सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
ब्याजदर विवाद

एकल अंकको ब्याजदर कति सम्भव ?

मङ्गलबार, ३० फागुन २०७९, १७ : १८
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौं । यतिखेर बैंकको ब्याजदरको विषयलाई लिएर उद्योग व्यवसायीहरु सडक संघर्षमा छन् । खराब आर्थिक स्थितिका बाबजुद पनि बैंकहरुले चर्को ब्याज असुलेर पलायनको स्थितिमा पुर्‍याएको भन्दै व्यवसायीहरु बैंकविरुद्ध सडकमा उत्रिएका हुन् । अहिलेको स्थितिमा बैंकको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशत भन्दा तल कायम गर्नुपर्ने व्यवसायीहरुको माग छ । तर, यो निक्षेपमा नभएर कर्जामै हुनुपर्ने व्यवसायीहरुको माग हो ।

हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४१ देखि ८.४१ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । यस्तो ब्याजदर अझ मुद्दती निक्षेपमा सरदर १२.१३ प्रतिशत प्रदान गरिरहेका छन् । माघ मसान्तसम्म औसत १०.७२ प्रतिशत आधारदर (बेसरेट) कायम गरेका बैंकहरुले न्यूनतम २ प्रतिशतमात्र प्रिमियम चार्ज गर्ने हो भने पनि कर्जाको ब्याजदर १२.७२ प्रतिशत पुग्ने देखिन्छ । तर अहिले २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम चार्ज गरिरहेका बैंकहरुले कर्जामा औसत १३.०३ प्रतिशत ब्याज लिइरहेको केन्द्रीय बैंकले नै जनाएको छ ।

तर, व्यवसायीहरुको माग अनुसार तत्काल कर्जाको ब्याजदर एकल अङ्कमा झार्ने हो भने हाल कायम ब्याजदरमा कम्तीमा ४ प्रतिशत घटाउनुपर्ने देखिन्छ । यो कति सम्भव छ भन्ने पक्ष विचारणीय देखिन्छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि थप तातेको माहोल

ब्याजदर घटाउनुपर्ने माग राख्दै गत आइतबार उद्योग व्यवसायीहरु माइतीघर मण्डलामा बैंकविरुद्ध ठूलठूला नारा लेखिएका कालो ब्यानर प्रदर्शन गर्दै थिए । ठिक यतिनै बेला नेपाल निर्माण व्यवसायी महासंघको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्न प्रज्ञा प्रतिष्ठान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमै आफूले बैंकको ब्याजदर एकल अङ्कमा झार्न निर्देशन दिइसकेको अभिव्यक्ति दिए । यसले व्यवसायीहरुको आन्दोलनलाई थप बल पुग्यो ।

उसो त प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले उच्च बजार महँगी, तीब्र आयात र आर्थिक सन्तुलन मिलाउनकै लागि ब्याजदरलाई स्वतन्त्र छाडिदिएको केन्द्रीय बैंकमाथि समेत दबाब पर्न गएको छ । तर, अहिलेको स्थितिमा बैंकको ब्याजदर एकल अङ्कमा झार्न सम्भव नभएको सरोकारवालाहरु बताउँछन् ।

‘अहिलेकै स्थितिमा कम्तीमा दुई प्रतिशत ब्याजदर घटाउन सकिने अवस्था छ । त्यो भन्दामाथि सम्भव नहोला,’ पूर्व बैंकर्स समेत रहेका एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (एनडीएफ)का प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, ‘तर, यसमा केन्द्रीय बैंकको पहल आवश्यक छ ।’

अप्रत्यक्ष रुपमा राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरमा वृद्धि गरेको सरदर १.५ प्रतिशतको ब्याजदर घटाउने हो भने वित्तीय बजारमा केही सहज हुने उनको भनाइ छ । राष्ट्र बैंकले आयातको मागमा संकुचन ल्याउनकै लागि ब्याजदर वृद्धिको रणनीति लिएकाले त्यो आफै नियन्त्रणमा आइसकेको भन्दै उनले अब ब्याजदर घटाए हुने तर्क गरे । तर, राष्ट्र बैंक तत्काल ब्याजदर घटाउने पक्षमा देखिँदैन ।

‘राष्ट्र बैंकले कहिले ब्याजदरमा हस्तक्षेप ग-यो र ? यो त बजारको माग र आवश्यकता अनुसार स्वचालित रुपमा तलमाथि भइरहेकै अवस्था हो । अहिले पनि केन्द्रीय बैंकले ब्याजदरको विषयमा कुनै हस्तक्षेप गरेको छैन । ब्याजदर घटाउन बैंकहरु स्वतन्त्र छन्,’ राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीसँग भने ।

यद्यपि, उद्योगी व्यवसायीहरुको चर्को दबाबका बिच बैंकहरुले चैत १ गतेदेखि कम्तीमा १ प्रतिशतले ब्याजदर घटाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याज कम्तीमा १ प्रतिशतले घट्नेगरी आफ्नो प्रिमियम चार्जमा कम्प्रोमाइज गर्ने भएका हुन् । योसँगै बैंकहरुको कर्जाको ब्याजदर सरदर १२ प्रतिशतमा झर्नेछ ।

कर्जाको ब्याजदर घटाउने निर्णयमा पुगेका बैंकहरु निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने तयारीमा छन् । यस्तै, सोमबारमात्र विकास बैंकहरुले समेत आगामी चैत १ गतेदेखि निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउने निर्णय गरेका छन् । जस अनुसार चैत १ गतेदेखि विकास बैंकतर्फ १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशतमा झर्नेछ ।

अन्तर बैंक ब्याजदर घट्दै गर्दा सहज हुने अनुमान

प्रधानमन्त्री, उद्योग व्यवसायीहरुले भनेजस्तै तत्काल बैंकको ब्याजदर एकल अङ्कमै झर्ने सम्भावना नभए पनि केही सहज हुँदै जाने देखिन्छ । केही महिना अघिसम्म ८ प्रतिशतको हारहारीमा रहेको अन्तर बैंक ब्याजदर हाल ५ प्रतिशतमा झरेकाले पनि सहज स्थिति देखिएको हो ।

आइतबार मात्र माघ मसान्तको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ५.२८ प्रतिशत कायम भएको जनाएको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो अन्तर बैंक ब्याजदर ४.७८ प्रतिशतमात्र थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप