बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
जेनजी अभियन्ता लक्ष्मी घिमिरेसँग ‘वारपार’

‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’

बुधबार, २४ असार २०८३, २० : ००
बुधबार, २४ असार २०८३

सारांश

  • जेनजी अभियन्ता लक्ष्मी घिमिरेले प्रश्न गर्नेहरूलाई शत्रु नदेख्न सरकारलाई आग्रह गरेकी छिन्।
  • उनले मिटरब्याजी पीडित र सुकुमबासीहरूको न्यायका लागि आवाज उठाउँदै आएकी छिन्।
  • घिमिरेले सडकको स्थायी प्रतिपक्षीको रूपमा आफूलाई प्रस्तुत गर्दै न्याय नपाएसम्म लडाइँ जारी रहने बताएकी छिन्।

काठमाडौँ । नेपाली राजनीति र सामाजिक आन्दोलनमा पछिल्लो समय जेनजी पुस्ताको उदय सशक्त छ । मोबाइल र प्रविधिमा मात्रै रमाउँछन् भनिएको यो पुस्ता अचेल सडकमा अन्यायविरुद्ध चर्को आवाज उठाइरहेको भेटिन्छ । यस्तै एक प्रतिनिधि जेनजी पात्र हुन् लक्ष्मी घिमिरे । 

भोजपुरको पहाडदेखि विराटनगर हुँदै काठमाडौँसम्मको यात्रा तय गरेकी घिमिरेको उमेर सानो भएपनि उनले बोकेका मुद्दा भने निकै परिपक्व छन् । मिटरब्याजी पीडितहरूको न्यायका लागि मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेदेखि खोला किनारका सुकुमबासीहरूको पक्षमा आवाज उठाउनेसम्ममा उनी मुखरित छिन् । कतिपयले उनलाई सरकार विरोधी वा परिचालित भएको आरोप लगाएपनि उनी आफूलाई सडकको स्थायी प्रतिपक्षी भन्न रुचाउँछिन् । 

जेनजी अभियन्ता लक्ष्मी घिमिरेसँग उनको आन्दोलन र सरकारको कार्यशैलीमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले  गरेको संवादको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

जेनजी मुभमेन्टको कुरा गरौँ । भदौ २३–२४ सम्म जेनजी मुभमेन्ट एउटै थियो, तर त्यसपछि धेरै विभाजित भयो । किन तपाईँहरू एकै ठाउँ बस्न सक्नुभएन ?

वास्तवमा भदौ २३ र २४ गतेको आन्दोलन कुनै एउटा व्यक्ति वा संस्थाको आह्वानमा भएको थिएन । यो त सरकारका कतिपय जनविरोधी कदमहरू, विशेषगरी सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धपछि सिर्जना भएको एउटा ‘ट्रिगर’ थियो । हाम्रो पुस्ताले सरकारलाई प्रश्न गर्ने, खबरदारी गर्ने प्लेटफर्म नै सामाजिक सञ्जाल हो । जब सरकारले त्यही बाटो बन्द गरिदियो, तब युवाहरू स्वतःस्फूर्त सडकमा उत्रिए ।

Laxmi Ghimire GenZ

यो कुनै पार्टी वा संगठनले बनाएको आन्दोलन नभएकाले यसमा फरक–फरक विचार र समूहहरू हुनु स्वाभाविक हो । कोही सरकारमा पुगे, कोही सडकमै रहे । म चाहिँ सडकको प्रतिनिधित्व गर्दैछु ।

तपाईँ २३ गतेको आन्दोलनभन्दा अगाडिदेखि नै सामाजिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो कि त्यही आन्दोलनपछि सक्रिय हुनुभएको ?

म विगत चार–पाँच वर्षदेखि सामाजिक–आर्थिक न्यायको आन्दोलनमा छु । म मिटरब्याज पीडितहरूसँगै सडकमा थिएँ । कतिपयले मलाई सोध्छन्– तिमीहरू हिजो कहाँ थियौ ? ३५ वर्षदेखि राज्यले अन्याय गर्दा किन बोलेनौ ? तर म उनीहरूलाई भन्छु, म हिजो पनि सडकमै थिएँ र आज पनि सडकमै छु ।

तपाईँ भोजपुरमा जन्मिनुभयो, विराटनगरमा पढ्नुभयो । अहिलेको पुस्तालाई घोप्टे युगका मान्छे अर्थात् मोबाइलमा मात्र झुम्मिने भनिन्छ । तपाईँलाई चाहिँ यो विद्रोहको चेतना कहाँबाट आयो ? घरबाट केही प्रेरणा थियो ?

मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक होइन । तर म सानैदेखि गाउँघरमा हुने अन्याय हेर्दै हुर्किएँ । वडा कार्यालयमा हुने ज्यादती, नेताहरूले जनतामाथि गर्ने व्यवहार, पहुँच नहुने गरिबलाई पेलिरहने परिपाटीले मलाई भित्रभित्रै पोल्थ्यो । किन कमजोर वर्गलाई मात्र सधैँ थिचिन्छ ? किन शक्ति र पैसा भएकाहरूको मात्र चल्छ ? यी प्रश्नहरू मेरो मस्तिष्कमा सानैदेखि खेलिरहन्थे ।

भनेपछि भोजपुरमै विद्रोहको बिउ रोपिएको थियो ?

बिउ रोपिएको थियो, तर विस्फोट विराटनगर पुगेपछि भयो । म कविता र गजलहरू लेख्थेँ । ती सिर्जनामार्फत म अन्यायका विरुद्ध प्रश्न गर्थेँ । मभित्रको उकुसमुकुस कवितामार्फत बाहिर निस्कन्थ्यो ।

तपाईँ त लोकसेवाको तयारी गर्न काठमाडौँ आउनुभएको थियो । सिडिओ बनेर जनताको सेवा गर्ने सपना थियो । तर त्यो बाटो छाडेर सडकको आन्दोलनमा कसरी होमिनुभयो ?

हो, म नायब सुब्बाको तयारी गर्दै थिएँ र मेरो अन्तिम लक्ष्य सिडिओ बनेर सुशासन दिने नै थियो । काठमाडौँमा म लोकसेवा पढ्दै पार्ट–टाइम जागिर पनि गर्थेँ । त्यही बेला मधेसका मिटरब्याज पीडितहरू न्यायका लागि शान्तिवाटिकामा आइपुग्नुभयो । म ऐक्यबद्धता जनाउन त्यहाँ गएँ । जब मैले ती आमाहरूको फुटेको कुर्कुच्चा र नाङ्गो गोडा देखेँ, मलाई आफ्नै आमाको सम्झना आयो ।

Laxmi Ghimire GenZ2

मलाई लाग्यो, मेरो ममी जस्तै कति धेरै आमाहरू यहाँ अन्यायमा परेका रहेछन् । किताबमा नेपाल सुन्दर र न्यायपूर्ण भनेर पढाइन्थ्यो, तर ५०० मिटर पर सडकमा मान्छेहरू रुँदै न्याय मागिरहेका थिए । त्यो विरोधाभासले मलाई लोकसेवा र जागिर दुवै छाडेर पूर्णकालीन रूपमा आन्दोलनमा लाग्न प्रेरित गर्‍यो ।

मिटरब्याज पीडितहरूको समस्या कस्तो छ ? एउटा उदाहरण दिएर बुझाइदिनुस् न ।

मानौँ, तपाईँ साहु हुनुहुन्छ र म पीडित । मैले मेरो छोरीको विवाह वा उपचारका लागि तपाईँसँग ५ लाख रुपैयाँ ऋण मागेँ । तपाईँले मलाई कागजी रूपमा १० लाखको तमसुक बनाउनुपर्छ र भएको दुई कट्ठा जग्गा पनि मेरो नाममा पास (धनीपुर्जा कब्जा) गरिदिनुपर्छ भन्नुभयो । मलाई आपत् परेको छ, मैले हुन्छ भनेँ । म त पढ्न जान्दिनँ, ल्याप्चे लगाइदिएँ । तर तपाईँले मलाई १० लाखको तमसुक गराउनुभयो । मैले महिनाको १०–२० हजार ब्याज तिरिरहेँ, तर तपाईँले त्यसको भरपाई दिनुभएन । बस्, विश्वासको भरमा कारोबार भयो । पछि तपाईँले खोइ ब्याज ? खोइ सावाँ ? भनेर मलाई प्रहरी लगाएर थुन्ने धम्की दिनुभयो । म फेरि अर्को लघुवित्त वा साहुसँग ऋण लिएर तपाईँलाई बुझाउन थालेँ । यसरी म ऋणको यस्तो चक्रमा फसेँ कि अन्तिममा मेरो जग्गा पनि गयो र म सुकुमबासी भएँ । यो एउटा ठुलो आपराधिक सञ्जाल हो ।

सरकारले त आयोग बनायो, कतिपयले न्याय पनि पाए भन्छन् नि ?

आयोग बन्यो, तर पूर्ण न्याय अझै बाँकी छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा केही काम भयो । ५ हजार पीडितले न्याय पाएको र केही जग्गा फिर्ता भएको सरकारी तथ्यांक छ, तर वास्तविक पीडित अझै धेरै हुनुहुन्छ । रवि लामिछानेजी गृहमन्त्री हुँदा पनि हामीले संवाद गर्‍यौँ, तर उहाँहरूको बुझाइमा केही अस्पष्टता देखियो । उहाँहरू मिटरब्याजलाई लेनदेनको सामान्य समस्या मात्र भन्नुहुन्छ, जुन गम्भीर संगठित अपराध हो ।

तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहको कार्यशैलीप्रति पनि निकै आक्रोशित देखिनुहुन्छ । खोला किनारका सुकुमबासी हटाउने कुरामा तपाईँहरूले अवरोध गर्नुभयो, किन ?

हामीले अवरोध गरेको होइन, मानवीय संवेदना र न्यायको कुरा गरेको हो । प्रधानमन्त्री र मेयर बालेनजीले ३५ वर्षको समस्या १५ दिनमा समाधान हुँदैन त भन्नुहुन्छ, तर विकल्प नदिई डोजर चलाउनुहुन्छ । के गरिबहरूलाई मारेर सहर सुन्दर हुन्छ ? सुकुमबासीहरूलाई होल्डिङ सेन्टरमा राखेर यातना गृह जस्तो बनाइएको छ । न खाना छ, न औषधि । अहिलेसम्म ७ जना सुकुमबासीको मृत्यु भइसकेको छ, दुई जनाले त आत्महत्या गरे । के यो सुशासन हो ? राज्यले पहिला विकल्प र पुनर्वासको व्यवस्था गर्नुपर्छ, अनि मात्र व्यवस्थापन गर्नुपर्छ ।

सरकारले त १०० दिनमा ८७ अंक ल्याएका छौँ भनिरहेको छ । तपाईँ चाहिँ एउटै राम्रो काम देख्नुहुन्न त ?
म पूर्ण रूपमा नराम्रो मात्रै भन्दिनँ । केही सकारात्मक झिल्काहरू छन् । जस्तै, सेवा प्रवाहमा केही छिटोछरितोपन आएको छ । पुराना राजनीतिक सिन्डिकेटलाई केही हदसम्म झट्का लागेको छ । प्रधानमन्त्रीले बालुवाटारबाट होइन, सिंहदरबारबाट सरकार चलाउनु राम्रो पक्ष हो । तर शासकीय सुधारका नाममा संसद्लाई छलेर अध्यादेश ल्याउने, आफ्ना मान्छेलाई भ्रष्टाचारको छानबिनबाट जोगाउने र सम्पत्ति शुद्धीकरणमा आफ्नालाई उन्मुक्ति दिने नियमावली बनाउनु सरासर गलत छ । 

तपाईँलाई कसैले परचालित गरेको आरोप पनि त लाग्छ नि ? यत्रो आन्दोलन गर्ने, काठमाडौँमा बस्ने खर्च कहाँबाट आउँछ ?

यो प्रश्न मलाई सधैँ सोधिन्छ । हामीलाई कसैले उचालेर सडकमा आउनुपर्दैन । एउटा सचेत युवाले आफ्नो देश र समाजको अवस्था देखेर नै आवाज उठाउने हो । खर्चको कुरामा हामी आपसमा जुटाउँछौँ । म पहिले जागिर पनि गर्थेँ, केही बचत थियो ।

Laxmi Ghimire GenZ1

घरबाट कहिलेकाहीँ आमाबुबाले मायाले पठाइदिनुहुन्छ । तर कसैले राजनीतिक एजेन्डा पूरा गर्न पैसा दिन्छ भन्ने कुरा गलत हो । न्यायको लडाइँ लड्दा कसैको सहारा खोज्नु पर्दैन ।

तपाईँलाई रास्वपा वा अन्य दलबाट चुनाव लड्ने अफर आएन ? सांसद भएर यी कुरा संसदमा उठाउन मन लागेन ?

प्रस्तावहरू आएका हुन्, तर मैले अहिले सडक नै रोजेँ । सबै सरकारमा गएर मात्रै परिवर्तन आउँदैन । सडकमा पनि एउटा दह्रो प्रतिपक्षी चाहिन्छ । हामी सडकको स्थायी प्रतिपक्षी हौँ ताकि जुनसुकै सरकार आओस्, उसले गल्ती गर्दा प्रश्न गर्ने कोही होस् ।

लक्ष्मीजीको व्यक्तिगत लक्ष्य चाहिँ के हो ? भोलि विवाह होला, करिअर होला । के सधैँ सडकमै नारा लगाएर मात्र सम्भव छ ?

मेरो लक्ष्य भनेको न्यायपूर्ण समाज निर्माणमा योगदान दिने हो । भोलि म राजनीतिमा जाउँला वा नजाउँला, त्यो समयले बताउला । तर अहिले मेरो प्राथमिकता ती भुइँमान्छेहरूको आवाज बन्नु हो । प्रश्न गर्न छोड्नु हुँदैन । हिजोको पुस्ताले प्रश्न गर्न छोडेको भएरै आज हामीले जेन जी आन्दोलन गर्नुपरेको हो । हामी चाहन्छौँ– हाम्रो पुस्ताले खाडीमा पसिना बगाउन नपरोस्, आफ्नै देशमा स्वाभिमानका साथ बाँच्न पाइयोस् ।

सरकार र जनतालाई के भन्न चाहनुहुन्छ ?

सरकारलाई मेरो आग्रह छ– लोकतन्त्र भनेको डोजर चलाउनु मात्र होइन, जनताको आँसु पुछ्नु पनि हो । प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस् । जनतालाई भन्छु– आफ्नो अधिकारका लागि बोल्न नछोड्नुस् । हामी थाक्ने छैनौँ, असार २५ गतेदेखि फेरि मिटरब्याज विरुद्ध पैदल न्याय मार्च भाग–३ सुरु गर्दैछौँ । न्याय नपाएसम्म हाम्रो लडाइँ जारी रहनेछ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप