बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसको दाबी, एमाले भन्छ–हास्यास्पद !

शुक्रबार, ०३ चैत २०७९, २१ : ४७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल को भन्नेमा नेपाली कांग्रेस र एमालेको दाबी अझै हल भएको छैन । एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गर्दै गत फागुन ३० गते संघीय संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो । 

सो निवेदन सम्बन्धमा संघीय संसद् सचिवालयले हालसम्म कुनै निर्णय गरेको छैन । यता कांग्रेसले पनि वर्तमान सरकारलाई समर्थन गरेको सन्दर्भमा अझै आफूलाई प्रमुख प्रतिपक्षी दल बताइरहेको छ । 

एमालेले गरेको मागका बारेमा बुझ्न संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रवक्ता एकराम गिरीले एमालेको पत्र दर्ता भएको आफूले थाहा पाएको तर त्यसबारेमा केही निर्णय भए वा नभएको बारेमा आफूलाई जानकारी नभएको बताए । यता एमालेले पनि सो पत्रको बारेमा संसद् सचिवालयबाट कुनै जानकारी नआएको बताएको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसद् सचिवालयमा प्रमुख प्रतिपक्षी दलको मान्यताको माग गर्दै दर्ता गराएको पत्रबारे निर्णयको जानकारी हालसम्म नपाएको बताए । 

कांग्रेसले अझैपनि आफूलाई प्रमुख प्रतिपक्षी दल भन्नु हास्यास्पद रहेको उनले बताए । रातोपाटीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले भने,‘न कानुनी हिसाबले, न राजनीतिक हिसाबले कुनै हिसाबले पनि कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भन्न सुहाउँदैन । प्रतिनिधि सभा नियमावलीमा पनि प्रष्ट रूपमा लेखेको छ कि सरकारमा सहभागी भएको वा सरकारलाई समर्थन गरेको बाहेकको ठूलो राजनीतिक दल नै प्रमुख प्रतिपक्षी दल हुन्छ ।’

उनले अगाडि भने,‘नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको पनि छ । हामीले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिइसक्यौँ । हामी प्रमुख प्रतिपक्षी दल भनेर हिडिपनि सक्यौँ । कानुनलाई पालना गर्ने, कानुनलाई मान्ने हिसाबले यतिबेला नेकपा एमाले प्रमुख प्रतिपक्षी दल हो । यसमा कुनै विवाद छैन ।’

कांग्रेसको प्रभावका कारण संसद् सचिवालयले एमालेलाई प्रमुख प्रतिपक्षको मान्यता नदिएको हुन सक्ने उनको टिप्पणी छ । 

उनले भने,‘कांग्रेसले संसद् सचिवालयलाई भनेको होला, हामी सरकारमा गएका छैनौँ, संसद्को ठूलो पार्टी अहिले पनि प्रतिपक्षी भनेको होला । अव कांग्रेसले आफूलाई प्रतिपक्षी दल भन्नका लागि  सुहाउने कुरापनि होइन । सरकारमा जान खुट्टा उचालेको पार्टीले आज सरकारमा जाने कि भोलि सरकारमा जाने कि भनेर बसेको पार्टीले आफूलाई प्रमुख प्रतिपक्षी दल भन्नुले के अर्थ राख्छ र ?’

यता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अझै प्रतिपक्षी दल रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै लेखकले भने, ‘आजपनि हामी प्रतिपक्षी दल छौँ । अर्को निर्णय नभएसम्मका लागि हामी प्रतिपक्षी दल नै हौँ । हामीले प्रमुख प्रतिपक्षी दल भएको निर्णय फेरेका छैनौँ, यत्ति लेखिदिनस् ल ।’

यता उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न बानेश्वर पुगेका कांग्रेसका महामन्त्री गगन थापाले चैत ५ गतेअघि कांग्रेसले बैठक बसेर सरकारमा जाने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने प्रतिक्रिया दिएका छन् । उनले प्रमुख प्रतिपक्षी दलको विवाद निरूपण गर्न प्रतिनिधि सभा बैठक बस्नु अगाडि कांग्रेसले निर्णय लिने बताएका छन् । 

कांग्रेस एमाले दुवै दलले प्रमुख प्रतिपक्षी दलको माग गरेका कारण गत फागुन १७ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरेर चैत ५ गतेका लागि सारिएको थियो । 

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिएर हाल सत्ता गठबन्धन दलको सहयात्री भएरपनि कांग्रेसले आफूलाई प्रमुख प्रमुख प्रतिपक्षी दल बताइरहेको छ । 

यही चैत ५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ भने चैत ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप