मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्थिर प्रचण्ड, स्थिर को हो ?

आइतबार, २९ माघ २०७९, ११ : ५९
आइतबार, २९ माघ २०७९

इतिहासमा नै सबैभन्दा बढी ९९ प्रतिशत मत दिएर प्रचण्डलाई विश्वास गर्ने दलहरू प्रचण्डको बोली र अडानमा विश्वास नभएको तर्क गर्छन् । प्रचण्डको पक्षमा दस दल थिए भने विपक्षमा जम्मा दुई दलको दुई मत । विडम्बना हो या बाध्यता, जसले धोका दिए, पटक पटक बोली फेरे, विश्वासमा घात गरे भन्ने दलहरू संसद्मा प्रचण्डलाई सर्वमान्य नेता मान्न भोट दिन्छन् । अनि आरोपको वर्षा गर्छन् र भन्छन् प्रचण्ड अस्थिर छन् । 

आजसम्म इतिहासको रेकर्ड ब्रेक गरेर संसद्बाट पुष्पकमल दाहाललाई प्रचण्ड बहुमतसहित सत्ता सुम्पन्छन् । हाम्रो राजनीतिको अस्थिर चरित्र नै स्थिर देखिएको छ । अस्थिरताले स्थिरको संज्ञा पाएको छ । पाँच वर्ष कुनै पनि सत्ता नटिक्ने अवस्था अस्थिरताको स्थिरता हो । 

नेपाली राजनीतिमा २०६३ असारमा प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएदेखि उनीमाथि अनेक लाञ्छना र आरोप लागेका छन् । सबैभन्दा सङ्गीन आरोप जनयुद्धमा १७ हजार मान्छेको हत्या र हिंसाको भन्दा पनि अस्थिर राजनीति गरे भन्ने आरोपले डामिएका छन् । प्रचण्ड आफ्नो अडानमा रहेनन् । बारम्बार सत्ताको दैलो उघार्न यता उता भौँतारिए । विश्वास योग्य नेता भएनन् । बोलीमा विश्वास र दम हराए इत्यादि । प्रचण्ड अस्थिर छन् ्, विश्वासयोग्य रहेनन्, पीपलपाते बने, स्वार्थका लागि कसैको दैलोमा देउसी खेल्न बाँकी राखेनन् । 

यी दृश्य सत्यबारे मलाई भन्नु केही छैन । मेरो एउटा मात्र तर्क छ । जसरी कुनै पुरुष नैतिकहीन र चरित्रहीन नभई नारी स्वयं चरित्रहीन र नैतिकहीन हुन्न । त्यसैगरी नेपाली राजनीतिमा प्रचण्ड र उनको पार्टी मात्र एक्लै अवसरवादी र सत्ता स्वार्थका लागि जे पनि गर्ने कसरी हुन् पुग्यो ? नेपाली राजनीतिमा प्रचण्ड र उनको पार्टी मात्र छैन र उनीहरूको मात्र एक छत्र शासन र सत्तामा पहुँच छैन । प्रचण्ड सत्तासीन हुँदा उनलाई काँधमा बोक्ने काम मुख्यतः नेपाली कांग्रेस र एमालेले पालैपालो गरेका छन् । उनलाई ग्रहण गरेका छन् । प्रचण्डको नेतृत्वमा सरकारमा सहभागी भएका छन्  । 

यसर्थ प्रचण्ड मात्रै कसरी अस्थिर भए ? नेकपा एमालेले त झन् पटक पटकको धोकाको बाबजुद पनि प्रचण्डसँग नै पार्टी एकता गरेर आफ्नो दोस्रो वरीयताको अध्यक्ष मात्र बनाएन पाँच वर्षमा आधा आधा सत्ता सञ्चालनको करारनामा समेत गर्याे । सम्झौता कार्यान्वयनमा ओली उदासीन भएपछि प्रचण्ड नेकपा एमालेकै माधव झलनाथ सहित ओलीको विरुद्धमा उत्रिए । नेकपा माओवादी नेकपाबाट अदालतको फैसलाको कारण छुट्टियो भने अन्ततः  माधव, झलनाथ समेतले आफ्नै छुट्टै पार्टी गठन गरे । तथापि अस्थिर हुनुको दोष प्रचण्डकै टाउकोमा मात्र किन ? 

बिडम्बना हो या बाध्यता, जसले धोका दिए, पटक पटक बोली फेरे, विश्वासमा घात गरे भन्ने दलहरू संसद्मा प्रचण्डलाई सर्वमान्य नेता मान्न भोट दिन्छन् । अनि आरोपको वर्षा गर्छन् र भन्छन् प्रचण्ड अस्थिर छन् । 

नेकपा एमाले र कांग्रेस प्रचण्ड जत्तिकै अस्थिरताको कारण र परिणाम हुन् । प्रचण्ड अस्थिर भए, अवसरवादी भए मानियो तर उनलाई यो मैदान उपलब्ध गराउने र अस्थिर राजनीति खेल्न दिने काम कसले गर्याे ? प्रचण्डको अस्थिर राजनीतिलाई बन्ध्याकरण गरिदिने सामर्थ्य नेकपा एमाले र कांग्रेसलगायत दलसँग थिएन र ? कांग्रेस एमाले मिलेर प्रचण्डको अस्थिर राजनीतिको दोहोलो काढ्न नसक्नुको दोष पनि प्रचण्डकै टाउकोमा राखिदिने कि ? देउवा, माधव, झलनाथ, केपीलगायतले लिने ? 

नेपाली राजनीतिमा प्रचण्ड निर्विकल्प विकल्प हुन् भने यो आरोप शतप्रतिशत सही छ अन्यथा अरू दलको पनि अस्तित्व अरू नेताको पनि स्वत्व बाँकी छ भने अस्थिर राजनीतिको भारी प्रचण्डको हकमा मात्रै थोपरिदिनु राजनीतिक बेइमानी हो । अस्थिर भनेर ओखलमा प्रचण्डको टाउको मात्रै राखिदिनु भयङ्कर धोखाधडी हो । अस्थिरताका कारक र तत्त्व अन्य दल र नेता पनि हुन् । प्रचण्डलाई मात्रै अन्याय नगरौँ । सधैँ फोहोर पार्ने झिँगा भन्काउने अनि मौरी नबनेको दोष प्रचण्डको भागमा मात्र राखिदिने कुरा मिल्दैन । प्रचण्ड अस्थिर छन्  । यसमा विमति छैन तर प्रचण्डलाई यसरी जहाँ र जहिल्यै अस्थिर राजनीतिको खेल खेल्न दिएर, धमिलो पानीमा माछा मार्न उक्साउने, पानी धमिलो बनाइदिने, मुहान फोहोर पारिदिने र विष खोजेर पानीमा हाल्न वातावरण बनाइदिने, ढोक्सा थापिदिने काम अरू दलका नेताले समेत गरेको दृश्य देख्नेलाई उनीमाथिको एकोहोरो अस्थिर आरोपको वर्षा उचित लाग्दैन । धरातलसहितको तर्क गरिनुपर्छ । अराजनीतिक र अनैतिक तर्कले कसैको भलो गर्दैन ।

प्रचण्ड अस्थिर हुनुको परिणाम उनको दलको क्रमशः सङ्कुचनले प्रष्ट पारेकै छ । अन्य दल सङ््ख्यात्मक उपस्थितिमा बलियो भए पनि राजनीतिक, सामाजिक, नैतिकता र विश्वसनीयता गुमाउने मध्यमा नै पर्छन् । नैतिक सङ्कट र सामाजिक वैधता दलहरूको शीघ्रातिशीघ्र क्षयको विषय बनेको छ । यसको मूल्याङ्कन र विमर्श नगरेर कसैप्रति निकृष्ट आरोप तर्कयुक्त र शोभनीय छैन । 

सत्तामा जाँदा जोकसैले पनि आफ्नो वर्चस्व र आधिपत्य रहोस् भन्ने चाहन्छ । कम्फर्ट जोनमा नै बसेर सत्ता चलाउन पाए हुनथ्यो भन्ने लाग्छ । धोका खाँदा र विश्वासघातमा पर्दा चित्त दुख्छ । त्यतिबेला परिस्थितिजन्य विकल्प खोज्न मान्छे बाध्य हुन्छ । त्यस्तो बेला गरिने लेनदेनलाई गलत बार्गेनिङ मात्रै भनेर सधैँ बुझ्नु पनि भूल हुन्छ । 

आफ्नो पक्षमा रहे भए त्यही मान्छे रातारात हिरो हुने, उसका हर कदम गतिशील र लचकदार लाग्ने, ऐतिहासिक र बोल्ड निर्णय गर्न सक्ने, समयको पदचाप सुन्ने नेताको विशेषण दिने अनि आफ्नोविपरीत पक्षमा हुँदा उनलाई हेर्ने मूल्याङ्कन गर्ने दृष्टिकोणमा नब्बे डिग्रीको फरक देख्न कसरी सम्भव छ ? उनलाई हेर्ने समाजको एकपाखे दृष्टिकोण पनि अस्थिर राजनीतिको द्योतक हो । समाजका अग्र्यानिक बुद्धिजीवी, प्राज्ञिक वर्गले पनि दृष्टिदोष पालेको देखिन्छ । देशका बुद्धिजीवी वर्गले सत्यलाई फरक फरक बताएर पनि समाजमाथि अन्याय गरेका छन्  । प्रचण्ड युज एन्ड थ्रो गर्छन् कि भएका छन्  ? एउटा विचारणीय पक्ष यो पनि हो ? यो कोणबाट कमैले चर्चा गरेको पाइन्छ । त्यत्रो जनयुद्ध सञ्चालन गरेर आएको एउटा नेता, वर्तमानमा स्थापित व्यवस्थाको प्रमुख स्टेकहोल्डर, गणतन्त्रको नायक यति अस्थिर र यति हलुङ्गो किन बन्नु पर्याे ? झिँगाको सङ्गत यता नि उता नि भएपछि मौरी बन्ने विशेषतामा ह्रास आएको हो कि ? घेराबन्दी, धोकाघडी र षड्यन्त्रको चक्रव्यूहले उम्कन नसक्ने परिस्थति पो बन्यो कि ? 

अहिले अभ्यास गरिएको राजनीतिमा चाल्स डार्बिनको ‘सर्भाइभल अफ द फिटेस्ट’को सिद्धान्त अवलम्बन नगर्दा नामोनिसान नरहने सम्भावना प्रचण्ड र माओवादीले देख्यो कि ? गल्ती नेताहरूको बोध क्षमतामा छ । पार्टीहरूमा छ । गल्ती कतै न कतै अवश्य छ । चक्रव्यूहमा परेपछि उम्कन गरेको प्रयत्न कतै अस्थिर राजनीतिको द्योतक बनेको त छैन ? 

समाजका अग्र्यानिक बुद्धिजीवी, प्राज्ञिक वर्गले पनि दृष्टिदोष पालेको देखिन्छ । देशका बुद्धिजीवी वर्गले सत्यलाई फरक फरक बताएर पनि समाजमाथि अन्याय गरेका छन्  । प्रचण्ड युज एन्ड थ्रो गर्छन् कि भएका छन्  ? एउटा विचारणीय पक्ष यो पनि हो ? 

मर्नुभन्दा बहुलाउनु ठीकको अर्थमा आफूले नेतृत्व गरेको गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता गुमाउन नदिन भएको भगरिथ प्रयत्न नै प्रचण्डको अस्थिर राजनीति हो कि ? अस्थिर राजनीतिको ब्याड कसले तयार गर्याे ? प्रचण्डको अपरिहार्यता थिएन भने उनलाई मिल्काएर फाल्न किन सकिएन ? अस्थिरताको कारक ठान्दै सधैँ प्रचण्डलाई नै काँधमा किन बोक्नुपर्याे र ? 

आजको संसद्मा पनि नेकपा माओवादीको सिट सङ्ख्या जम्मा ३२ मात्रै हो । यो सङ्ख्याबिना पनि सरकार सजिलै बन्न सक्छ । यति भएर पनि प्रचण्ड नै अस्थिरताको कारकको उपमा किन पाउँछन्  ? संसद्मा राजनीतिक दलले आफ्नो फेबरको सरकार बनाउन जहिल्यै प्रयास गरिरहन्छन् । सरकार ढाल्ने र बनाउने दाउपेच चलिरहन्छ । यो अभ्यास हाम्रो देशको मात्रै होइन, विश्वभर यस्ता घटना र राजनीतिक खेल चलिरहन्छ । प्रश्न सरकारको स्थायित्वको नभएर इमान र निरन्तरताको हो । हरेक सरकार पूर्ववर्ती सरकारको अविच्छिन्न उत्तराधिकारी हो यद्यपि यो कडी हाम्रोमा टुट्ने गरेको छ । 

सरकार ढले पनि बने पनि सरकारको संस्थागत विश्वसनीयता गुम्न नदिन नेताहरू फेरिने पात्रहरू तयार हुनुपर्ने हो । त्यो नभएर नै सरकार बन्ने र भत्कने स्वाभाविक संवैधानिक प्रक्रियालाई गलत सम्झने गरिएको छ । सरकारको स्थायित्व र विश्वसनीयतामा आउने आँचमा एक व्यक्तिलाई मात्र लाञ्छित गर्नु किन पनि बेठिक हुन्छ भने उसको अनुपस्थितिमा पनि सरकार बन्ने र भत्कने प्रक्रिया अबरुद्ध हुँदैन भने एक पात्रका लागि मात्र अन्यायपूर्ण लाञ्छना बेठीक हो । 

प्रचण्डका अनेक कमजोरीको आलोचना गर्न सकिन्छ । उनका थुप्रै शैली आलोच्य छन् । उनको सैद्धान्तिक विरोध र प्रतिरोध गर्न सकिन्छ । तर अस्थिरता भनेकै प्रचण्ड, प्रचण्ड भनेकै अस्थिरताको पर्याय एक्लो मान्छेको हकमा किमार्थ न्यायसङ्गत देखिन्न । प्रचण्डका लागि अस्थिर राजनीतिक भूमि र भूमिकाको प्ले ग्राउन्ड तयार गरिदिने पनि नेपाली राजनीतिमा अस्थिरताका कारक र उत्प्रेरकहरू हुन् । २०७२ मा तत्कालीन एमाले नेता र प्रधानमन्त्री ओलीले समझदारीअनुसार प्रचण्डलाई सरकारको नेतृत्व नछोड्दा प्रचण्ड नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएका हुन् । स्थानीय चुनावसम्म कांग्रेससँग मिलेर गए ।  त्यसपछि सबैभन्दा ठूलो वामपन्थी दल बनाउने भन्दै प्रचण्ड र ओलीको मिलाप भयो र एमालेसँग मिलेर प्रचण्ड २०७४ को सङ्घीय र प्रदेशको चुनावमा गए र चुनावपछि २०७५ जेठ ३ गते नेकपा पार्टी बनाए । यतिबेला नेकपा एमालेले प्रचण्डलाई अस्थिर सम्झेन जब ओलीले प्रचण्डसँगको जेन्टलमेन एग्रिमेन्टदेखि सारा विश्वास घात गरे तव प्रचण्ड कांग्रेससहित माधव नेपाल र झलनाथलगायत अन्य दलसँग मिल्न पुगे । ओलीले दुई पटक विगठन गरेको संसद्को अकाल मृत्यु भनेर त्यसलाई पाँच वर्षको सञ्जीवनी बुटी पिलाउन लागे र सफल पनि भए । 

प्रचण्डका अनेक कमजोरीको आलोचना गर्न सकिन्छ । उनका थुप्रै शैली आलोच्य छन् । उनको सैद्धान्तिक विरोध र प्रतिरोध गर्न सकिन्छ । तर अस्थिरता भनेकै प्रचण्ड, प्रचण्ड भनेकै अस्थिरताको पर्याय एक्लो मान्छेको हकमा किमार्थ न्यायसङ्गत देखिन्न । 

पाँच दल मिलेर देउवाको नेतृत्वमा सरकार बनाएर र चुनावी मोर्चा बनाएर चुनाव लडे । माओवादीले अपेक्षाकृत सफलता पाउन सकेन । कांग्रेस प्रत्यक्षमा ५७ सिट जितेर ठूलो दल बन्यो । माओवादीलाई विस्तारै किनारमा पार्न तल्लीन रह्यो । विशेषतः देउवा प्रचण्डलाई धोका दिएर पूर्वसहमति उल्लङ्घन गर्न उद्यत बने । नेकपा एमालेका ओलीसँग हिमचिम र बसउठ र सरकार बनाउने देउवाले प्रचण्डलाई उपेक्षा गर्न थाले । आफूलाई धोकाको आभास भएपछि प्रचण्डको आफ्नै छापामारीय शैलीमा एमाले माओवादीसहित सात दलीय गठबन्धन निर्माण भयो । प्रचण्ड धोका खाएर आत्मसमर्पण गरेर बसेनन् । 

राजनीति अथाह सम्भावनाको खेती हो । विकल्पको बाटो प्रचण्डले निर्णय लिनुपर्याे, लिए । आफू प्रधानमन्त्री बने । यो प्रयास जुनसुकै दल र नेताले समय क्रममा गरेका छन्  । आवश्यकताको सिद्धान्त अनुरूप प्रचण्डले कदम चाले । यही र यस्तै घटना परिघटना निर्माणको वातावरण निर्माण गर्ने अरू अस्थिर नहुने प्रचण्ड मात्रै अस्थिर कसरी ? 

जुनसुकै घटना र राजनीतिलाई नाप्ने यन्त्र र मानक उस्तै र एकै हुनुपर्छ । प्रचण्डलाई अस्थिर देख्ने र बनाउनेको हकमा भिन्न मानक र प्रचण्डको हकमा भिन्न हुन सक्दैन । यसैले नेपाली राजनीतिमा अस्थिर चरित्र र कारण एकै जनामा देख्नु अरू माथि अन्याय गर्नु हो । प्रचण्ड अस्थिर छन्, यो घाम जत्तिकै सत्य हो । परन्तु अरू देउवा, ओली माधव, बाबुराम, महन्थ, उपेन्द्र पनि स्थिर छैनन् । रङ फेर्ने मामलामा कुनै पनि पार्टी र कुनै पनि नेता कोहीभन्दा कम देखिएनन् । 

प्रचण्ड, देउवा र ओलीलाई ‘नो, नट एगेन’ भन्ने नारा लाएर उदाएको नयाँ पार्टी रास्वपासमेत प्रचण्ड सरकारमा ओली डिजाइनमा सामेल भएर आफ्नो नयाँ लुगामा दाग लगायो । यहाँ को भेष बदल्दैन ? को रङ फेर्दैन ? को अस्थिर हुँदैन सत्ता सुन्दरीको अघिल्तिर ? राजनीतिक नैतिकता र चरित्रमा नेताहरू यही स्तरमा खस्कँदै जाने हो भने कुनै पनि किसिमको वैधानिक अवैधानिक दुर्घटनामा देश नपर्ला भन्न सकिन्न । 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप