बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रेमिट्यान्सको पैसा उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन आग्रह

सोमबार, ०९ माघ २०७९, १७ : २२
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीति सहित युवाहरुको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले मन्त्री भण्डारी समक्ष सिंहदरवारमा सोमबार औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गर्दै १२ बुँदे सुझाव समेत पेश गरेको छ । मन्त्री भण्डारी समक्ष अध्यक्ष मल्लले भने, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरुले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ ।’

वार्षिक १० खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताए । औद्योगिक प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात गृहको अवधारणा ल्याउन समेत मन्त्री भण्डारीसमक्ष चेम्बरले आग्रह गरेको छ । यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

चेम्बर टोलीसँगको भेटपछि मन्त्री भण्डारीले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उद्योगको क्षमता विस्तार गरेर ५० लाख युवालाई स्वदेशमै रोजगारी गर्ने गरी सरकारले योजना बनाइरहेको उनको भनाई छ । मन्त्री भण्डारीले भने, ‘संसदको पहिलो बैठकमै रोजगारीको विषयले प्राथमिकता पाएको छ । उद्योगको क्षमता विस्तार गरेर विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी दिलाउने सरकारको मुख्य प्राथमिकता हो ।’

औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अव रणनीतिका साथ अघि बढ्ने मन्त्री भण्डारीको भनाई छ । वाणिज्य राणनीति बदल्ने तयारी भइरहेको समेत मन्त्री भण्डारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप