शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

खानामा बढी नुन हुनु घातक, आफ्नो थाललाई कसरी राख्ने सुरक्षित ?

मङ्गलबार, ०७ चैत २०७९, १४ : ०६
मङ्गलबार, ०७ चैत २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्व भरी ठुलो सङ्ख्यामा मानिसको मृत्युको कारण नुन भएको बताएको छ । डब्ल्यूएचओको रिपोर्टमा आवश्यकताभन्दा बढी नुनले थुप्रै रोगलाई निम्तो दिने बताइएको छ । डब्ल्यूएचओको लक्ष्य सन् २०२५ सम्म मानिसको खानाबाट ३० प्रतिशत नुन कम गर्नु हो तर यस्तो सहजै हुने वाला छैन । ९ देश – ब्राजिल, चिली, चेक गणराज्य, लिथुआनिया, मलेसिया, मेक्सिको, साउदी अरब, स्पेन र उरुग्वेले मात्रै नुन कम खानका लागि केही विशेष खालको नियम बनाएका छन् ।

रिपोर्टमा समय रहँदा नै आवश्यक कदम नउठाए सात वर्षमा लाखौँ मानिसले यससँग सम्बन्धित रोगबाट आफ्नो ज्यान गुमाउन सक्ने दाबी गरिएको छ ।

धेरै नुन खाँदा यी रोगको खतरा

नुनमा सोडियम हुन्छ जुन शरीरका लागि आवश्यक छ तर यसको बढी सेवनले मुटु रोग, स्ट्रोक र मिर्गौला रोगको खतरा बढाउन सक्छ । यसबाहेक विश्व भरी गरिएका थुप्रै अनुसन्धानमा के पाइएको छ भने लामो समयसम्म सोडियमको बढी मात्रा सेवन गर्दा मोटोपना, पेटको क्यान्सर र ओस्टियोपोरोसिसजस्ता रोगको जोखिम बढ्छ ।

नुन हामीलाई किन चाहिन्छ ?

नुनमा सोडियम र पोटासियम दुवै हुन्छन् । सोडियमले मानिसको शरीरमा पानीको सही स्तर बनाउने देखि अक्सिजन र पोषक तत्त्व सबै अङ्गसम्म पुर्याउन मद्दत गर्छ । यसै कारण हाम्रो भास्कुलर र नर्भस सिस्टमले राम्रोसँग काम गर्न सक्छ ।

दोब्बरभन्दा पनि बढी नुन खान्छन् मानिस

नेपालीबीच पनि नुनको खपत बढिरहेको छ । यसको कारण हाम्रो खानपान हो । आजकाल हाम्रो खानपानको शैली जस्तो छ, त्यसमा नुन बढी छ । कुनै पनि व्यक्तिले दिनमा पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन तर विश्वभरिका मानिस हरेक दिन १०.८ ग्राम नुन खान्छन् जुन एक समयपछि शरीरमा घातक परिणाम दिन थाल्छ र मुटु रोग, मिर्गौला, स्ट्रोक, उच्च रक्तचापजस्ता रोगको कारण बन्ने गर्छ ।

के भन्छन् विशेषज्ञ ?

खानपानमा आवश्यकताभन्दा बढी नुन खतरनाक हुनसक्छ । यसबारे भारतको म्याक्स सुपर स्पेसलिटी अस्पतालका इन्टरनेशनल मेडिसिन डिपार्टमेन्टका निर्देशक डाक्टर रोमेल टिकू भन्छन्, ‘यसमा कुनै शङ्का छैन कि नुन थुप्रै रोगको कारण हो । नुनको बढी प्रयोग गर्दा छोटो अवधिमा धड्कन तीव्र हुने, तिर्खा बढी लाग्नेजस्ता समस्या हुनसक्छ । तर लामो समयपछि सोडियमको बढी प्रयोग हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको जोखिम बढाउँछ जुन पछि गएर स्ट्रोक र अन्य गम्भीर मुटु रोगको कारण बन्ने गर्छ । हाइटपरटेन्सन गम्भीर मिर्गौला रोगको प्रमुख कारक हो ।’

उनले भने, ‘यहाँ बुझ्नुपर्ने कुरा के छ भने हाम्रो खानामा सोडियमको मात्रा घरको खानाले बढ्दैन । बाहिरका प्याक गरिएका खानेकुरा यसका लागि जिम्मेवार हुन्छन् । प्याक गरिएका खानेकुरा, फ्रोजन र तयारी खानेकुरामा धेरै नै नुन हुन्छ । त्यसैले यसलाई सीमित गर्न आवश्यक छ । यदि तपाईँ प्याक गरिएको खानेकुरा खानुहुन्छ भने त्यसको लेबलमा सोडियमको मात्रा पक्कै पनि हेर्नुहोस् ।’

डब्ल्यूएचओ प्रमुखले के भने ?

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडनहोम गेब्रेयससका अनुसार अस्वस्थकर खाना विश्व भरी रोग र त्यसबाट हुने मृत्युको एउटा प्रमुख कारण हो । साथै, खानामा अत्यधिक सोडियमका कारण मृत्युको आँकडा बढिरहेको छ । रिपोर्टमा के देख्न सकिन्छ भने धेरैजसो देशले अहिलेसम्म सोडियम कटौतीका लागि विशेष कदम उठाएको छैन जसका कारण धेरै मानिसमा उच्च रक्तचाप, हृदयाघात, स्ट्रोकजस्ता थुप्रै स्वास्थ्य समस्याको खतरा बढिरहेको छ ।

डब्ल्यूएचओले सबै देशसँग यो मुद्दामा कडा नीति बनाउन अपिल गर्दै यदि मानिस खानामा नुनको सेवन सीमित गर्छन् भने रोगका कारण समय अगावै मृत्युमाथि नियन्त्रण गर्न सकिने बताएको छ ।

सिरे नुन खाने चलन बढिरहेको, यसले फाइदा दिन्छ त ?

आजकाल मानिसबीच साधारण आयोडिनको नुनको साटो सिरे नुन खाने चलन बढिरहेको छ । नेपालमा पहिला मानिस व्रत वा जुठो पर्दा यो नुन खाने गर्दथे तर आजकाल धेरैजसोले यसलाई दैनिक प्रयोग गर्न थालेका छन् । 

यसमा डाक्टर रोमिलले भने, ‘सिरे नुनमा साधारण नुनको तुलनामा बढी मिनरल्स हुन्छन् किनभने यो बनाउनका लागि रासायनिक प्रक्रियाको प्रयोग हुँदैन । यसमा म्याग्नेसियम, सल्फर, क्याल्सियम, पोटासियम र जिङ्क तत्त्व पाइन्छन् जसले हड्डी, मांसपेशी, पाचन र रक्तचापसँग सम्बन्धित थुप्रै समस्यालाई टाढा राख्छ । तर यसलाई साधारण नुनको स्थान दिन सहज छैन र यसमा सोडियम पाइँदैन भन्ने पनि होइन ।’

अनुसन्धानका अनुसार एक चम्चा सिरे नुनमा लगभग १,६८० मिलिग्राम सोडियम हुन्छ जुन साधारण नुनमा पाइने सोडियमभन्दा थोरै मात्रै कम हो । त्यसैले तपाईँले खाने सबै खानेकुरामा नुनको सेवन सीमित गर्ने कुरामा ध्यान दिनुपर्छ । सिरे नुन दीर्घकालीन समाधान होइन ।

खानामा नुनलाई यसरी गर्नुहोस् सीमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसले आफ्नो खानामा नुनको सेवन कम गर्नका लागि सबैभन्दा पहिला उनीहरूलाई जागरूक बनाउन आवश्यक छ । बढी नुन खाने बानी फेर्नका लागि जागरूकता अभियान चलाउनुपर्छ । सार्वजनिक संस्था जस्तै अस्पताल, स्कुल, कार्यालयमा पनि बढी सोडियम भएका खाद्य पदार्थको विक्री सीमित गर्नका लागि नीति अपनाउनुपर्छ र कम सोडियमयुक्त खाद्य पदार्थको उपलब्धता बढाउनुपर्छ ।

डब्ल्यूएचओका अनुसार प्याक गरिएका खानामा नुन कम गर्नुका साथै यसको मात्रा बारे पनि बताउनुपर्छ ताकि खरिद गर्ने व्यक्तिले यसलाई सहजै पढ्न र बुझ्न सकुन् । यस्तो गर्दा मानिसलाई कम सोडियमयुक्त खाना छान्न पनि सहज हुनेछ र यसरी उनीहरू बढी नुन खानबाट पनि जोगिनेछन् ।

मानिसले आफ्नो बानी फेर्नुपर्छ

यदि तपाईँ पनि आफ्नो खानामा सोडियमको मात्रा कम गर्न चाहनुहुन्छ भने नुनको प्रयोग सीमित गर्नुहोस् । खाना बनाउने बेला पनि नुनको प्रयोग कम गर्नुहोस् ।

नेपाली खानपानमा नुन बढी नै हाल्ने चलन छ । जबकि कसैलाई नुन चर्को खाने र खानामाथि नुन छरेर खाने बानी हुन्छ । यदि तपाईँको पनि यस्तै बानी छ भने तपाईँले यसलाई तुरुन्तै फेर्नुपर्छ ।

खानमाथि नुन छर्केर त खानै हुँदैन । यसका कारण स्नायु प्रणाली, मुटु र मिर्गौलासँग सम्बन्धित समस्या हुनसक्छ । 

पाकेको नुन काँचोभन्दा राम्रो हुन्छ । सलादमा नुनको साटो कागती निचोरेर हाल्नुहोस् जसका कारण नुन कम भएको जस्तो पनि लाग्दैन र यसले स्वाद पनि बढाउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप