शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा हिमपातले यातायातदेखि सञ्चार सेवा प्रभावित

बुधबार, ११ माघ २०७९, १२ : १४
बुधबार, ११ माघ २०७९

सुर्खेत । भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो । यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ । कर्णाली प्रदेशको सबैभन्दा ठूलो समस्य पनि यही रहेको छ । 

सदरमुकाममा रहेका टावरहरु सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ । त्यस्तै लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ ।
 
कर्णाालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्याधिक हिमपात भएको छ । जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका यहाँका हिमालहरु सेताम्य भएका छन् । 

अग्ला ठाउँमा रहेका सबै बस्तीहरु हिमपातका कारण सेताम्य भएको सर्वसाधारणले बताएका छन् । सबैभन्दा बढी हिउँको प्रभाव हिमाली जिल्लामा देखिएको छ । डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प भएको छ । लामो समयदेखि पानी नपरेर अकाशे पानीको भरमा लगाएको खेतीबालीमा भने राहत पुगेको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हिमपातकै बीचमा लोसार पर्व बनाइने काम जारी रहेको गाउँपालिका उपाध्यक्ष प्रेमा दोर्जेले बताए । हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ ।

छार्काताङसुङका निमा गुरुङका अनुसार हिमपातले पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ । हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज ,सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलबभत्ता बुझ्ने गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसानहरुले बताएका छन् । 

विकास निर्माणका कामहरू पानी परेका कारण जमिन खन्न सजिलो हुने भएपछि उपभोक्ता समितिहरू खुसी भएका छन् । हिमाली जिल्लाहरूमा भने चिसो मौसममा पुरै विकास निर्माणका कामहरु ठप्प हुने गर्दछन् । वैशाखदेखि मात्र विकास निर्माणका कामहरु सूचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन् ।

अहिले हिमपात कारण विकासे काम गर्न मुस्किल हुँदै आएको छ । कात्तिकदेखि वैशाखसम्म विकासका कामहरु ठप्प हुने गरेको पाइन्छ । चिसो र हिमपातको कारण देखाउँदै विकास निर्माणको कामहरू रोक्दै आएको पाइन्छ ।  यहाँका विद्यालय समेत बन्द रहेका छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा विदा हुने गर्दछ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप