शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डीआईजी सिंहविरुद्ध परेको उजुरीबारे अख्तियारले विस्तृत छानबिन गर्ने

आइतबार, ०७ फागुन २०७९, २३ : ०१
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारे अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विस्तृत छानबिन गर्ने भएको छ। डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेको छ । यस्तै अख्तियारको उजुरीको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले समेत आन्तरिक छानबिन अघि बढाएको छ। 
अख्तियारले भने नागरिकताका सम्बन्धमा गृह मन्त्रालयले र शैक्षिक प्रमाणपत्रबारे आफैले विस्तृत छानबिन गर्ने जनाएको छ। 

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले सिंहविरुद्ध परेको उजुरीबारे विस्तृत छानबिन गर्न मातहतलाई निर्देशन दिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘झन्डै ३० वर्ष प्रहरी सेवामा रहँदा सिंहका विरुद्ध उजुरी परेनन्, अहिले बढुवाको मुखमा उजुरी परेको छ। उजुरीउपर विस्तृत छानबिन गर्छौँ।’ 

हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले १८ वर्ष पूरा भएपछि नागरिकता प्राप्त गरेको देखिन्छ । उनले प्रहरी सेवामा प्रवेश गर्दा पेस गरेको नागरिकतामा जारी मिति २२ जेठ, २०४२ रहेको उल्लेख छ । तर, १८ वर्षमा प्रहरी सेवा प्रवेश गरेको देखाउन त्यतिबेला सिंहले आफ्नो जन्म मिति १६ पुस, २०२५ टिपाएका थिए ।

asok

जुन प्रहरी किताबखानामा समेत उल्लेख गरिएको छ। सिंह ५ चैत, २०५१ मा प्रहरी निरीक्षकमा प्रहरी सेवामा प्रवेश गरेको प्रहरी मुख्यालयले जनाएको छ । प्रहरी निरीक्षकमा भर्ना हुन दरखास्त दिने म्यादसम्म २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने नियमावलीमा स्पष्ट छ। तर, सिंहको नागरिकता र कितावखानाको विवरणमा फरक परेको उजुरीमा दाबी गरिएको छ । 

नागरिकताअनुसार सिंहले एसएसपी पदमा नै अवकाश पाउने देखिन्छ । तर, उनले टिपाएको जन्ममितिको आधारमा डीआईजीमा बढुवा भएको देखिन्छ । डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर, दोस्रो नम्बरका टेकप्रसाद राई, तेस्रो नम्बरका सिंह र चौथो नम्बरका दीपक थापा आईजीपी पदका दाबेदार हुन्। वर्तमान प्रहरी नेतृत्व धिरजप्रताप सिंहको कार्यकाल आगामी चैतमा सकिँदै छ । प्रहरी महानिरीक्षक सिंहले डीआइजी सिंहको जन्म मिति र उमेरको विषयमा अनुसन्धान गर्न किताबखानासँगको सहकार्यमा काम गर्न आफ्नो सचिवालयलाई निर्देशन दिइसकेका छन् ।

अख्तियारमा गत बुधवार परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको उल्लेख छ । उजुरीमा भनिएको छ,‘ सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेस गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेका हुन्। उनले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो, जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन ।’ 

उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृह सचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरेको आरोप समेत लगाइएको छ। सचिव सिंहले आफै अध्यक्ष रहेको बढुवा समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने दाबी समेत उजुरीमा गरिएको छ ।
अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले डीआईजी सिंहविरुद्ध परेको उजुरीका विषयमा विस्तृत छानबिन भइरहेको पुष्टि गरे ।  उनले भने, ‘उजुरी परेपछि आयोगले छानबिन गर्नै पर्छ । सत्य तथ्य बाहिर ल्याउन पनि छानबिन गरिरहेका छौँ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप