन लगाएर पुगेका थिए । यद्यपि उनले गज्जबको परीक्षा दिनुपर्यो । यस घटनापछि उनी आफ्नो प्रतिभा अझ तिखार्न लागिपरे ।
जागिर सँगसँगै उनले कलाकारिता र कला लेखनलाई अगाडि बढाइरहे । अहिलेसम्म कलासम्बन्धी उनका १३ पुस्तक प्रकाशित छन् । ६९औँ वसन्त काटिसकेका मल्ल अझै पनि राजधानीमा हुने हरेकजसो कला प्रदर्शनीमा पुग्छन्, कलाहरू नियाल्छन् र प्रदर्शनीको समीक्षा लेखेर पत्रपत्रिकामा पठाउँछन् । यही उनको सोख हो, सोच, सिद्धान्त र दैनिकी हो ।
२३ पुसमा उनले नेपाली पुरस्कार इतिहासमै फरक विधा (कला लेखन)को पुरस्कार पाए । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसको अवसरमा उनले पाएको ‘नारायणदेवी स्मृति पुरस्कार’मा भनिएको छ, ‘तपाईंले कला लेखनमार्फत कलाको अभिलेखन कार्यमा पुर्याएको योगदानको उच्च मूल्यांकनसहित यो पुरस्कार प्रदान गरिएको छ ।’
नेपाल व्यावसायिक कलाकार संघको आयोजनामा यसै वर्षदेखि दिइन थालेको यस पुरस्कारको राशि ठूलो होइन, यद्यपि नेपालको पुरस्कार इतिहासमै यो नयाँ र महत्त्वपूर्ण भएको मुकेशको ठम्याइ छ । ‘किनभने यस्ता पुरस्कारले कला लेखक तथा समीक्षकलाई प्रेरित गर्दछ । कलाबिनाको देशको पहिचान हुँदैन । व्यापारमा कला छ, धर्ममा कला छ, पत्रकारितामा कला छ । सहरीकरणमा कला छ । कलाको अवधारणाबिना देशको विकास नै अपुरो हुन्छ,’ वरिष्ठ कलाकार तथा कला समीक्षा मुकेश मल्लले बारम्बार भन्दै आएका छन्, ‘त्यसैले कलाको व्याख्या र समीक्षा हुनुपर्छ । कलाबारे भएका गतिविधिको अभिलेखीकरण हुनुपर्छ । साहित्यजस्तो होइन कला, यसलाई सर्वसाधारणसम्म पुर्याउन अर्कोले लेखिदिनुपर्छ । तर कला लेखकलाई प्रोत्साहन गर्ने खालको राज्यसँग न संयन्त्र छ, न त कुनै पुरस्कार ।’ यद्यपि मुकेशले राज्यबाट २०६७ मा ‘प्रबल जनसेवाश्री चौथो’ पाइसकेका छन् । त्यतिबेला यो पुरस्कारलाई सानो ठानेर कतिपयले अस्वीकार गरेका थिए । यस्तै, उनी ०६७ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ‘प्रज्ञा सभा सदस्य’ पदमा नियुक्त भएका थिए ।
पहिलो प्रदर्शनी
मुकेशका पुर्खा भक्तपुरका मल्ल राजाका निकट थिए, भक्तपुरलाई पृथ्वीनारायण शाहले जितेसँगै उनीहरू धनकुटा बजार पुगे । काठमाडौं उपत्यकाका नेवारले मनाउने अधिकांश चाडपर्व र संस्कृतिलाई उनीहरूले धनकुटामा पनि निरन्तरता दिँदै आएका थिए ।
सत्ताबाट केही अप्ठेरो नपरोस् भनी धनकुटामा उनीहरूले प्रधानाङ्ग थर लेख्थे, प्रजातन्त्र आएसँगै मुकेशका काकाले मल्ल थर लेख्न थालेका हुन् ।
हलको नाम नै मोती स्मृति भएकाले हलमा पहिलेदेखि नै सबैभन्दा माथि मोतीराम भट्टको तस्बिर झुन्ड्याइएको थियो । त्यसमुनि राजारानीको पोट्रेट त्यसमुनि परेछ । राजाका एडिसीले यसो नियालेर भने, ‘राजाभन्दा माथिको यो मान्छे को हो ? यसलाई निकाल ।’
दार्जिलिङबाट म्याट्रिक्स गरेका मुकेशका बुवा खगेन्द्रकुमार प्रधानाङ्ग कवि थिए, समाजमा उनको बेग्लै प्रतिष्ठा थियो । यो पृष्ठभूमिका कारण मुकेशलाई कला क्षेत्रमा लाग्न प्रेरणा र वातावरण मिल्यो । २७ पुसमा मुकेशले चावहिलस्थित आफ्नै घरमा हामीलाई समय दिएका थिए । भित्ताभरि सम्मान–पत्र टाँगिएको बैठककक्षमा बसेर उनले हामीलाई आफू कलासँग जोडिएको कथा सुनाए ।
धनकुटा बजारमा भदौरे जात्राको अवसरमा आठ–नौ दिनसम्म नाचगान चल्थ्यो । सानोमा मुकेशको रुचि नृत्यमा थियो । मुकेशका काकाहरूले धनकुटामा नाटक पनि देखाउँथे । उनका भाइ अशेष मल्ल (वरिष्ठ रंगकर्मी)को सानैदेखि नाटकप्रति रुचि बढ्यो । दाजुभाइ मिलेर भदौरे जात्रामा देखाइने नाटकमा मुकेशले कला पक्षको काम गर्थे । ‘नाटकका लागि मैले कागजको श्रीपेच बनाउँथेँ,’ मुकेश भन्छन्, ‘कहीँ सिकेको, देखेको होइन, त्यत्तिकै बनाउँथेँ । त्यो कला हो कि होइन भन्ने पनि थाहा थिएन ।’
स्कुल पढ्दाताका नै मुकेशका भाइ अशेषले ‘लालुपाते’ भन्ने हातेपत्रिका निकाले । भाइको पत्रिकामा अक्षर लेख्नेदेखि त्यसमा आवश्यक कला बनाउने काम मुकेशले गर्थे । ‘पत्रिकामा छापिने कवितासँग मिल्दोजुल्दो कुनै चित्र बनाउने कोसिस गर्थें,’ मुकेश भन्छन्, ‘पत्रिकालाई सिँगार्न ठाउँठाउँमा बुट्टासुट्टा पनि राख्थेँ, यस्तो ज्ञान कताबाट आयो भन्ने मलाई अहिले याद छैन ।’
त्यतिबेला ठूलो सादा कागज (फुलस्केप) निकै प्रचलित थियो । त्यसैमा उनीहरूले हातेपत्रिका निकाल्नेदेखि चित्र कोर्ने गर्थे । मुकेशको कलायात्रा यसरी नै अघि बढ््दै गयो, उनले फुलस्केपमा केही चित्र कोरेका थिए । स्कुल पढ्दाताका नै, उनले एकपटक घरमै आफ्ना चित्रहरूको एकल प्रदर्शनी गरे । उनको घरमा एउटा ठूलो कोठा थियो । त्यसमा डोरी टाँगेर आफ्ना चित्र झुन्ड्याएको र त्यसलाई धनकुटा बजारका कुनै सरकारी कार्यालयका हाकिमले उद्घाटन गरेको उनलाई याद छ । मुकेश सम्झने प्रयास गर्छन्, ‘ती हाकिमको नाम दण्डपानि हो, उनले रिबन काटेर त्यसको उद्घाटन गरेका थिए ।’
यो घटना उनी एसएलसी पास हुनुअघिको हो । त्यतिबेलासम्म उनले अरुको चित्र देखेका थिएनन् । ‘ती चित्र हुन् कि होइनन्, ती चित्र कस्तो कलमले कोरेको थिएँ, त्यसमा कस्तो रङ लगाएको थिएँ भन्ने मलाई त्यति सम्झना छैन,’ मुकेश भन्छन्, ‘चित्र प्रदर्शनीको तरिका अरुबाट सिकेँ वा आफ्नै बुद्धिले गरेँ भन्ने पनि बिर्सें ।’
मुकेशले अहिलेसम्म १४ वटा एकल कला प्रदर्शनी गरिसकेका छन् । स्कुल पढ्दा घरमै गरेको प्रदर्शनीलाई भने उनले यस सूचीमा राख्दैनन् । कलागत चिन्तन र प्रतिभा उनले सानैदेखि देखाएका हुन् । २०२२/२३ सालतिर, धनकुटाको टुँडिखेलमा सरकारी खर्चमा बनेको ‘आमा’ चलचित्र देखाइएको थियो । त्यतिबेला पञ्चायत व्यवस्थाको गुणगान गाउने शैलीका पर्चा हेलिकप्टरबाट समेत छरिन्थ्यो । सरकारले पञ्चायतको पक्षमा फिल्म देखाउने, गाउँगाउँमा राष्ट्रिय कलाकारमार्फत नाटक र गीतसंगीत प्रस्तुत गर्ने गथ्र्यो ।
मुकेशले पहिलेपटक आमा चलचित्र धनकुटा बजारमा हेरे । फिल्म कसरी देखाइन्छ भन्ने उनले सकेसम्म नियालेका थिए । उनलाई पनि केटाकेटी खेलका रूपमा सिनेमा देखाउन मन लाग्यो । यसका लागि उनले प्लास्टिकको कागज काटेर रिलजस्तै बनाए । त्यसमा विभिन्न चित्र कोरे । त्यसपछि कागजको ठूलो बाकस बनाएर त्यसको एक ठाउँमा मात्रै प्वाल पारे । त्यसभित्र प्याट्रोम्याक्स बाल्दा फोकस बनेर प्वालबाट प्रकाश निस्कियो । अर्कोतिर पर्दा र बीचमा फोकसमा पर्ने गरी आफूले बनाएका चित्र राखे, पर्दामा चित्रको छाया फिल्मजस्तै गरी देखियो । ‘अहिले सम्झँदा त्यो काम पनि एक किसिमले इन्नोभेटिभ र सिर्जनशील लाग्छ,’ मुकेश भन्छन्, ‘एक किसिमले यो कला प्रदर्शनी नै भयो । त्यतिबेला हामीले देखाएको त्यो कला हेर्न पनि मान्छेको भिड लाग्थ्यो ।’
कलासँग साक्षात्कार
२०२५ सालमा एसएलसी पास भएर मुकेश विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्न आए । ०२७/२८ सालतिर कलाकार हेम पौड्यालले विराटनगरमै आफ्नो सोलो प्रदर्शनी गरे । हेमले वाटर ल्यान्डस्केप गर्थे । त्यस प्रदर्शनीलाई मुकेशले रुचिपूर्ण ढंगले नियालेनन् मात्रै, प्रदर्शनी अवधिभर उनले कलाकार हेमबाट चित्र कोर्ने सम्बन्धमा केही सिके । चित्र कोर्नका लागि आवश्यक कागज, कपडा, कलर आदिबारे बल्ल उनलाई ज्ञान भयो ।
त्यस प्रदर्शनी हेर्न विराटनगरकै गोपाल कलाप्रेमी पनि पुगेका थिए । गोपाल कलाप्रेमी, मुकेश र अरु केही साथी मिलेर कलाको अभ्यास गर्न थाले । उनीहरुले काठमाडौंबाट कागज र कलर मगाएर ल्यान्डस्केप गर्न गाउँगाउँ पुग्थे ।
मुकेशले आफ्नै किसिमले कला क्षेत्रमा रमाउँदै र रुझान राख्दै गर्दा राज्य पनि संयन्त्रसहित कलाको उत्थानमा लाग्न खोजेको थियो । युवराज वीरेन्द्रले आफ्नो अध्यक्षतामा २०२२ सालमा ‘नेपाल ललितकला संस्था’ (नाफा) खोलेका थिए । त्यतिबेला ‘मोती’ शीर्षकको एउटा पेन्टिङ राजा वीरेन्द्रले बनाएको भनेर चर्चामा थियो । २०२८ सालमा नाफाले विराटनगर र पोखरामा आफ्नो शाखा खोल्यो । यस शाखाको समितिमा तोया गुरुङ र देवकुमारी थापा सदस्य थिए । मुकेश देवकुमारीसँग नजिक भएर कला क्षेत्रमा सक्रिय भए ।
यही शाखाको नामबाट मुकेशहरूले विराटनगरको अतिथि सदनको हलमा कला प्रदर्शनी गर्थे । पछि ध्रुव डंगोल लगायत अरु स्थानीय कलाकार जुट्दै गए । यहीताका विराटनगरमा कृष्णभूषण बल, अशेष मल्लहरूले साहित्यिक गोष्ठी गरिरहन्थे । त्यसमा मिसिएर केही समय मुकेशले कथा–कविता लेखे ।
क्षेत्रप्रतापले गरिमा पत्रिकाका सम्पादक विष्णुविभु घिमिरेलाई भेटाएर कलाकारसँगको कुराकानीमा आधारित ‘कला–स्तम्भ’ लेख्ने अवसर दिए । त्यहाँ लेखेबापत उनलाई मासिक सय रुपैयाँ आउँथ्यो ।
मुकेशको परिवारको धरान र विराटनगर दुवैतिर व्यापार थियो । धरानमा भएको जुत्ता दोकान हेर्ने जिम्मा मुकेशको भागमा पर्यो । धरान गएपछि २०३३ सालमा मुकेशले कलाको संस्था खोले– युवा कला केन्द्र । जसमा कर्ण मास्के अध्यक्ष, मुकेश मल्ल महासचिव, उपेन्द्र बस्नेत ‘पागल’ सहसचिव र सदस्यहरुमा अन्य स्थानीय कलाकार थिए ।
धरान नगरपालिकामा मोती स्मृति भवन थियो, त्यसको साँचो कसो कसो मुकेशले पाएका थिए । संस्थाका सहसचिव उपेन्द्र पागल हुलाकका हाकिम भएकाले उनीहरुलाई कला गतिविधि गर्न अप्ठेरो भएन ।
२०३३/३४ सालतिर, काठमाडौंबाट लैनसिंह बाङ्देल र मोहन कोइराला धरान गए । त्यतिबेला बाङ्देलले धरान पश्चिममा रहेको धार्मिक स्थल बारा क्षेत्रको अनुसन्धान गरेका थिए । बाङ्देललाई त्यस क्षेत्र घुमाउन मुकेशहरूले सघाए । बाङ्देलसँगको त्यो संगतबाट मुकेशहरूले क्यानभासका बारेमा जानकारी पाए ।
उपेन्द्रको अफिस बिदा भएपछि कला केन्द्रका साथीहरू बाङ्देलले सिकाए अनुसारका क्यानभास बनाउन तल्लीन भइरहन्थे । सामान्य कपडाको क्यानभास बनाएर बजारमा पाइने रङलाई दल्न मात्र उनीहरूले जानेका थिए, त्यही पनि उनीहरूका लागि धेरै भइदियो । आफूहरूले बनाएका क्यानभासलाई उनीहरूले मोती स्मृति भवनमा प्रदर्शनी गरिरहे ।
त्यतिबेला मुकेशले देशका चर्चित कलाकारलाई हुलाकबाट चिठी पठाउँथे । कलाकारको नाम र सहरको नाम मात्रै लेखे पनि चिठी पुग्थ्यो । ‘मैले दिनमै दुइटा चिठी लेख्थे, चिठीमा हामीले गरिरहेको कला गतिविधि बताउँथेँ र उता भइरहेको गतिविधि सोध्थेँ,’ मुकेश भन्छन्, ‘पोखराका दुर्गा बराल र नारायणबहादुर सिंहले भने मलाई जवाफ फर्काए ।’
काठमाडौंका नारायणबहादुर सिंहले चिठीमा ‘मुकेशभाइ’ सम्बोधन गरी काठमाडौंमा भइरहेका कला गतिविधिबारे जानकारी गराउँथे । मुकेश भन्छन्, ‘उनको चिठी निबन्धजस्तै हुन्थ्यो ।’ दुर्गा बरालले पनि पोखरामा भएका कला गतिविधिका सम्बन्धमा लेखेर पठाउँथे । यी दुवैसँग केही समय मुकेशको पत्राचार चल्यो । यसले मुकेशलाई खासगरी काठमाडौंमा हुने कला गतिविधिबारे जानकारी गरायो । यो पत्राचारले मुकेशलाई धरानबाट कला पत्रिका निकाल्ने बल र बुद्धि समेत दियो । धरानबाट कला पत्रिकाको तीन अंक निकालेर उनी काठमाडौं आएका हुन् ।
मोतीरामको चित्र राजाभन्दा माथि
त्यतिबेला राजा वीरेन्द्रको देशाटन भइरहन्थ्यो । २०३५ सालतिर, काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानले धरानमा एक्जिबिसन गरेर राजालाई देखाउने सल्लाह गरेछन् । सोही अनुरूप, गाडीमा पेन्टिङ लिएर प्रज्ञा प्रतिष्ठानका सचिव सत्यमोहन जोशी विराटनगर पुगे । विराटनगरका मान्छेले सत्यमोहनलाई भनेछन्– मुकेशले धरानमा कलासम्बन्धी काम गरेर बसेको छ, उसैलाई सम्पर्क गर्नू ।
राति ८ बजे सत्यमोहनले मुकेशलाई फोन गरे– भाइ ! मैले पेन्टिङ लिएर आएको छु, कतै राख्ने व्यवस्था मिलाउनुपर्यो । मुकेशले सत्यमोहनको नाम खुब सुनेका थिए, तैपनि उनलाई रिस उठेछ । कारण— उनलाई कुनै खबर नगरी, उनीसँग कुनै सल्लाह नगरी काठमाडौंबाट पेन्टिङ ल्याइएको थियो । मुकेशले भने, ‘हुन्छ, पेन्टिङ ल्याउनुभएको छ भने प्रदर्शनी गर्नू । अब मैले के गर्ने ?’
धरान आएर बस स्टेसनबाट सत्यमोहनले फोन गरेका रहेछन् । मुकेशले सहयोग नगर्ने जस्तो गरेपछि सत्यमोहन रिसाए— म उहाँबाट आएको छु, तिमीले यस्तो कुरा गर्छौ ?
मुकेशले आफ्नो भूमिका र अस्तित्व खोजे, ‘मैले यो एक्जिबिसन किन गर्ने ? म को हुँ ?’
‘त्यतिबेला म अलि एग्रेसिभ पनि थिएँ,’ मुकेश भन्छन्, ‘मैले सर्त राखेँ– हाम्रो संस्थाको आयोजनामा एक्जिबिसन गरौँ, सहयोगचाहिँ प्रज्ञा प्रतिष्ठानको हुनेछ । यसो हुन्छ भने म तयार ।’
उनले सहयोग नगरी धरानमा एक्जिबिसन सम्भव थिएन भन्दा पनि हुन्थ्यो । सुरुमा मुकेशको सर्त अस्वीकार गरेर सत्यमोहन बेसरी रिसाएका थिए । अन्ततः उनले मुकेशको सर्त मान्न करै लाग्यो ।
कला प्रदर्शनीको दिन आयो । हलमा चित्र राखिसकेपछि सबैभन्दा पहिले राजाका एडिसीहरू चेकजाँच गर्न आइपुगे । हलको नाम नै मोती स्मृति भएकाले हलमा पहिलेदेखि नै सबैभन्दा माथि मोतीराम भट्टको तस्बिर झुन्ड्याइएको थियो । मुकेशका साथी उपेन्द्रले बनाएको राजारानीको पोट्रेट त्यसमुनि परेछ । राजाका एडिसीले यसो नियालेर भने, ‘राजाभन्दा माथिको यो मान्छे को हो ? यसलाई निकाल ।’
मुकेशको एउटा ठूलो रातो एब्स्ट्र्याक्ट पेन्टिङ पनि प्रदर्शनीमा राखिएको थियो । त्यसलाई हेरेर एडिसी कराए, ‘यस्तो रातो पेन्टिङ किन राखेको ? यो त क्रान्तिको प्रतीक हो । यसलाई निकाल ।’
एडिसीले भने बमोजिम नै गरियो । प्रदर्शनी हेर्न राजा वीरेन्द्र धरान आइपुगे । प्रदर्शनीसँग सम्बन्धित मानिस दौरा–सुरुवाल लगाएर तयार अवस्थामा थिए । राजासँगै कोको व्यक्तिले एक्जिबिसन हेर्ने भनेर पहिले नै तय गरिएको थियो । संस्थाको तर्फबाट अध्यक्ष कर्ण मास्के र महासचिव मुकेशले हलभित्र प्रवेशको अनुमति पाएका थिए ।
राजाले मुकेशसँग पनि पेन्टिङको बारेमा सोधे । मुकेशले पेन्टिङका बारेमा राजालाई बताउँदै थिए, आफूहरूका केही पेन्टिङ किनेर सहयोग गरिदिनुपर्ने माग पनि उनले तेर्साएका थिए । मुकेशले राजासँग कुरा गरिरहेका बेला लेखक गोपाल पाँडे असीम अचानक राजाको अगाडि देखापरे र ठूलो स्वरमा भने– ‘सरकार... !’ उनलाई पनि आफ्ना केही माग राख्नु रहेछ । उनको प्रस्तुतिले राजा झस्केपछि एडिसीलाई के चाहियो ! गोपाल पाँडेलाई समाएर बाहिर निकालियो । राजा फनक्क फर्केर हलबाट निस्के, प्रदर्शनी यत्तिकै भयो ।
त्यहाँ तुलसी दिवस लगायत कवि–लेखक गएका थिए । उनीहरूले धरानमा साहित्यिक गोष्ठी गरे । यी सबै कार्यक्रममा मुकेशकै संस्था आयोजक रहेको थियो । यसले एक किसिमले मुकेशहरूलाई राष्ट्रिय स्तरमा चिनायो । पछि सत्यमोहन जोशीले धरानबाट मुकेश र गोपाल कलाप्रेमीलाई, पोखराबाट दुर्गा बराल र विश्व शाक्यलाई, नेपालगन्जबाट प्रकाश चित्रकारलाई काठमाडौं बोलाए । त्यतिबेला कलासम्बन्धी सामान्य छलफल भयो, मुकेशहरूलाई काठमाडौंमा घुमाइएको पनि थियो । ‘सत्यमोहनले हामीलाई फकाउनलाई त्यसो गरेका रहेछन् । पछि मात्रै बुझियो– काठमाडौंमा त बाङ्देलको एउटा ग्रुप, ठाकुरप्रसाद मैनालीको अर्को ग्रुप, रामानन्द जोशीको अर्को ग्रुप– हानाथाप र तानातान जस्तो रहेछ ।’
पछि नाफाले ‘ल्यान्डस्केप मुभमेन्ट’स्वरूप पूर्वको धरान र पश्चिमको पोखरामा कार्यक्रम गर्ने भयो । धरानमा गरिने कार्यक्रममा काठमाडौंबाट नाफाले आफ्नै खर्चमा कला पठाउने र मोफसलका कलाकारले पनि आफ्नै खर्चमा एक्जिबिसन स्थानसम्म आफ्ना कला पुर्याउने सम्झौता भएको थियो । पूर्वाञ्चलमा केन्द्रका रूपमा मुकेशहरुको संस्था थियो । पूर्वाञ्चलका कला उनीमार्फत नै संकलन भएका थिए ।
‘हामीलाई पछि मात्रै थाहा भयो, हाम्रो कलाको गुणस्तर यति कमजोर रहेछ कि नेसनल एक्जिबिसनमा सेलेक्सन गर्नै हुँदैनथ्यो,’ मुकेश भन्छन्, ‘थाहा नभएरै, हामीले हाम्रा पेन्टिङ सानका साथ एक्जिबिसनमा राखेका थियौँ ।
त्यतिबेला नाफाको सदस्य बनेपछि राष्ट्रिय कलाकार भइन्थ्यो, तर जो पायो उही सदस्य बन्न पाउँदैनथ्यो । यी विविध काम हेरेपछि मुकेशलाई नाफाले सदस्य बनाएछ । मुकेश भन्छन्, ‘त्यतिबेला नेसनल एक्जिबिसनमा पेन्टिङ झुन्डिनु नै ठूलो कुरा थियो ।’
मुकेशलाई एकपटक आफ्नै संस्थाबाट राष्ट्रिय प्रदर्शनी गर्ने मन भयो । उनीहरूले धरानमा नेसनल एक्जिबिसन गरे । काठमाडौंबाट कृष्ण मानन्धर लगायत कलाकार पनि गएका थिए भने काठमाडौं लगायत स्थानबाट धेरै कलाकारले एक्जिबिसनका लागि कला पठाएका थिए । अधिकांश कला काठमाडौंकै पुरस्कृत भए, जसमा श्यामलाल श्रेष्ठ, रागिनी लगायत कला थिए । त्यतिबेला यातायातको सुविधा नभएकाले कोही पनि पुरस्कार लिन काठमाडौंदेखि गएनन्, मुकेशहरू नै पुरस्कार लिएर काठमाडौं आए । यस्तो किसिमले निजी तवरबाट नेसनल एक्जिबिसन अहिलेसम्म नभएको मुकेश बताउँछन् ।
दोस्रोपटक नाफाले पोखरामा राष्ट्रिय प्रदर्शनी गर्यो, जसमा ल्यान्डस्केप मुभमेन्ट पनि समावेश थियो । त्यतिबेला ल्यान्डस्केपका लागि पोखराको वेगनास तालमा कलाकारहरू गएका थिए । ल्यान्डस्केप गर्ने क्रममा मुकेश अहिलेका वरिष्ठ कलाकार दुर्गा बरालसँग बसेका थिए । त्यहाँ बरालले ल्यान्डस्केप गरेको देखेर मुकेश हैरान भए । ‘अहो ! दुर्गाले ऊर्जावान् शैलीमा ब्रुसले रङ हानेका थिए,’ मुकेश भन्छन्, ‘मलाई लाग्यो– यस्तो पो पेन्टिङ हो ।’
‘राजाले छानेको मान्छेलाई छुने ?’
धरान हुँदै मुकेशले स्थानीय पत्रपत्रिकामा कलासम्बन्धी लेख लेख्थे । धरानमा ‘दिनमान’, ‘धर्मयुग’ लगायत हिन्दी पत्रपत्रिका आउँथे । दिनमानमा समेत उनको एउटा आर्टिकल छापिएको छ । दिनमानमा कलासम्बन्धी आलेख पनि छापिन्थे, त्यसमा कला प्रदर्शनीको रिभ्यु निकै राम्रोसँग आउँथ्यो । त्यसैबाट आफू कला लेखनमा प्रेरित भएको उनी बताउँछिन् ।
धरानबाट कला पत्रिका निकाल्न उनलाई यही परिवेशले प्रेरित गरेको थियो । मुकेशको सम्पादकत्व र उपेन्द्र बस्नेतको सह–सम्पादकत्वमा निस्केको ‘कला’को पहिलो अंकमा देवकुमारी थापा, नारायणबहादुर सिंह, रामशरण दर्नाल, किशोर नेपाल, मुकेश मल्ल, गोपाल कलाप्रेमी, माधव पोखरेल, शिशिर योञ्जन लगायतको आलेख छापिएको छ ।
धरान छँदै मुकेशले पत्राचारमार्फत जलरंग चित्रकलामा भारतको बम्बईस्थित आइसिएस स्कुलबाट स्नातक गरेका थिए । यी यावत् अनुभव र शुभचिन्तकले भन्थे– मुकेश ! तिमी काठमाठौं जाऊ ।
एक दिन मुकेशले अचानक धरान छाडे । काठमाडौंमा उनका भाइ अशेष रंगमञ्चमा सक्रिय थिए, केही दिन भाइसँग बसेपछि उनले जीविकाका लागि जागिर खोज्न थालेका थिए ।
सुरुमा उनलाई ध्रुवचन्द्र गौतमले साझा प्रकाशनमा पुर्याए । साझामा क्षेत्रप्रताप अधिकारी हाकिम थिए । क्षेत्रप्रतापले गरिमा पत्रिकाका सम्पादक विष्णुविभु घिमिरेलाई भेटाएर कलाकारसँगको कुराकानीमा आधारित ‘कला–स्तम्भ’ लेख्ने अवसर दिए । त्यहाँ लेखेबापत उनलाई मासिक सय रुपैयाँ आउँथ्यो । सुरुमा मुकेशले चन्द्रमान सिंह मास्केको अन्तर्वार्ता ल्याए । त्यतिबेलासम्म मुकेशले कलाको मोटामोटी इतिहास पढिसकेका थिए । वरिष्ठ कलाकारसँग उनले कला इतिहासको कसीमा टेकेर वार्ता गर्थे ।
गरिमाले दिने सय रुपैयाँले मात्रै उनलाई काठमाडौंमा बस्न खान पुग्दैनथ्यो, त्यसपछि उनी परिवार नियोजन संघले निकाल्ने प्रकाशनमा कार्टुन बनाउने काम गरे । प्रतिकार्टुनको उनलाई १५ रुपैयाँ आउँथ्यो । ‘त्यतिबेला यति कम पैसामा कार्टुन बनाउन कोही तयार थिएन,’ मुकेश हाँस्दै भन्छन्, ‘त्यसैले मैले बनाएको रंग न ढंगको कार्टुन त्यहाँ छापिन्थ्यो ।’
यसपछि उनी शिक्षा मन्त्रालय पुगेका थिए । यहाँ जागिर खाँदै गर्दा उनले विमर्श र साप्ताहिक मञ्चमा पनि कला स्तम्भ लेखे । त्यतिबेला जापानमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदा नेपालबाट पेन्टिङ पठाइन्थ्यो । त्यसका लागि कला प्रदर्शनी गराएर पेन्टिङ छान्ने नाटक त रचिन्थ्यो, तर नाफाले घोटाला गरेर भित्रभित्रै आफैँ पेन्टिङ पठाइसकेको हुन्थ्यो । यो थाहा पाएर मुकेशले ‘जापानमा नेपाली कलाकारको बेइज्जती’ शीर्षकमा आलेख लेखे ।
‘यो आलेखको सहरमा चर्चा भयो, लैनसिंह बाङ्देलले मसँग एक्सन लिए, एक्सन भनेको जागिरबाट निकाल्ने,’ मुकेश भन्छन्, ‘यही कारण शिक्षा मन्त्रालयको मेरो जागिर जाने भयो । शिक्षा मन्त्रालयका सचिवले बोलाएर मलाई भने– राजाले छानेको मान्छेलाई छुने ?’
जागिर जाने निश्चितजस्तै भएपछि मुकेश जागिर जोगाउने उपायमा लागे । उनको काकाका साथी राजदरबारमा सहसचिव थिए । मुकेशले हारगुहार गरेपछि दरबारबाट शिक्षा मन्त्रालय फोन गयो । तैपनि शिक्षा मन्त्रालयका सचिवले दुई दिनका लागि उनलाई जागिरबाट निकालिदिए र पुनः नियुक्ति दिए । यसबाट मुकेशले केही बेइज्जती महसुस गरिरहेका थिए । यहीबेला उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘प्लान इन्टरनेसनल’मा जागिरको अवसर पाए ।
जागिरको बीचमै उनले गोरखापत्र, क्यानभास लगायत पत्रिकामा कला स्तम्भ लेखे । यतिखेर उनी पाक्षिक रूपमा रातोपाटीमा कला स्तम्भकार छन् । २७ पुसमा भएको भेटमा उनले आफ्नो निजी पुस्तकालय देखाए । कलासम्बन्धी लेखिएका स्वदेशी र विदेशी पुस्तक, कलासम्बन्धी दस्ताबेजले उनको एउटा कोठा भरिएको छ । नेपाली कलाको बारेमा अनुसन्धान गर्न आउने विदेशी एकपटक मुकेशसँग ठोकिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
-
सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र
-
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
-
लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु