‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र नेतृत्वको विरोध गर्नेहरूलाई 'ऐँजेरु' को संज्ञा दिँदै नेता धवलशमशेर राणामाथि कटाक्ष गरेका छन् ।
- लिङ्देनले निर्वाचनमा पार्टीलाई असहयोग गरेको र अहिले पार्टी फुटको हल्ला फैलाएको आरोप लगाउँदै राणाप्रति लक्षित गरे ।
- उनले वर्तमान सरकारको कार्यशैली, बजेट र प्रधानमन्त्रीको संसद्भित्रको व्यवहारको पनि आलोचना गरे ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर नेतृत्वको विरोध गर्ने र विग्रह ल्याउन खोज्नेहरूलाई ‘ऐँजेरु’ को संज्ञा दिँदै नेता धवलशमशेर राणामाथि कटाक्ष गरेका छन् ।
शुक्रबार गोरखामा आयोजित राप्रपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई गतिहीन बनाउने तत्त्वहरू बाहिरिँदैमा राप्रपा कमजोर नहुने बरु थप सुदृढ हुने दाबी गरे ।
उनले धवलशमशेर राणाप्रति लक्षित गर्दै निर्वाचनका बेला पार्टीलाई असहयोग गरेको र अहिले पार्टी फुटको हल्ला फैलाएको आरोप लगाए ।
‘हिजो निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई भोट माग्न नजाने, उम्मेदवार नै नबन्ने र पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन भूमिका खेल्नेहरूले अहिले राप्रपा फुट्यो भन्नुको कुनै अर्थ छैन,’ लिङ्देनले आक्रोश पोख्दै भने, ’खुट्टामा पलाएको ऐँजेरुले गर्दा जुत्ता लगाउन र हिँड्न जति अप्ठ्यारो हुन्छ, त्यो काटेर फाल्दा केही समय दुखाइ भए पनि अन्ततः हिँडाइ सहज र बलियो हुन्छ । राप्रपामा पनि अहिले त्यस्तै ऐँजेरुहरू आफैँ झरेर जाँदैछन् ।’
राणाले राप्रपा छाडेर नयाँ पार्टी बनाउने अभियान थालिरहेका बेला लिङ्देनको यो भनाइ आएको हो । अध्यक्ष लिङ्देनले आफ्नो मन्तव्यका क्रममा वर्तमान सरकारको कार्यशैली र बजेटको पनि लोचना गरे ।
उनले सरकारले ल्याएको नयाँ बजेटले गरिब जनताको ढाड सेकेको टिप्पणी गर्दै शिक्षा, स्वास्थ्य र बिजुली जस्तो आधारभूत आवश्यकतामा कर थुपारेर सरकारले अदूरदर्शिता प्रदर्शन गरेको बताए ।
प्रधानमन्त्रीको संसद्भित्रको व्यवहारलाई कटाक्ष गर्दै उनले सरकार पूर्ण रूपमा अपरिपक्व रहेको र यसले देशलाई दुर्घटनातर्फ लैजाने चेतावनी दिए ।
निर्वाचनमा नयाँ शक्तिहरूको उदयलाई पुराना दलहरूप्रतिको वितृष्णाको रूपमा व्याख्या गर्दै लिङ्देनले राप्रपा नै देशको एकमात्र राष्ट्रवादी विकल्प भएको दाबी गरे । उनले पार्टीभित्रका सानातिना विवाद र केही व्यक्तिहरूको बहिर्गमनले पार्टीको मूल एजेन्डालाई कुनै असर नगर्ने भन्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा लाग्न निर्देशन दिए ।
आगामी दिनमा राप्रपाले सडक र सदन दुवै क्षेत्रबाट जनताको पक्षमा सशक्त दबाब दिने र राष्ट्रवादी शक्तिको रूपमा आफूलाई स्थापित गर्ने दृढता समेत उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण