आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेले मागे माफी, भने–शब्द चयन मिलेन !

सोमबार, ०६ चैत २०७९, २३ : ०९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्तिमा शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्दै सभामुख घिमिरेले आफ्नो धारणाले सञ्चारकर्मीमाथि परेको असरमाथि आफू चिन्तित रहेको पनि बताएका छन् ।

भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।

त्यस क्रममा सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताएका थिए । उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको भन्दै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद् सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने पनि बताएका छन् । 

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप