शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चय कोषका सञ्चयकर्तालाई दशक यताकै सबैभन्दा धेरै लाभ

मङ्गलबार, ०७ चैत २०७९, १८ : २३
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०७८/७९मा साढे ५ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएपछि सञ्चायकर्तालाई उच्च लाभ दिएको छ । कोषले गत आर्थिक वर्षको नाफाबाट सञ्चयकर्तालाई आर्थिक वर्ष २०६८/६९ यताकै  सबैभन्दा बढी लाभ वितरण गरेको हो ।

गत आर्थिक वर्षमा ५ अर्ब ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको कोषले सञ्चयकर्तालाई विगत दशकयताकै बढी १.२ प्रतिशत मुनाफा वितरण गरेको हो । नाफामध्ये सञ्चयकर्ताको खातामा कुल ४ अर्ब ६० करोड ४६ लाख रुपैयाँ वितरण गरिएको कोषले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०६५/६६ देखि सञ्चयकर्तालाई मुनाफा वितरण गर्दै आएको कोषले सञ्चयकर्ताको बचत र कोषको नाफाको आधारमा मुनाफा वितरण गर्दै आएको छ ।

दशकयताकै बढी नाफा वितरण

कोषले कोषमा रकम जम्मा गर्ने कर्मचारीलाई विगत १० वर्षयताकै बढी मुनाफा उपलब्ध गराएको छ । कोषले गत आर्थिक वर्ष २०७८/७९को मुनाफा बाँडफाँड कोषमार्फत आर्थिक वर्ष २०६८/६९ यताकै बढी मुनाफा दिएको हो । सोबीचमा कोषले आर्थिक वर्ष २०७५/७६मा १.१५ प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५मा १.१ प्रतिशत र आर्थिक वर्ष २०७६/७७मा १ प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो । उक्त आर्थिक वर्ष र गत आर्थिक वर्ष २०७८/७९ बाहेकका वर्षहरूमा कोषले कहिल्यै पनि १ प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न सकेको थिएन ।

गत आर्थिक वर्ष २०७८/७९मा कोषमा रकम जम्मा गर्ने कर्मचारीले १.२ प्रतिशत मुनाफा पाएका हुन्। उक्त मुनाफा विगत १० आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०६८/६९मा ०.७५ प्रतिशत मुनाफा वितरण गरेको कोषले गत आर्थिक वर्ष २०७८/७९को उच्च मुनाफा १.२ प्रतिशत वितरण गरेको हो ।

सोही आर्थिक वर्षमा कोषले कर्मचारीलाई एक दशकयताकै न्यून ब्याजदरमा सापट पनि उपलब्ध गराएको छ । विशेष सापटी योजनामा कोषले विगत १० वर्षयताकै न्यून ब्याजदरमा सापट दिएको हो । गतवर्ष विशेष सापटी योजना अन्तर्गत ७.६ प्रतिशत ब्याजदरमा सापटी उपलब्ध गराइएको छ ।

उक्त ब्याजदर विगत दशकयताकै न्यून हो । सोभन्दा अघि विशेष सापटीमा आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३मा न्यूनतम ब्याजदरमा सापट उपलब्ध गराएको थियो । ती तीन आर्थिक वर्षमा कोषले ८.२५ प्रतिशत ब्याजदरमा सापट उपलब्ध गराएको कोषको विवरण छ । उक्त तीन आर्थिक वर्षबाहेकका आर्थिक वर्षमा कहिल्यै पनि ९ प्रतिशतभन्दा कम ब्याजदरमा सापट उपलब्ध गर्न सकेको थिएन ।

आर्थिक वर्ष २०६८/६९मा ९.२५ प्रतिशत ब्याजदरमा विशेष सापटी दिएको थियो । आर्थिक वर्ष २०७०/७१ मा र आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्म विशेष सापटीको ९.५ प्रतिशत ब्याजदरमा सञ्चयकर्तालाई विशेष सापटी उपलब्ध गराइएको थियो ।

कोषमा आबद्ध कर्मचारीहरूले पाउने मुनाफा सम्बन्धित कर्मचारीकै खातामा जम्मा गर्छ । कोषले सञ्चयकर्ताको खातामा रकम जम्मा गरेसँगै गत आर्थिक वर्ष २०७८/७९ का लागि कोषले सञ्चयकर्तासँग कर्जामा लिएको ब्याजभन्दा सञ्चयकर्तालाई कोषले दिएको ब्याज बढी भएको कोषले जानकारी दिएको छ ।

गतवर्ष कोषले सञ्चयकर्ताहरूलाई विशेष सापटी योजनामा ७.६ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । सञ्चयकर्तालाई कोषले ६.५ प्रतिशत ब्याजदर दिँदै आएको छ । त्यसमा थप १.२ प्रतिशत मुनाफा दिएपछि सञ्चकर्ताले पाउने ब्याज बढी देखिन्छ ।

औषधोपचारसहितका सुविधा

सञ्चय कोष ऐन २०१९ अनुसार कोष सञ्चालक समितिले प्रत्येक आर्थिक वर्षमा कमाएको नाफालाई  सञ्चयकर्ता कल्याणकारी कोष, मुनाफा बाँडफाँड कोष, जगेडा कोषलगायतमा छुट्याउँदै आएको छ । सञ्चयकर्ता कल्याणकारी कोषको रकमबाट औषधोपचार सोधभर्ना, सुत्केरी तथा स्याहार खर्च, काजकिरिया खर्च, दुर्घटना क्षतिपुर्तिलगायत रकम दिँदै आएको छ ।

मुनाफा बाँडफाँड कोषमार्फत सञ्चयकर्ताको बचत र कोषले कमाएको नाफाको आधारमा मुनाफा वितरण गरिन्छ । वितरण गरिने मुनाफा सम्बन्धित सञ्चयकर्ताको खातामा प्रत्येक वर्ष जम्मा गरिन्छ । सोबाहेक कोषले सञ्चयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह योजना उपलब्ध गराउँदै आएको छ ।

सो सुविधा प्रतिप्रसुती ७ हजार ५ सयका दरले वर्षमा २ पटक सम्म उपलब्ध गराउँदै आएको छ । त्यस्तै काजक्रिया अनुदान खर्च उपलब्ध गराउँदै आएको छ । सो खर्च सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई ४० हजार रुपैयाँ दिँदै आएको छ । त्यस्तै  दुर्घटना क्षतिपूर्ति योजनामा सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै सञ्चयकर्तालाई औषधोपचार योजनामा सामान्य औषधोपचारमा वार्षिक १ लाख रुपैयाँ र घातक रोगको हकमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप