शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्ल्यामरस अन्दाजका कारण एक समय लाखौँको दिलमा राज गर्थिन् परवीन, मृत्यु अझै रहस्यमय

शुक्रबार, ०६ माघ २०७९, १२ : ११
शुक्रबार, ०६ माघ २०७९

मुम्बई । एक समयकी चर्चित अभिनेत्री थिइन् परवीन बाबी । जुन समयमा अभिनेत्रीहरू सलवार सुट लगाएर हिन्दी फिल्ममा देखिन्थे । त्यो समय बाबीले आफ्नो बोल्ड स्टाइलले हङ्गामा मच्चाएकी थिइन् । उनी ७० को दशककी ती अभिनेत्रीहरूमा पर्थिन् जसको ग्ल्यामरले मानिसका होस उड्थ्यो । आफ्नो सुन्दरता र अभिनयको बलमा उनले लामो समयसम्म हिन्दी फिल्म उद्योगमा राज गरेकी थिइन् । २० जनवरी २००५ मा उनले यो संसारबाट बिदा लिएकी थिइन् ।

परवीन बाबीको जन्म ४ अप्रिल १९४९ मा सौराष्ट्रको जुनागढमा एक मध्यम वर्गीय मुस्लिम परिवारमा भएको थियो । सेन्ट जेभियर्स कलेजबाट अङ्ग्रेजी साहित्यमा बीए गरेपछि उनी मोडलिङतिर लागेकी थिइन् । यसै क्रममा उनको फिल्म निर्देशक बीआर इशारासँग भेट भएको थियो । भनिन्छ, परवीन बाबीले चुरोटको श्वास लिइरहेको देखेर बीआर इशाराले आफ्नो फिल्मको नायिका बनाउने निर्णय गरेका थिए ।

बीआर इशाराले पहिलो पटक १९७३ मा क्रिकेटर सलिम दुर्रानीसँगको फिल्म ‘चरित्र’मा परवीन बाबीलाई मौका दिएका थिए । फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन तर परवीन बाबीको जादु दर्शकमाझ चल्यो ।

बलिउडमा आफूलाई स्थापित गरेपछि परवीनको नाम सबैभन्दा पहिले ड्यानी डेन्जोङ्पासँग जोडिएको थियो । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन । यसपछि उनको जीवनमा कबिर बेदी आए । दुवैले एक अर्कालाई असाध्यै मन पराउन थाले । लामो समय लिभ इनमा बसेपछि दुवैले अलग्गिए ।

त्यसपछि महेश भट्ट परवीनको जीवनमा प्रवेश गरे । दुवै तीन वर्षसम्म सम्बन्धमा रहे । महेशसँगको सम्बन्धका क्रममा परवीन बाबीलाई प्यारानोइड सिजोफ्रेनिया भन्ने मानसिक रोग लागेको बताइन्छ । यही रोगका कारण उनले अमिताभमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन् ।

२० जनवरी, २००५ मा परवीन आफ्नै घरमा मृत फेला परिन् । तीन दिनदेखि उनको घरबाहिर अखबार र दूधका प्याकेट फेला परेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै प्रहरीले ढोका खोलेर घरभित्रबाट अभिनेत्रीको शव फेला पारेको थियो । परवीनको एक्लोपन उनको मृत्युको कारण भएको बताइएको छ । उनको मृत्युको रहस्य भने अझै सुल्झिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप