सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मानव बेचबिखन गर्न वीरगन्ज नाकाको प्रयोग बढ्दो

मङ्गलबार, ०९ फागुन २०७९, १९ : ३७
मङ्गलबार, ०९ फागुन २०७९

वीरगन्ज । पछिल्लो समय पर्साको वीरगन्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । 

मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराइदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउने गरेको पाइएको छ । 

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३  जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

आव २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न सहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आव २०७७/७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बताए । आव २०७८/७९ मा एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकामा  एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले जनाएको छ ।

आव २०७७÷७८ मा वीरगन्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा  कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए ।  दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ”, उनले भने । संरक्षण नेपालका पारस प्रसादले चालु आवको छ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न सङ्घ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिए । 

भारतको मोतीहारीस्थित जिल्ला बालसंरक्षण कार्यालयकी सहायक निर्देशक ममता झाले बालबालिका, किशोरी तथा महिलालाई विभिन्न बहाना तथा प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा पु¥याउने गरिएको पाइएको बताए । “उद्धारमा दुवै देशको नीतिनियम तथा ऐन बाधक बन्ने गरेको छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप