बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
सुनको मूल्यमा नयाँ कीर्तिमान

मध्यमवर्गीय नेपालीको ‘क्रय क्षमता’भन्दा माथि जाने जोखिम !

बुधबार, ११ माघ २०७९, ०७ : १५
बुधबार, ११ माघ २०७९

काठमाडौं । अत्यावश्वक वस्तुहरुको सूचीमा नभएपनि नेपाली संस्कृतीमा सुन/चाँदीको महत्व बेग्लै छ । सांस्कृतीक महत्वअनुसार प्रत्येक नेपालीले आफ्ना अधिकांश सांस्कृतीक कार्यक्रममा सुन खरिद गर्छन र प्रयोग गर्छन् । नेपाली समाजमा विशेषगरी विहेको समयमा सुनु नभई नहुने वस्तुकोरुपमा परिचित छ ।

धार्मिक र सांस्कृतीक महत्व बोकेकाले दैनिक अत्यावश्यक वस्तुको सूचीमा नभएपनि वार्षिक अर्बौ रुपैयाँको सुन आयात हुँदै आएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सुन आयात भएको थियो । यस्तै, चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १० अर्ब ९५ करोड रुपैयाँको सुन भित्रिएको छ ।

तर, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा नेपालीको क्षमताबाहिर पुुग्ने जोखिम बढ्न थालेको छ । सुन लगानी र सौखका लागि लगाइने धातुभए पनि नेपाली र दक्षिण एसियाली समाजमा यसको छुट्टै महत्व छ । छुट्टै महत्व बोकेको भएपनि मूल्य बढ्न थालेसँगै यसको माग समते घट्न थालेको छ ।

यो वर्ष २०७९ को वैशाख महिनामा सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ आसपास थियो । त्यसअघि, गत वर्ष २०७८ को फागुन आसपास सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको थियो । उक्त समयमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन, किर्तिमान आज तोडिएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ लाख ६हजार ३०० रुपैयाँ छ ।

तर, अन्तर्राष्ट्रिय समाचार संस्थाहरु र विश्लेषकहरुका अनुसार सुनको मूल्य यत्तिमै रोकिने छाँट देखिँदैन । गोल्ड प्राइस डटअर्गका अनुसार सन् २०२३ को अन्त्यसम्म प्रतिऔंस सुनको मूल्य २३ सय डलरभन्दा माथि पुुग्न सक्छ । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिने छ । उक्त प्रक्षेपण मेल खाएमा नेपाली बजारमा सुनको मूल्य तोलमा २ लाख पुुग्ने छ । फलस्वरुपः अहिलेदेखि सर्वसाधारण नेपालीको पहँचबाट टाढिँदै गएको सुनले नयाँ किर्तिमानी मूल्य कायम गर्नेछ ।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य पछिल्लो समय सुनको मूल्य नेपालीको क्षमता बाहिर गएको बताउँछन् । उनले नेपालीको आम्दानी घट्दै जाने र सबै वस्तुको मूल्य बढ्दै जाँदा सुन सबै सर्वसाधारणको पहुँचमा नरहने जोखिम बढिरहेको बताए ।

‘सबै खाद्यान्नको मूल्य बढिरहेको छ । यस्तोमा दैनिक उपभोग्य वस्तुको मूल्य नै बढिरहेको समयमा सुनलाई कसैले प्राथमिक्तामा राख्दैन’, उनले भने, ‘आफ्नो गाँसबास र कपासको व्यवस्था भएसँगै सुन किन्ने हो ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यो वर्षको अन्त्यसम्म नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख रुपैयाँसम्म पुुग्ने आँकलन छ । यस्तो, भएमा सुन धनाड्यहरुले प्रयोग गर्ने वस्तुकारुपमा परिचित हुने र नेपालीको संस्कृती र परम्परा नै जोखिममा पर्ने सम्भावना रहेको शाक्यको भनाइ छ ।

मूल्यले नयाँ किर्तिमान कायम गरेर अहिलेसम्मकै महँगो भएसँगै हाल बजारमा सुनको माग छैन । बजारमा सुन बेच्नभन्दा किन्न आउनेको संख्या बढी छ । यस्तै, बजारमा सुनको माग नभएपछि व्यवसायीहरुले नै सुन आयातको सिफारिस बन्द गरेका छन् ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्य भन्छन्, ‘सामान्य अवस्थामा माघ महिनाबाट सुनको माग सुरु हुन्छ । तर, यो वर्ष बजारमा सुनको माग नै छैन ।’ उनका अनुसार बजारमा क्रेताभन्दा बिक्रेता बढी हुँदा दैनिक १० किलोसम्म सुन व्यवसायीले किन्नुपर्ने स्थिती छ ।

अर्थविद् डिल्लीराज खनाल सुन मध्यमवर्गीय नेपालीको क्षमताभन्दा बाहिरको वस्तु बन्ने जोखिम बढिरहेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै भन्छन्, ‘यही गतिमा मूल्य बढ्दै गएमा आगामी दिनमा सुन धनाड्य वर्गले मात्रै प्रयोग गर्ने वस्तुकोरुपमा रहन सक्छ ।’ उनका अनुसार कोभिड महामारीपछि विश्वभर सुनको उत्पादन घट्दा र विश्वभरका केन्द्रीय बैंकले सुन थुपार्ने नीति लिँदा मूल्य बढिरहेको छ ।

नेपाल योजना आयोगले सार्वजनिक गरेको एक तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ती आम्दानी १३ सय ८१ अमेरिकी डलर पुुगेको छ । आयोगले पन्ध्रौ पञ्च वर्षीय योजनाको मध्यावधी समिक्षा गर्दै हालसम्म नेपालीको प्रतिव्यक्ती आम्दानी उक्त कायम भएको जनाएको छ । अहिलेको बजार मूल्य अनुसार यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ लाख ८० हजारभन्दा बढी हुन आउँछ ।

अन्तर्राष्ट्रिय सुन कारोबारीहरुको प्रक्षेपणलाई मान्दा नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाखसम्म पुुग्न सक्छ । यसअनुसार, नेपालीको एक वर्षभरीको कमाई खर्च गर्दा बल्ल एक तोला सुन किन्न सक्ने स्थिती आउने देखिन्छ ।

यसबाट, समग्र देशको आर्थिक स्थिती नै प्रभावित बन्न सक्छ । गत आर्थिक वर्षमा सुन आयात गर्दा राज्यले ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै, देशभर रहेका करिब २० हजार सुन व्यवसायीले व्यवसाय सञ्चालन गरेबापत तिर्ने करसमेत प्रभावित बन्दा समग्र सरकारी राजश्व संकलन नै प्रभावित बन्ने जोखिम समेत बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप