शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

परवीन बाबी : पागलखानामा हाँसेरै बिताइन् दिन, थुप्रै अफेयर तर अन्तिममा कोही रहेन, ३ दिनपछि भेटियो शव

सोमबार, २१ चैत २०७८, ११ : ५०
सोमबार, २१ चैत २०७८

दिवार, अमर अकबर एन्थोनी, सुहाग, काला पत्थर, द बर्निङ ट्रेन, शान र कालियाजस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी परवीन बाबीको आज ६८ औँ जन्मजयन्ती हो । जुन समयमा नायिका भारतीय नारीको लुकले चिनिन्थे त्यतिबेला परवीन आफ्नो बोल्ड र वेस्टर्न लुकले चर्चित भइन् । परवीनले जति तीब्र गतिमा सफलता हासिल गरिन् त्यसै गतिमा उनी गुमनामको दुनियाँमा पनि गइन् । परवीन अचानक सेटबाट गायब भइन्, यस्तो हुनुमा उनको अन्डरवर्ल्डसँगको सम्बन्धलाई कारण बताइयो ।

परवीनको डेनी डेन्जोङ्पा, महेश भट्ट, कबिर बेदीसँग नाम जोडियो । उनको मानसिक स्थिति बिग्रियो र उनीसँग ती व्यक्ति टाढा भए । परवीनको स्थिति यतिसम्म बिग्रियो कि जब उनलाई न्यूयोर्कको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो परिचय प्रमाणित नगरेका कारण पागलसँगै राखियो तब उनी हासेको हास्यै भइन् । अन्तिम दिनमा परवीनलाई ठूला सेलिब्रिटीबाट ज्यानको खतरा महसुस हुन थाल्यो । आज नायिकाको जन्म जयन्तीको अवसरमा उनको मुश्किलले भरिएको रहस्यमय यात्रा कस्तो रह्यो भन्ने जानकारी लिऔँ ।

५ वर्षको उमेरमा पिता गुमाइन्ः

४ अप्रिल सन् १९५४ मा जुनागढ, गुजरातमा परवीन बाबीको जन्म वली मोहम्मद खानको घरमा भयो । परवीनको जन्म उनको आमा–बुवाको विवाह भएको १४ वर्षपछि भएको थियो । पाँच वर्षको हुँदा नै उनले आफ्नो पिता गुमाइन् । अहमदाबादबाट पढाई पूरा गरेपछि परवीनले मोडलिङ सुरु गरिन् । कलेजमा दिनमा नै परवीनले चुरोट पिउने गर्थिन् । एक दिन चुरोट तानिरहेकी परवीनमाथि फिल्म निर्माता बिआर इशाराको नजर पर्यो र परवीनलाई हिरोइन बनाउने सोचे ।

परवीनले सन् १९७३ को फिल्म चरित्र पाइन् । फिल्म फ्लप थियो तर परवीनले थुप्रै्र फिल्म पाइन् । उनले मजबुर (१९७४), दिवार (१९७५) जस्ता दर्जनौँ हिट फिल्म दिइन् ।

जब सेटबाट अचानक गायब भइन् परवीनः

सन् १९८३  मा परवीन एउटा फिल्मको सुटिङ गर्दागर्दै अचानक सेटबाट गायब भइन् । उनले न कसैलाई जानकारी दिइन् न नै यसबारे कसैलाई केही खबर थियो । यतिबेला परवीनमाथि अन्डरवर्ल्डका मानिसको नजर थियो बताइयो, यसैकारण उनलाई गायब गरिएको बताइयो । नायिकाका थुप्रै फिल्म उनको अनुपस्थितिमा रिलिज भयो । ६ वर्षपछि परवीन मुम्बई आइन् र उनले अध्यात्मका लागि इन्डष्ट्रि छोडेको स्पष्टिकरण दिइन् ।

विवादमा रह्यो अफेयरः

परवीन बाबीको इन्डष्ट्रिमा पहिलो अफेयर डेनी डेन्जोङ्पासँग रह्यो । यो करिब ४ वर्षसम्म रह्यो । परवीन  कबिर बेदीसँग पनि सम्बन्धमा रहिन्, तर यो सम्बन्ध धेरै दिनसम्म चल्न सकेन । सन् १९७७ तिर परवीनलाई महेश भट्ट मन पर्यो । महेश पहिला नै विवाहित थिए र इन्डष्ट्रिमा स्ट्रगल गरिरहेका थिए जबकी परवीन त्यतिबेला एक सफल नायिका थिइन् ।

परवीनलाई प्यारानोयड सिजोफ्रेनिया नामको रोग लाग्यो । उनको मानसिक सन्तुलन क्रमशः बिग्रँदै गयो । महेश आफ्नी श्रीमतीलाई छोडेर परवीनसँग घरबार बसाउन चाहन्थे तर उनको रोगले दुईबीचको सम्बन्धमा दरार निम्त्यायो । महेशले उनलाई विदेशका चर्चित डाक्टर भएठाउँ लगे तर कुनै फरक परेन ।

हत्कडी लगाएर पागलखाना लगियोः

सन् १९८४ मा परवीन बाबीलाई न्यूयोर्क विमानस्थलमा प्रहरीले पक्राउ गरेर पागलखानामा बन्द गराएको थियो । परवीनले विमानस्थलमा अचम्मको व्यवहार गरिरहेकी थिइन्, जब सुरक्षाकर्मीले उनीसँग सोधपुछ गरे तब उनले आफ्नो परिचय दिन सकिनन् । उनलाई हत्कडी लगाएर मानसिक सन्तुलन गुमेकाहरुसँग बन्द गरियो । जानकारी पाउने बित्तिकै इन्डियन काउन्सिल उनी भएठाउँ पुग्दा परवीन मुस्कुराइरहेकी थिइन् ।

 


डरै डर :

सन् १९८८ मा शान फिल्मको टाइटल गीतको सुटिङका बेला परवीनले अचानक सुटिङ रोकिदिइन् । उनले आफ्नो ज्यानलाई खतरा भएको बताउँदै सेटमा राखिएको झुमरको मुनी उभिन अस्वीकार गरिन् । परवीनले को–स्टार अमिताभ बच्चनले आफूमाथि झुमर खसालेर आफ्नो ज्यान लिन चाहेको आरोप लगाइन् । परवीनको यो संगीन आरोप सुनेर सबैजना चकित थिए । तर उनको मानसिक स्थिति कसैसँग लुक्न सकेको थिएन । सुटिङ रोकियो र परवीन घर गइन् ।

अमिताभ बच्चनमाथि लगाएकी थिइन् गम्भीर आरोपः

सन् १९८९ मा एक फिल्म म्यागजिनलाई दिएको अन्तरवर्तामा परवीनले भनिन्, ‘अमिताभ बच्चन सुपर इन्टरनेशनल ग्याङ्गस्टर हुन् । उनी मेरो ज्यानको पछाडि छन् । उनका गुण्डाले मलाई अपहरण गरे एउटा आइल्याण्डमा राखे । त्यहाँ उनीहरुले शल्यक्रिया गरेर मेरो कानको मुनी ट्रान्समिटेड चिप लगाएका छन् । ’ यो अन्तरवार्तासँगै परवीनको तस्बिर पनि सार्वजनिक भयो जसमा उनको कानको मुनी काटिएको थियो ।

परवीनले बिल क्लिन्टन, प्रिन्स चार्ल्स, अमेरिकी सरकार, भाजपा सरकार, अमिताभ बच्चनसमेत थुप्रै व्यक्तिविरुद्ध केस फाइल गरिन् । परवीनले यी सबैले उनको ज्यान लिन चाहेको आरोप लगाइन् । अदालतले प्रमाणको कमीका कारण केस बन्द गरिदियो ।

एक्लो रह्यो जीवनका अन्तिम दिनः

परवीनबाट मानिस टाढा हुन थाले । हेर्दा हेर्दै परवीन महेश भट्टमाथि नै शंका गर्न थाले । अन्त्यमा उनीहरुको सम्बन्ध पनि टुट्यो । परवीन आफ्नो मुम्बईस्थित पेन्टहाउसमा एक्लै बस्न थालिन् । उनलाई मानिसहरुले भेट्न छोडे ।

भोकका कारण रहस्यमयी मृत्युः

सन् २००५ को जनवरी २२ मा परवीन बाबीलाई छिमेकीले संदिग्ध स्थितिमा प्रहरीलाई खबर गरे । परवीनको फ्ल्याट बाहिर दुधका प्याकेट र पत्रिका जम्मा भएका थिए । प्रहरीले ढोका फोडेर कोठाभित्र जाँदा परवीनको शव भेटियो । कोठा पूर्ण अव्यवस्थित थियो । उनको पलङ नजिकै एउटा ह्विलचेयर पनि भेटियो ।

पोस्टमार्टम पछि परवीनले थुप्रै दिनदेखि खाना छोडिदिएको पत्ता लाग्यो तर उनको शरीरमा रक्सी भने भेटियो । ह्विलचेयर देखेर अन्दाज लगाइयो कि परवीनले अन्तिम दिनमा हिँड्न सक्दिनथिन् ।

परवीनको अन्तिम इच्छा अधुरो रह्योः

परवीन बाबीले क्रिश्चिन धर्म अपनाइसकेकी थिइन् । उनले आफ्नो अन्तिम संस्कार क्रिश्चिय रिति रिवाजमार्फत् गरियोस् भन्ने चाहना राखेकी थिइन् तर यस्तो हुन सकेन । मुश्लिम परिवारसँग सम्बन्धित परवीनको परिवारले उनको शवमाथि दाबी गरेर मुम्बईको सान्ताक्रुज श्मशान घाटमा गाडे । केही वर्षपछि स्थान कम भएका कारण अन्तै सारियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप