विराटनगर । एक सय ३२ वर्ष पुरानो कोशी अस्पतालमा बेथितिको चाङमात्रै छैन हरेक डाक्टर तथा नर्सहरूले भोग्नुपर्ने अनेकन् पीडा पनि छन् । राजनीतिक भर्ती केन्द्र जस्तै बनेको अस्पतालमा थामिनसक्नु कर्मचारीको भीड त छ तर, दक्ष छैनन् । अस्पताल विकास समिति र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टबीचको विवाद जहिल्यै रहन्छ । बिरामीको चाप उस्तै छ । सफाइ कर्मचारीहरू २ सय बढी छन्, तर फोहोरको अवस्था उस्तै छ ।
अस्पतालमा बिरामी बाहेक सबै कुराको अभाव छ । अर्थात अस्पतालमा फराकिलो भवन तथा कोठाहरू, बेड, चुस्त व्यवस्थापन, ल्याब, ल्याब टेस्ट गर्ने औजार, शौचालय, ढल तथा नाला व्यवस्थापन, प्रशासनिक कर्मचारीदेखि डाक्टर र नर्सको अभाव छ । अभावको अन्य थुप्रै चाङ प्रशासनसँग छ ।
संघीय सरकार परिवर्तन भएर स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समिति परिवर्तन हुन्छ । जनताको उपचार गर्न स्थापना गरिएको कोशी अस्पतालमा एउटाले गरेको नियुक्ति अर्कोले हटाउने, जथाभाबी नियुक्ति गर्ने जस्ता रोगले आफैँ ग्रसित छ ।
अस्पतालको तथ्याङ्क अनुसार आकस्मिक कक्षमा मात्रै आर्थिक वर्ष ०७७/०७८ मा २८ हजार १२२ जना बिरामीले उपचार गरेका थिए । यो सङ्ख्या बढेर आर्थिक वर्ष ०७८/०७९ मा ३६ हजार ४७८ जना पुगेको छ । ओपिडीमा भने दैनिक १५ सय जना बिरामी आउने गरेका छन् ।
अस्पतालमा विकास समितिका स्थायी, करार, ज्यालादारी तथा नेपाल सरकारको दरबन्दीमा गरी चिकित्सक र कर्मचारी गरेर ५ सय ५८ जना छन् । यस्तै छात्रवृत्ति करार अन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी करिब ४४ जना थप जनशक्ति छ । सबै चिकित्सक तथा कर्मचारीका लागि तलब भत्ता तथा सेवा सुविधा मात्रै महिनामा दुई करोड पाँच लाख ९५ हजार रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले वार्षिक २८ करोड रुपैयाँ उपलब्ध गराउने गरेको छ भने अस्पतालको आन्तरिक स्रोतबाट १९ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । आन्तरिक स्रोतमा बिरामीबाट लिइने शुल्क मुख्य हो ।
_jZauSLkU86.jpg)
विभागीय प्रमुखहरू नै भन्छन्, ‘काम गर्ने वातावरण नै छैन’
अस्पतालका विभागीय प्रमुखहरू नै दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताउँछन् । अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको विहार राज्यका बिरामीलाई समेत सेवा दिने गरेको छ ।
अस्पतालका डाक्टर रोशन खड्काले बिरामीको चाप भएका कारण एक जना डाक्टरले ८० जनासम्म बिरामी हेर्नु परेको दाबी गर्छन् । यस्तै अस्पतालमा राजनीतिक दलहरूले आफ्ना मान्छेहरू भर्ना गर्ने र दक्ष जनशक्ति भर्ना नगर्दा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको उनी बताउँछन् ।
‘अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका बिचमा समन्वय नहुँदा समेत अस्पतालमा समस्या भएको छ,’ उनी भन्छन्, ‘ कोसी अस्पताल विकास समितिको ४ महिनादेखि बैठक बस्न सकेको छैन । आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झेल्दै आएका छन् ।’
अस्पतालमा राखिएका सुरक्षा गार्डहरूले प्रभावकारी रूपमा काम गर्दैनन् । जसका कारण अनावश्यक मानिसको भीडले आफूहरू जहिल्यै असुरक्षित भएर काम गर्नु परेको खड्का सुनाउँछन् । ‘सुरक्षा गार्ड राखिएको छ । अफ्ठेरो परेको बेला कोही पनि सुरक्षा गार्ड हुँदैनन् । सुरक्षा गार्ड नहुँदा डाक्टरले कुटाइ खानु परिरहेको छ,’ उनी भन्छन् ।
अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक मञ्जु यादव अस्पतालमा स्टाफ नर्सको चरम अभाव भएको बताउँछिन् । उनले भनिन् ‘अस्पतालमा रहेका नर्सहरू २४ सै घण्टा खटिनु पर्छ । एक जना नर्सले १२ जना सम्म अप्रेसन गरेका बिरामीको हेरचाह गर्नु पर्छ । एउटा नर्सले कति जना बिरामीको केयर गर्नु पर्ने हो ? उनको प्रश्न छ, ‘कोसी अस्पतालमा हामी नर्सहरूले मापदण्ड अनुसार काम गर्छौँ भन्दा धर पाउँछौ ?’ उनले ३ सय ५० शय्याको अस्पतालमा स्वीकृत जनशक्ति नभएकाले काम गर्न समस्या भएको बताइन् । उनले जोखिम मोलेर काम गरेको भए पनि जोखिम भत्ता नपाएको गुनासो गरिन् ।
कोसी अस्पताल प्रसूति विभाग प्रमुख डा. अन्जु देव भने माथिल्लो तहका मान्छेको दबाब थेग्नै नसक्ने गरी आउने बताउँछिन् । प्रसूतिको बेड सङ्ख्या घटाएका कारण प्रसूति भएकाहरूलाई भुईँमा राखेर उपचार गरिरहनु परेको उनको भनाइ छ । ‘पहिला १ सय बेड क्षमता थियो । नयाँ भवन बनेपछि ७५ बेडमा झारियो,’ उनले भनिन्, ‘राजनीतिक दलका नेता र पहुँचवालाहरूले प्रसूति गराउन दबाब आउँछ । भर्ना गरौँ बेड छैन नगरौँ दबाब छ, अस्पतालको बेड थप्ने कुरामा पनि दबाब दिनेहरूले सोचिदिएर दबाब दिए कति राम्रो हुने थियो ।’
अस्पतालमा काम गर्नेहरूका लागि वातावरण नै नभएको उनी बताउँछिन् । ‘हामी काम गर्छौँ भन्दा पनि काम गर्ने वातावरण भएन ? हामीले दबाबका बीचमा गरेको कामको समेत मूल्याङ्कन नहुँदा मनोबल गिरेको छ,’ उनको भनाइ छ ।
कोसी अस्पतालका डेन्टल विभागका प्रमुख डा. सुधीर श्रेष्ठ आफू मातहतको विभागमा ठाउँको अभाव भएको बताउँछन् । डेन्टलकै विभिन्न विभाग र विशेषज्ञ डाक्टरहरू हुन्छन् । तर भएका जनशक्तिले समेत काम गर्न सकेका छैनन् । उनले पनि आफूहरूले असुरक्षाकाबीच काम गरिरहेको बताउँछन् । ‘हामी असुरक्षाका बीचमा काम गरिरहेका छौँ । तर हाम्रो वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा कसैले सोचेको छैन । डाक्टर आफैँले बिरामीलाई अस्पतालको जानकारी सूचना दिनु पर्छ,’ उनले भने, ‘ठाउँ ठाउँमा रहेका काउन्टरमा बिरामी र बिरामीका आफन्त लाइन लाग्नु पर्ने समस्या भएका कारण बिरामीहरूले सास्ती खेप्नु परेको छ ।’
_Pubgcfrnvt.jpg)
उनले अस्पतालमा सहजीकरण गर्ने कर्मचारी पनि नभएको भन्दै गुनासो गर्छन् । बिरामी र बिरामीका आफन्तलाई सहजीकरण नगरिदिँदा समस्या भएको छ । यसको अपजस डाक्टरले खेप्नुपरेको उनी बताउँछन् ।
अस्पतालका अर्थोडिक वार्डका इन्चार्ज लजिता योन्जनले अस्पतालको संरचनाका कारण फोहोर व्यवस्थापनमा समस्या परेको बताउँछिन् । ‘जनशक्ति अभाव हुँदा हुँदै पनि काम गरिरहेका छौँ । तर पुरानो संरचनाका कारण हामीलाई काम गर्न समस्या छ,’ उनले भनिन्, ‘अस्पतालको सबै भन्दा संवेदनशील वार्डमा शौचालयको फोहोर आउने गरेको छ । हाम्रो समस्या सुनिँदैन । वार्डमा फोहोर भयो भनेर फोटो सार्वजनिक हुन्छ । यो हाम्रा कारण भएको होइन भन्न समेत पाउँदैनौ ।’
प्रशासन भन्छ, ‘समाधानको प्रयासमा छौँ’
अस्पताल प्रशासनले भने अस्पतालको समस्या समाधान गर्न प्रयासरत भएको बताएको छ । कर्मचारी प्रशासनका प्रमुख नवराज लुइँटेलले ११ सय २५ जनाको दरबन्दी स्वीकृतका लागि पठाएको र सो दरबन्दी स्वीकृत भएर आए अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या समाधान हुने बताए ।
‘हामीले पठाएको फायल स्वास्थ्य मन्त्रालयबाट अर्थमा गएर अड्किएको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयलाई फायल स्वीकृत गर्न दबाब दिनु प¥यो । कोसी अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक छ ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लक्ष्मीनारायण यादवले अस्पतालमा भएको समस्या समाधान गरी सेवा प्रवाह गर्न लागेको बताए । उता, अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले भने सरकारका कारण समस्या सिर्जना हुने गरेको बताउँछन् ।
_oDLAo8ygYg.jpg)
‘एउटा अस्पताल विकास समिति छ अर्को नियुक्ति गरेर सरकार नै पठाउँछ, राम्रोसँगले काम गर्नै पाउँदैन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिदिन्छ र कर्मचारी नियुक्तिमा लाग्छ अनि कसरी अस्पताल सुधार हुन्छ र ?,’ उनी भन्छन् । यद्यपि अब अस्पतालमा सात अर्बको लगानीमा भवनहरू बनिरहेकाले भौतिक पूर्वाधारको समस्या हट्ने बताए । ‘हामीले भौतिक पूर्वाधार निर्माणमा काम गरिरहेका छौँ । निर्माण सम्पन्न भएपछि अस्पतालको रूप फेरिन्छ । प्रदेश १ को सबैभन्दा ठुलो अस्पताल कोशी अस्पताल हुनेछ, यसका लागि चार पाँच वर्ष कुर्नुपर्छ,’ उनले भने । अस्पतालको अन्य समस्या भनेको अपर्याप्त पूर्वाधार, एनआइसियु, एमआइसियु सेवाको अभाव रहेको छ ।
कोशी अस्पतालमा अहिले १४ वटा डिपार्टमेन्टहरू रहेका छन् । जसमा मेडिकल, शल्यक्रिया, स्त्री रोग तथा प्रसूति विज्ञान, एनेस्थेसियोलोजी र क्रिटिकल केयर, बालरोग, छाला, मनोचिकित्सक, इमरजेन्सी, रेडियो निदान र इमेजिङ, प्याथोलोजी, माइक्रोबायोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी र फरेन्सीक छ ।
प्रतिक्रिया