शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

अनेरास्ववियुको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवको लडाई

महासचिवमा ६ जना आकांक्षी
सोमबार, ०९ माघ २०७९, १९ : ३९
सोमबार, ०९ माघ २०७९

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले ५०९ सदस्यीय केन्द्रीय कमिटीलाई १९९ सदस्यीय बनाउनेछ । 

त्यस्तै ३० सदस्य रहेको पदाधिकारीलाई १७ सदस्यमा झार्नेछ । अनेरास्ववियुले जम्बो केन्द्रीय कमिटी र पदाधिकारीलाई सानो आकारमा झार्न लागेको हो ।  

अनेरास्ववियुले महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ । त्यस्तै १० वटा उपसमितिसमेत बनाइएको छ । 

अनेरास्ववियुको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष र महासचिवबीच  लडाई हुने देखिएको छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालमध्ये एकजना अध्यक्ष बन्ने प्रबल सम्भावना छ । दुवैले आफूलाई अब्बल रहेको दाबी गर्दै नेतृत्व आफ्नो हातमा आउने बताउँदै आएका छन् । 

उनीहरूका साथै अन्य ३ जनाले पनि आफूलाई अध्यक्षको उम्मेदवारको रूपमा उभ्याउँदै आएका छन् । हालका उपाध्यक्षहरू मोती बिक ‘महेन्द्र’, झपिन्द्र खत्री र लोकेश निरौलाले पनि अध्यक्षको दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका छन् । 

वरिष्ठ उपाध्यक्ष लामिछानेले यो पटक आफू सर्वसम्मत रूपमा अध्यक्ष हुने दाबी गरे । अनेरास्ववियुलाई हाँक्न सक्ने एजेण्डा आफूसँग मात्र रहेको भन्दै उनले भने, ‘अनेरास्ववियुलाई कसरी लैजाने भन्ने भिजन र मिसन मसँग छ । अनेरास्ववियुलाई विद्यार्थीका एजेण्डा बोक्ने संगठनको रूपमा स्थापित गर्नेछु ।’  

उपाध्यक्ष बडालको पनि संगठनको नेतृत्व गर्न आफू सक्षम रहेको भनाई छ । विद्यार्थीहरूको हक हित र संगठनको भलाइका लागि आफूले धेरै काम गरेको भन्दै संगठनलाई सक्षम बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको उनले बताए । 

अन्य उम्मेदवारहरूले समेत प्रचार प्रसारको कार्य थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गर्नुका साथै लबिङसमेत थालेका छन् । 

महासचिवमा ६ जना आकांक्षी  

महासचिवका लागि ६ जना आकांक्षी देखिएका छन् । हालका उपमहासचिवहरू नरेश रोकाया, सुदर्शन शिवाकोटी, नारायण घर्ती, गोविन्द गिरी, भास्कर खनाल र धर्म गिरी आकांक्षी देखिएका छन् । ती मध्ये रोकाया, शिवाकोटी र घर्तीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

आकांक्षी त धेरै देखिन सक्छन् । तर, मुख्य प्रतिस्पर्धा तीन जनाबीच हुन सक्छ । 

त्यस्तै, रोकायाले पनि आफ्नो दाबी महासचिवका लागि भएको जनाउँदै आफूले तयारी थालेको बताए । 

नयाँ निर्वाचित हुने कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ । अनेरास्ववियुका नेताहरूले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न आफूहरू अग्रसर हुने बताउँदै आएका छन् । आफ्ना एजेण्डा नै शिक्षा क्षेत्र भित्रका विकृति र विसंगतिका विरुद्धमा हुने उनीहरूको भनाई छ । 

अनेरास्ववियुले आफ्नो महाधिवेशनपछि स्ववियु निर्वाचनको तयारी थाल्नेछ । महाधिवेशनलाई स्ववियुको तयारी थलोका रूपमा समेत लिइएको छ । 

‘महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ । नयाँ नेतृत्वकै आधारमा हामी स्ववियु निर्वाचनमा जान्छौं । र, जीत हासिल गर्दै शिक्षा क्षेत्रलाई नयाँ आयामसहित अगाडि बढाउँछौं ।’ वरिष्ठ उपाध्यक्ष लामिछानेले भने । 

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको छ । विद्यार्थी संगठनहरूलाई सोही आधारमा तयारी गर्न समेत भनेको छ । 

अनेरास्ववियुले गत असोजमा गरेको विधान अधिवेशनको आधारमा स्ववियु निर्वाचन अघि महाधिवेशन गर्न लागेको हो । विधान अधिवेशनले ६ महिनाभित्रमा महाधिवेशन गर्ने म्याण्डेट दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप