शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

बिहीबार, ०४ फागुन २०७९, १४ : १७
बिहीबार, ०४ फागुन २०७९

झापा । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए ।
कार्यालयका अनुसार साउनमा १२, भदौमा पाँच, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् । 

ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ ।  दुर्घटना हुने सवारीमा चार सय ३३ ओटा मोटरसाइकल, ४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए ।

प्रहरीले चालु आवको माघ मसान्तसम्म रू दुई करोड दुई लाख छ हजार पाँच सय राजवस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार आठ सय ओटा  सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । कार्यालयले चार हजार एक सय ३४ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा एक लाख सात हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप