मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

भन्सारका कर्मचारी शक्तिकेन्द्र धाउँदै

एउटै कार्यालयमा थमौती हुन मन्त्रालय र विभागमा कर्मचारीको लर्को
बिहीबार, ११ फागुन २०७९, १० : २३
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । घटना १

मोरङस्थित विराटनगर भन्सार कार्यालयका  भन्सार अधिकृत तारा सापकोटा र  शाखा अधिकृत नवकुल शर्मा भन्सार विभाग तानिएका छन् । प्रज्ञापनपत्र रद्द गरेको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेपछि उनीहरु मन्त्रालय तानिएका हुन् । प्रज्ञापनपत्र रद्दको आरोपमा उनीहरुमाथि अहिले पनि छानबिन भइरहेको छ ।  

घटना २

दुई महिना अघि छोटी भन्सार कार्यालयका प्रमुख विमल कुमार साह गाडीमा चार वटा एयर कन्डिस्नर (एसी) राखेको सूचना बाहिरिएपछि भन्सार विभागमा तानिए । फोन ‘स्वीच अफ’ गरेर बेपत्ता भएका साह अर्थ मन्त्रालयमा पुगेर आफूलाई कारबाही नगर्न अनुरोध गरे । विभागमा पनि पुगेर उनले आफू झन्डै मरेर बाँचे भन्दै कारबाही नगर्न हारगुहार गरे । तर, उनको बदमासी देखिएपछि विभागले उनलाई निलम्बन गर्नुपर्ने रायसहितको पत्र अर्थमा पठायो । साह हालसम्म पनि निलम्बनमा परेका छैनन् । निलम्बन रोक्न साहले शक्तिकेन्द्रमार्फत अर्थमा दबाब दिइरहेका छन् ।

...

यी दुई घटना भन्सार कार्यालयका कर्मचारीले गरेका बदमासीका फेहरिस्तमध्येका केही उदाहरण मात्रै हुन् । लामो समय राम्रो पोष्टिङका लागि शक्तिकेन्द्रमार्फत दबाब दिएर जाने र त्यहाँ पुगेपछि बदमासी गर्न उद्यत केही कर्मचारीको कार्यशैलीले सिङ्गो भन्सार विभाग विवादमा आउने गरेको छ । विभागका एक अधिकृत भन्छन्, ‘सकभर सरुवा हुनै नचाहने र सरुवा भएर गए पनि फेरि शक्तिकेन्द्रमार्फत पुरानै कार्यालयमा फर्कने प्रवृत्ति छ । यसलाई रोक्नुपर्छ ।’

मुलुकको कुल राजस्वको करिब ५० प्रतिशत भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्रै भन्सारले कुल राजस्व पाँच खर्ब ६ अर्ब रुपैयाँ सङ्कलन गरेको थियो । यो आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य भन्सार विभागको छ । माघसम्म जम्मा दुई अर्ब २७ अर्ब राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयमा दरबन्दीभन्दा धेरै कर्मचारी किन बस्छन् भन्ने प्रश्न आफैमा चासोपूर्ण छ । अर्थ मन्त्रालय स्रोतका अनुसार  मेची, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, भैरहवा, सुठौली, कृष्णनगर, नेपालगंज, कैलाली र रसुवा भन्सार कार्यालयमा आवश्यकताभन्दा धेरै दरबन्दी राखिएका छन् । मन्त्रालय स्रोतले भन्यो, ‘जहाँ कमाऊ अड्डा छन्, त्यहाँ जान कर्मचारीले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको दबाब दिन्छन्, दरबन्दी पुगिसक्यो भन्दा पनि जबरजस्ती पठाउनुपर्ने बाध्यता छ ।’

पछिल्लो पटक भने विभाग सुधारमा जुटेको देखिन्छ । लामो समय भन्सार कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई विभागले सरुवा गरेको छ । वीरगन्ज भन्सारका शाखा अधिकृत बुद्धि चुडाललाई नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयमा, विराटनगर भन्सार कार्यालयका शाखा अधिकृत प्रेम सुवेदीलाई नवलपरासीस्थित त्रिवेणी भन्सार कार्यालय, कैलाली भन्सार कार्यालयका शाखा अधिकृत पदमराज पन्तलाई बाँकेस्थित नेपालगञ्ज भन्सार कार्यालय, कपिलवस्तुस्थित कृष्णनगर भन्सार कार्यालयका उपसचिव तीर्थ पासवानलाई कैलाली भन्सार कार्यालय र सर्लाही भन्सार कार्यालयका शाखा अधिकृत दीपेन्द्र झालाई भैरहवा गौतमबुद्ध विमानस्थलमा सरुवा गरिएको छ । यी शाखा अधिकृतहरु डेढ वर्षभन्दा बढी एउटै कार्यालयमा बसेर काम गरिरहेका थिए ।

विभागका महानिर्देशक चक्रबहादुर बुढाले यी शाखा अधिकृतलाई सरुवा गर्दा राजनीतिक दलकै नेता, अर्थ मन्त्रालयकै उच्चपदस्थ कर्मचारी लगायतबाट ठूलै दबाब खेपे । तर, उनी टसमस भएनन् ।

अर्थ मन्त्रालय र भन्सार विभागमा सरुवा थमौती गर्न कर्मचारीको लर्को लाग्ने गरेको छ । मन्त्री र सचिव सँगै विभागका महानिर्देशकको कोठामा कर्मचारीको घुइँचो देखिन्छ ।

आकर्षक पोष्टिङ र धेरै राजस्व सङ्कलन हुने भन्सारहरूमा दरबन्दीभन्दा धेरै कर्मचारी देखिएपछि विभागले कर्मचारीहरूको अन्यत्र सरुवा गरेको छ । विभागका अनुसार वीरगन्ज भन्सारमा १६ जना, विराटनगरमा ११ जना, भैरहवामा ८ जना, कृष्णनगरमा ८ जना, सुनसरीमा ५ जना र वीरगन्ज सुक्खा बन्दरगाहमा ३ जना दरबन्दीभन्दा धेरै देखिएपछि उनीहरूलाई अन्य कार्यालयमा सरुवा गरी दरबन्दी मिलान गरिएको हो ।

भन्सार कार्यालयमध्ये आकर्षक ‘पोष्टिङ’ मानिएका पर्साको वीरगन्ज भन्सार कार्यालय, पर्साकै सुक्खा बन्दरगाह, मोरङको विराटनगर भन्सार कार्यालय, रुपन्देहीको भैरहवा भन्सार कार्यालय, झापाको मेची भन्सार कार्यालय र सुनसरीको सुनसरी भन्सार कार्यालय पर्छ । यी कार्यालयमा जान कर्मचारीमा तँछाडमछाड हुँदै आएको विभाग स्रोत बताउँछ ।

अर्थ मन्त्रालय र भन्सार विभागमा सरुवा थमौती गर्न कर्मचारीको लर्को लाग्ने गरेको छ । मन्त्री र सचिव सँगै विभागका महानिर्देशकको कोठामा कर्मचारीको घुइँचो देखिन्छ । विभागका एक अधिकृत भन्छन्, ‘सकभर घर पायक, सुविधा सम्पन्न कार्यालयमा जान पाए हुन्थ्यो भन्ने कर्मचारीको चाहना स्वाभाविक हो तर, आवश्यकता र औचित्य पुष्टि हुने गरी मात्रै सरुवा गर्नुपर्छ । दबाब र प्रभावमा सरुवा गर्दा कर्मचारीले काम गर्दैनन् ।’ 

नेपालमा इलामको पशुपतिनगर, झापाको मेची, झापाकै भद्रपुर, मोरङको विराटनगर, सुनसरीको सुनसरी, ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाको किमाथांका, सप्तरीको राजविराज, सिरहाको ठाडी, वीरगंजको वीरगन्जलगायत ठुला ३९ वटा भन्सार कार्यालय छन् । त्यसैगरी एक सय ३३ वटा छोटी भन्सार कार्यालय छन् । तर, करिब ७० वटा छोटी भन्सारमात्रै सञ्चालित छन् । भन्सार विभाग र मातहतका कार्यालयमा अहिले एक हजार दुई सय ५७ जनाको दरबन्दी छ । जसमध्ये ६ जना सहसचिवस्तरको, ४५ जना उपसचिव, दुई सय ३४ जना शाखा अधिकृत, पाँच सय २३ जना नासु र श्रेणीविहीन चार सय ४० जना कार्यरत छन् ।

........

म गलत गर्दिनँ, अरूलाई पनि गलत गर्न दिन्न

–चक्रबहादुर बुढा, प्रमुख, भन्सार विभाग

chakra bahadur budha

भन्सारका कर्मचारी भन्ने बित्तिकै विवादित आँखाले हेर्ने गरिन्छ । विगतमा के भए, त्यता नजाऊँ । अहिले भन्सारका सबै काम प्रविधिमैत्री छन् । अब स्वयं कर्मचारीले गलत मनसाय राखेर काम गर्‍यो भने त्यो आफै जिम्मेवार हुनुपर्छ । त्यस्ता कर्मचारीलाई कारबाही पनि भएका छन् । बेलाबेलामा अनुगमन भइरहेका छन् ।

भन्सारका कर्मचारीसँगै भन्सारसँग जोडिएका निकायहरू पनि उत्तिकै संवेदनशील हुन जरुरी छ । प्रत्येक भन्सार कार्यालयमा भइरहेका गतिविधि केन्द्रबाटै सीसीटीभीबाट नियालिरहेका छौँ । प्रज्ञापनपत्र भन्दा बाहिर गएर काम गरे–नगरेको निगरानी गम्भीर ढंगले भइरहेको छ । म आफू पनि गलत गर्दिनँ । अरूलाई पनि गलत गर्न दिन्न । धेरै कर्मचारीले सुविधा खोज्ने गर्छन् ।

काम गर्ने वातावरण भएन भने विभागमा भन्ने हो । त्यसलाई सहजीकरण गर्न सकिन्छ । तर, घर पायक र सुविधाका नाममा लामो समय एउटै दरबन्दीमा काम गर्न पाइँदैन ।

.............

कहाँ कति दरबन्दी ?

कार्यालय – दरबन्दी  – खाली    

भन्सार विभाग      –११२          – १४

पशुपतिनगर भन्सार कार्यालय – २०   – १२

मेची भन्सार कार्यालय       –   ४९ –  ६ जना धेरै

भद्रपुर भन्सार कार्यालय      – २०   – ६

विराटनगर भन्सार कार्यालय  – ६०   – १४ जना धेरै

सुनसरी भन्सार कार्यालय    – २४  – १

राजविराज भन्सार कार्यालय  – २२   – ११  

सिरहा भन्सार कार्यालय      – २१   –   ६

ठाँडी भन्सार कार्यालय       – १९   – १०     

जनकपुर भन्सार कार्यालय   – ३७   – १३

जलेश्वर भन्सार कार्यालय    – २९   – २

सर्लाही भन्सार कार्यालय     – २४  – ७

गौर भन्सार कार्यालय           – २२   – ३

वीरगन्ज भन्सार कार्यालय    –८१    –  १५ जना धेरै

सुक्खा बन्दरगाह भन्सार कार्यालय – ३०– ९ जना धेरै

त्रिभुवन विमानस्थल भन्सार कार्यालय –१४६– ७

तातोपानी भन्सार कार्यालय  –३७ – १३

महेशपुर भन्सार कार्यालय    – १९ – ७

त्रिवेणी भन्सार कार्यालय – ११ – ४

भैरहवा भन्सार कार्यालय – ६६– २५ जना धेरै

गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय–३३   – १९

सुठौली भन्सार कार्यालय – १८ – ३ जना धेरै

कृष्णनगर भन्सार कार्यालय – ३१ – ११ जना धेरै

कोइलावास भन्सार कार्यालय – ७ – ३

नेपालगन्ज भन्सार कार्यालय  – ४२– २ जना धेरै

राजापुर भन्सार कार्यालय – २२–    १०

कैलाली भन्सार कार्यालय –  ४१ – ३ जना धेरै

सति भन्सार कार्यालय   – १८ – ३

कञ्चनपुर भन्सार कार्यालय  –२७ –२७

महाकाली भन्सार कार्यालय   – ११ – ७

दार्चुला भन्सार कार्यालय – ७ – २

ओलाङ्चुङ्गोला भन्सार कार्यालय   – ४– ३

किमाथाङ्गका भन्सार कार्यालय –  ९– ७

लामावगर भन्सार कार्यालय  – ४    – ३

रसुवा भन्सार कार्यालय  – ४१ – २ जना धेरै

यारीनाका भन्सार कार्यालय  – ४    – २

मुगु भन्सार कार्यालय – ४    –४

लार्के भन्सार कार्यालय   – ४– ३

मुस्ताङ भन्सार कार्यालय –  ९   – ६

भन्सार जाँचपास परीक्षण कार्यालय   – ४३ –  १७

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय – २९ – १७

पोखरा विमानस्थल भन्सार कार्यालय  – ३– ३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप