मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका व्यावसायिक सटरको भाडादर सम्बन्धी मापदण्ड बनाउन सुझाव

शुक्रबार, ०३ चैत २०७९, २० : ५८
शुक्रबार, ०३ चैत २०७९

बुटवल । बुटवलका व्यवसायीहरुले सटर भाडादर सम्बन्धी मापदण्ड बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।

उपमहानगरपालिकाले आज सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न राखेको छलफल कार्यक्रममा सहभागीहरुले बुटवलमा व्यावसायिक सटरहरुको भाडादर अचाक्ली महँगो भएको भन्दै मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

उनीहरुले महँगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउनु उचित हुने बताए ।

प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै उनीहरुले यसबाट व्यवसायीहरु मर्कामा परेको गुनासोसमेत गरे ।

सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजना समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाईमा सडकमा आउन समेत तयार रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले बुटवलको व्यावसायिक क्षेत्रका समस्याका बारेमा उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै यसबारे आवश्यक निर्णय गर्ने बताए ।

चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वय सम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप