बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पाल्पा दरबार सङ्ग्रहालय वरपरका ५७ घर टहरा हटाइने

मङ्गलबार, ३० फागुन २०७९, ०९ : ३५
मङ्गलबार, ३० फागुन २०७९

पाल्पा । ऐतिहासिक पाल्पा दरबारसङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घर टहरा हटाइने भएको छ । संग्राहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाइ पर्यटकीय स्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घर टहरा हटाइने भएको हो ।

तानसेन नगरपालिकाले पुरातत्त्व विभागको निर्देशन, स्थानीय सरोकारवाला पक्षको सुझावका आधारमा दरबार परिसरमा रहेका ५७ वटा घर टहरा हटाउने निर्णय गरेको हो । ऐतिहासिक नगरी तानसेनको मूलढोका, पाल्पा दरबार, भगवती स्थान तानसेनको ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक धरोहर हुन् । यी क्षेत्रको संरक्षण गर्दै तानसेनलाई प्रमुख पर्यटकीय नगरी बनाउन पुराना अव्यवस्थित घर टहरा हटाउने तयारी गरिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए ।

तत्कालका लागि यहाँका घर टहरा हटाउँदा नराम्रो देखिए पनि भविष्यमा नगरको विकासका लागि घर टहरा हटाउने निर्णय सुखद हुने नगरपालिकाको विश्वास छ । यसअघि पनि पटक–पटक मख्खनटोल क्षेत्रको अव्यवस्थित घर टहरा हटाउने बहस भएको थियो ।

तानसेन नगरपालिका वडा नं. ४ मा तानसेन नगरपालिकाको आफ्नै नाममा रहेको १३ वटा घर टहरा सहित, घरेलु शिल्पकलाको १३, रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बाल संगठनको १ तथा २००२ देखि २०२२ सम्म राणाहरूले अर्को व्यवस्थापन नभसम्मको लागि भन्दै दिएका २४ घर टहरा हटाउन लागिएको हो ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग सटर बहाल सम्बन्धी गरिएको सम्झौता रद्द गर्ने, अन्य सङ्घसंस्था सरकारी निकायहरूलाई सटरमा रहेका बहालवालाहरूलाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको छ । विश्व सम्पदा सूचीमा तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालयलाई राख्ने योजनासहित बजेट विनियोजन तथा विकासको योजना अगाडि सारिएको हो ।

केही व्यक्तिले भने घर टहरा हटाउँदा तानसेन बजारलाई असर गर्ने बताएका छन् । सुरुमा पाल्पा दरबार क्षेत्रलाईसङ्ग्रहालयबनाउने क्रममा पनि व्यापक विरोध भएको थियो । हाल पाल्पा दरबारसङ्ग्रहालयका रूपमा सञ्चालित छ । यसले जिल्लाको पर्यटन क्षेत्रलाई माथि उठाउन सहयोग पुगेको छ । सडकका घर टहरा हटाउँदा सडक फराकिलो हुने अपेक्षा गरिएको छ भने बजारको चहलपहललाई बढाउन र पर्यटकको आवागमन बढाउन थप सहयोग पुग्ने विश्वास सहित नगरपालिकाले यस्तो निर्णय लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप