जातभन्दा माथि नौमती बाजा

झापा । दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ । हाल नौमती बाजा जातभन्दा माथि उठेको छ । कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थालेका छन्।
झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ । विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो ।
ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवद्र्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ । महिलाले नौमती बाजाका रूपमा सहनाई, कर्नाल, झ्यालीलगायतका बाद्ययन्त्र बजाएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । दलितले मात्र बजाउन मिल्ने भन्ने बाजा बाहुन–क्षेत्री महिलाले पनि बजाएको देखेर महोत्सवका सहभागी दङ्ग भएका थिए ।
समूहकी नेतृत्वकर्ता अनु दाहालले कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँले लोप हुन लागेको नौमती बाजा सिक्न र बजाउन प्रेरित र प्रोत्साहन गरेको बताइन् । दाहालले गाउँसमाज, घरबाट नौमती बाजा सिक्न र बजाउन हौसला पाएको बताउनुभयो । समूहमा २५ जना सदस्य रहे पनि १४ जनाले नौमती बाजा बजाउन सिकेकी छन् ।
नौमती बाजा सिकेपछि समूहको आयमा पनि मनग्य वृद्धि भएको छ । विवाह, व्रतबन्ध, गुन्यू चोलो, पास्नीलगायतका धार्मिककार्यका लागि समूहलाई धेरै अनुरोध आउन थालेको छ ।
समूहका सदस्य सीता अधिकारीले हाल महिला र पुरूष दुवै बराबर भएको र विभेदका कुरा पुरानो भइसकेको बताइन् । उनले सुरू–सुरूमा केही स्थानीयवासीले महिलाले बाजा बजाउँदै सडकमा हिँड्ने भन्दै व्यङ्ग्य गरे पनि हाल तिनीहरूले पनि आफ्नो घरको कार्यक्रममा बोलाउने गरेको बताइन् ।
समूहका अर्का सदस्य मञ्जु सापकोटाले नौमती बाजा बजाएर आफूलाई गर्व महसुस हुने बताइन् । उनले एउटा कार्यक्रममा रु २० देखि ३५ हजारसम्म पारिश्रमिक लिने बताइन्। नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो
-
स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
-
मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
-
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
-
बालेनलाई प्रचण्डको जवाफ-'चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्ष जान्छ'
-
प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम