शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीले वास्ता नगरेपछि बुवाले हाले मुद्दा

बिहीबार, १८ फागुन २०७९, १६ : २९
बिहीबार, १८ फागुन २०७९

कार दुर्घटनापछि घाइते भएका एक व्यक्तिले आफ्नी छोरीलाई अदालतसम्म पुर्‍याएका छन् । युनिभर्सिटीमा पढिरहेकी छोरीले घर आएर आफ्नो स्याहार सुसार नगरेको भन्दै उनले छोरीविरुद्ध मुद्दा दर्ता गरेका छन् । 

झाङ थर भएका ती व्यक्तिले हेनान प्रान्तस्थित पुयाङमा आफ्नो कार दुर्घटना भएपछि छोरीलाई बारम्बार फोन र मेसेज गरेका थिए । उनले छोरीलाई आफू घाइते भएको र घर आएर आफ्नो हेरविचार गरिदिन बारम्बार आग्रह गरे । तर छोरीले उनको आग्रह स्वीकार गरिनन् । एक दिन छोरीले आफ्नो नम्बर नै ब्लक गरिदिएपछि भने उनी जिल खाए । उनी असाध्यै आक्रोशित भए । त्यसपछि स्थानीय फ्यामिली कोर्टमा उनले छोरीबाट २१५ डलर मासिक भत्ताको माग गर्दै मुद्दा दर्ता गरे ।

चिनियाँ नागरिक संहिताको धारा २६ बमोजिम वयस्क छोराछोरीले आफ्ना बुवालाई समर्थन र सुरक्षा दिनुपर्छ ।

झाङले अदालत सामु भने, ‘दुर्घटनापछि मैले छोरीलाई केही समयका लागि कलेजको पढाई छोडेर हेरचाह गरिदिन आग्रह गरेको थिएँ । तर केही समयपछि उनले मेरो फोन उठाउन नै छोडिन् । त्यसैले मैले उनलाई मेसेज पठाउन थालेँ तर एक दिन उनले मेरो फोन नम्बर ब्ल्याक लिस्टमा राखिदिइन् । उनले यसो गरेपछि मैले उनलाई सम्पर्क गर्ने कुनै बाटो रहेन ।’

यसको जवाफमा उनकी छोरीले भनिन्, ‘मैले बुवालाई आफ्नो कलेजको असाइन्मेन्टहरुका कारण पढाई छोडेर बुवाको हेरविचारका लागि घर आउन मिल्दैन भनेर बारम्बार भनेँ । मेरा अन्य दुई जना दाइहरू पनि थिए जोसँग बुवाले सहयोग माग्न सक्नुहुन्थ्यो तर सुरुदेखि नै बुवाले मलाई मात्रै दबाब दिइरहनुभयो ।’

‘म अझै पनि कलेजमा पढिरहेको छु । मैले बुवालाई मासिक भत्ता दिन सक्दिनँ,’ उनले भनिन् । ‘बुवाको हेरविचार गर्न म घर फर्किन सक्दिनँ । मेरो दुई जना दाइहरू पनि छन्, जसले बुवाको रेखदेख गर्न सक्छन् । बुवाको सबै मेसेज गुनासो मात्रै हुने गर्दथे । यसले मलाई परीक्षाको तनावका बीच थप तनाव दिन्थ्यो । त्यसैले मैले नम्बर ब्लक गरेँ । बुवाको मेसेजका कारण म मानसिक र शारीरिक रूपमा थाकेको महसुस गर्थेँ ।’

दुवै पक्षको सुनुवाइपछि अदालतले संहिताको धारा २६ लाई सम्मान गर्दै यो निश्चित मुद्दामा छोरी अझै पनि स्कुलमा भएकोले बुवालाई भत्ता दिन नसक्ने बतायो । यद्यपि, अदालतले छोरीलाई आफ्नो पढाई नबिगारीकन बुवाको अवस्थामा संवेदनशील हुन पनि आदेश दियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप