मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अवैध कामदारको पीडा

विदेशमा लाखौँको जरिवानामा फस्दै नेपाली श्रमिक

बुधबार, ०३ फागुन २०७९, १२ : ४६
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । कैलालीका श्याम थापा (नाम परिवर्तन) एक वर्ष अगाडि तीन महिने भिजिट भिसामा यूएईको दुबई पुगे । भिसाको म्याद हुँदासम्म उनले काम गरे । तीन महिनासम्म खर्चको जोहो गर्न उनलाई कुनै समस्या भएन । भिजिट भिसामार्फत् गएकाले उनले अन्य कामदारको तुलनामा कम पारिश्रमिक पाउँथे । जब तीन महिनापछि उनको भिसाको म्याद सकियो, तब उनलाई एकातिर कता लुक्ने पिर हुन थाल्यो भने अर्कोतिर काम नपाउने समस्या भयो । 

दुबईमा रहेका उनले रातोपाटीसँगको फोन सम्पर्कमा भने, ‘कोही चिनेको साथीभाइसँग डराई डराई काम जान्थेँ । काम गर्दा पनि कतै प्रहरी आएर च्याप्प समातेर लैजाने हो कि भन्ने डर हुन्थ्यो । साथीहरूले पाउने पारिश्रमिक भन्दा मेरो निकै कम हुन्थ्यो ।’

महिनामा एक हप्ता काम पाउँथे । त्यही हप्ता दिन काम गरेर महिनासम्म चलाउनुपर्थ्यो । आज भोलि भन्दा भन्दै उनी दुबई पुगेको एक वर्ष पुरा भयो । अहिले उनी नेपाल फर्किन खोजिरहेका छन् । तर, उनी हत्तपत्त घर फर्किन पाउने अवस्था छैन । 

घरमा श्रीमती र छोराछोरी बाटो कुरेर बसेका छन् । उनीहरुले जसरी पनि घर फर्किन दबाब दिइरहेका छन् । ‘हामीलाई पैसा चाहिएको छैन । तपाईं घरमा आइदिए पुग्यो भन्छन् । कसरी घर जाने टुङ्गो छैन ।’ उनले पीडा पोखे । 

अहिले घर फर्किनका लागि उनले गैर कानुनी रूपमा बसेको दिन देखिको दैनिक एक सय दिनार बराबरको जरिवाना तिर्नुपर्छ । उनी अवैध रूपमा बसेको ९ महिनासम्मको नेपाली रुपैयाँमा हिसाब गर्दा ९ लाख ७३ हजार भन्दा बढी जरिवाना रकम हुन्छ । 

एक वर्ष दुबईमा बस्दा जेनतेन आफ्नो पेट पालिरहेका उनले त्यत्रो २७ हजार दिनार पैसा तिर्ने हैसियत त के सोच्न समेत सक्दैनन् । त्यो जरिवाना तिर्न नसकेको खण्डमा त्यही जरिवानावापत उनले जेल बस्नुपर्ने हुन्छ । 

...

सिन्धुलीकी कमला तामाङ (नाम परिवर्तन) पनि भिजिट भिसामार्फत् कुवेत पुगिन् । एक घरमा घरेलु कामदारको रूपमा काम गर्न थालेकोमा त्यहाँ हिंसा भोग्दै गएपछि नेपाल फर्किने सुरसारमा लागिन् । उनी कुवेत पुगेको एक वर्ष भन्दा बढी भइसकेको थियो । तीन महिने भिजिट भिसामा गएकी उनी वर्ष दिन बढी अवैध रूपमा बसेकोमा लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने थियो । तिर्न सक्ने हैसियतमा नभएपछि आफ्नो उद्धार गरिदिन भन्दै विभिन्न संघ संस्थासँग गुहार मागिन् । 

कुवेतमा रहेका विभिन्न संघ संस्थाले उद्धारका लागि पहल त गरे तर जरिवानाका लागि तिर्नुपर्ने लाखौं रुपैयाँ कताबाट जुटाउने ? समस्या प-यो । दूतावासमार्फत् जरिवाना मिनाहाको लागि पहल थालियो । दूतावासले उनलाई जरिवाना माफी दिएर घर फिर्ता गराइदिन कुवेत सरकारसँग अनुरोध गरेपछि उनलाई आममाफी दिइयो । र, उनी नेपाल फर्किन सक्ने भइन् । 

नेपाल फर्किन आवश्यक पर्ने टिकटसमेत नभएपछि कुवेतमा रहेको तामाङ घेदुङ समाजले सहयोग ग-यो । अन्ततः उनी नेपाल फर्किन सफल भइन् । 

अहिले दुबईमा मात्र ५ हजार भन्दा बढी नेपालीहरू अवैध रूपमा बसिरहेको तथ्याङ्क छ । उनीहरूलाई उद्धार गरेर नेपाल ल्याउनु परेको खण्डमा लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्छ । सरकारले कूटनीतिक पहल गरेर सबैलाई आममाफी दिलाउन सक्ने अवस्था अहिले छैन । 

कुन देशमा कति नेपाली अवैध ढङ्गले बसिरहेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।  भिजिट भिसामार्फत् आएका नेपालीहरूलाई आफ्नो भिसाको म्याद सकिएपछि स्वदेश फर्किन सरकारले अनुरोध गर्दै आएको छ । त्यस्तै, सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरूले समेत भिसाको म्याद सकिएपछि स्वदेश फर्किन आग्रह गरेका छन् । 

मलेसियास्थित नेपाली राजदूतावासले पर्यटक भिसामा आउने नेपाली नागरिकलाई भ्रमणपश्चात् तोकिएको अवधि भित्रै नेपाल फर्किन अनुरोध गरेको छ । 

केही दिन अगाडि विश्व साइकल यात्राका क्रममा ६ जना नेपालीहरू मलेसिया पुगेका थिए । विभिन्न देशको यात्रा गरेर त्यहाँ पुगेका उनीहरूको एक महिने भिसा सकिएको थियो । म्याद थप गर्ने क्रममा उनीहरूले अनधिकृत व्यक्तिलाई पासपोर्ट बुझाएका थिए । यसरी उनीहरू मलेसियामै अलपत्र परेका थिए । पछि दूतावासको पहलमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको थियो । 

२०७९ साउनदेखि कात्तिकसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरहरूमा रहेका १११ जना नेपालीको उद्धार गरिएको थियो । दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किएका थिए । 

मलेसियाको अध्यागमन कानुनअनुसार त्यहाँ अवैधानिक रहेका विदेशीलाई जरिवाना वा कैद सजाय भुक्तान गरेर मात्र आफ्नो मुलुक फर्किन पाउने व्यवस्था छ । तसर्थ, मलेसियामा अवैधानिक भएर बसेका नेपालीहरूलाई अनधिकृत व्यक्तिहरूको प्रलोभनमा नपर्न र आवश्यक सतर्कता अपनाउन दूतावासले अनुरोध गर्दै आएको छ । 

भिजिट भिसामार्फत् खाडी मुलुक पुगेका कतिपय नेपालीहरू अवैध रूपमा बस्दै आएका छन् । भिसाको म्याद सकिएपछि अवैध रूपमा बस्ने र नेपाल फर्किदा समस्यामा पर्ने गरेका छन् । 

सरकारले आफ्नो भिसाको म्याद सकिएपछि स्वदेश फर्किन आग्रह गरे पनि लुकेर बस्ने, अनि समस्यामा परेपछि सरकारसँग गुहार माग्ने गरेका छन् । यसरी उनीहरूको उद्धार गर्न कठिनाइ हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप