मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपति पदमा जसपाको अडान, दलहरूको जवाफको पर्खाइ

बिहीबार, ११ फागुन २०७९, १२ : ३०
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपति पदमा आफ्नो अडानमा कायम रहेको छ । पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षसँग कुराकानी गरिरहेका छन् । यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथसाथै  कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि समानान्तर छलफल गरिरहेका हुन् ।   

उनले ती भेटहरूमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएका छन् ।  जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताए । राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले राज्य समावेशी होस् भनेर चाहेका छौँ, मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको समानुपातिक सहभागिता हुनुपर्छ र त्यसका लागि पार्टीबाट आवाज उठाइरहेका छौँ ।’

फेरिने दिशामा रहेको सत्ता समीकरणमा जसपाको भूमिका कस्तो हुन्छ भन्ने जिज्ञासामा उनले अहिले आफ्नो पार्टी पर्ख र हेरको नीतिमा रहेको बताए । राष्ट्रपतिको चुनावसम्म हेर्ने र त्यसपछि दलहरूबाट आउने जवाफका आधारमा अघि बढिने उनको भनाइ छ । 

तत्कालीन नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्दादेखि जसपा पाँच दलीय गठबन्धनमा थियो । तर चुनावको समयमा यादव एकाएक गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए ।  चुनाव सकिए लगत्तै फेरि यादवले एमालेसँगको गठबन्धन भङ्ग भएको अभिव्यक्ति दिएका थिए । लगत्तै उनी पुनः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति देउवासँग नकजिएका थिए । 

प्रचण्डले ओलीसँग मिलेर सरकार बनाउँदा जसपाका अध्यक्ष यादवको पनि साथ थियो । तर जसपा सरकारमा भने सहभागी भएको थिएन ।

भागबन्डामै सहमति नभएको कारण देखाउँदै जसपा सरकारमा सहभागी नभएको बताइँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रीहरू बाँडफाँट गर्नेलगायतको विषयमा आफूसँग कुनै सल्लाह नगरेको गुनासो यादवको थियो । 

प्रधानमन्त्री प्रचण्डले जसपाका लागि युवा तथा खेलकुद र वन मन्त्रालय छुट्टाएर राखेका थिए ।  तर, यादवले उपराष्ट्रपतिसहित थप मन्त्रालय चाहिने भन्दै प्रचण्डसँग माग गरेका थिए । जुन अडान अझै कायम रहेको जसपाले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप