शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीतपुरसिमरा गोल्डकप भोलिदेखि सुरु हुने, खेलप्रेमीहरु उत्साहित

बुधबार, ०८ चैत २०७९, ०९ : ०५
बुधबार, ०८ चैत २०७९

बारा । मोफसलकै प्रतिष्ठित जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण भोलिदेखि सुरु हुने भएको छ । बिहीबारदेखि  सुरु हुने प्रतियोगिताका लागि सिमरा रङ्गशालामा अन्तिम तयारी भइरहेको छ ।

उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रङ्गशालामा मञ्च व्यवस्थापन, प्याराफीट रंग रोगनको काम गरिरहेको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।  लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले भाग लिनेछन् ।

साबिक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो यूथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउने  छन् । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको भोलि हुने उद्घाटन खेल आयोजक र चितवनबीच हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदीयमान खेलाडीले नगद १५ हजार पाउने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाइटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रङ्गशालामा रात्रि समयमा खेल भइरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाइटमा खेल सञ्चालन गर्न थालेको हो । आयोजकले प्रतियोगिता सञ्चालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ । जीतपुरसिमरा गोल्डकप उद्घाटन कार्यक्रमको प्रमुख अतिथि  भने पूर्व श्रम मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठ रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप