शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पा अस्पतालको पीडा : सडक र पुल नहुँदा एम्बुलेन्स अलपत्र

बिहीबार, ०९ चैत २०७९, ०७ : ५१
बिहीबार, ०९ चैत २०७९

सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर, अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदीमाथि र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारीपट्टी थन्क्याउनु पर्ने बाध्यता छ । दुईमध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीपट्टीसम्म मात्र सेवा दिने गर्दछ ।

झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।

स्टेचरमा राखेर बिरामी लिन र  ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्‍याउन समस्या हुँदै आएको छ ।

कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोशीले बताइन् । अस्पतालमा बिरामी लिन र ल्याउन भेरी नदी बाधक छ । भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्‍याउने गरिएको डाक्टर जोशीले बताइन् ।

अहिले झोलोङगे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारण वल्लो दुनैबाट पल्लो दुनै जाने र आउने गरेका छन् । साँघुरो बाटोमा एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने ।

२५ शैयाको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या रहँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल छ । भेरी कोरिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठूलीभेरी, त्रिपुरा सुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबैभन्दा बढी सास्ती भोग्दै आएका छन् ।त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ । तर, अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप