सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ली आलुको माग बढ्दाे

बिहीबार, ०४ फागुन २०७९, २२ : २८
बिहीबार, ०४ फागुन २०७९

जुम्ला । पातारासी गाउँपालिका–६ की रुपा खड्का बिहान सबेरै उठेर डोकोमा आलु बेच्न सदरमुकाम खलंगा पुग्छिन् । आलु बिक्रीबाट उनको दैनिक कमाइ कम्तीमा १ हजार रुपैयाँ हुन्छ । 
७ रोपनी जग्गामा व्यावसायिक आलु खेती गरिरहेकी उनले गत वर्ष १ सय २० क्विन्टल आलु उत्पादन गरिन् । महिनामा करिब १० हजार रुपैयाँ घर र छोराछोरीको पढाइमा खर्च हुने गरेकाले मासिक २० हजार रुपैयाँसम्म बचत भइरहेको उनको भनाइ छ ।

पातारासी गाउँपालिका–७ रिनीकी हरिकला बुढाले उत्पादन गरेको आलु पनि सजिलै बिक्री भइरहेको छ । राम्राे बजार हुँदा महिनामा १०–२० हजार रुपैयाँ बचत भएको उनले बताइन् ।
जुम्लाका लागि पातारासी गाउँपालिका आलु उत्पादनको पकेट क्षेत्र हो । स्थानीयले आलु बिक्रीबाट राम्राे आम्दानी गरिरहेका छन् । गाउँपालिकाको तथ्यांकअनुसार पातारासीबाट मात्रै ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जाने गरेको छ । 

त्यसमध्ये सबैभन्दा बढी ६ नम्बर वडाबाट करिब २ हजार मेट्रिक टन आलु बाहिर जाने गरेको हो । गाउँपालिकाका सबै वडामा आलुखेती हुन्छ । तर सहज रुपमा आलु ढुवानीको लागि पक्की सडक नहुँदा सबै आलु जिल्लाबाहिर पठाउन नसकिएको किसानको गुनासो छ । 

आफूहरूले उत्पादन गरेको आलु कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायत ठाउँमा जाने गरेको पतारासी–६ की सम्झना खड्काले बताइन् । बर्सेनि आलु बिक्रीबाट आएको रकमले जीवनयापन चलाउन सहज भएको उनको भनाइ छ । आलुको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनले ६ रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन् । 

उनका अनुसार वर्षे र हिउँदे दुवै आलु उत्पादन हुने भएकाले बाह्रै महिना आलु बिक्री गर्न पाइएको छ । उनका अनुसार ५ वर्षअघिसम्म बाहिरबाट ल्याएको आलु उपभोग गर्नुपर्ने बाध्यता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप