शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कश्यपको कथा : आलस्यको करामत

आइतबार, १२ चैत २०७९, ११ : २१
आइतबार, १२ चैत २०७९

आलश्य जीवनको ठूलो शत्रु हो । यस्ता मानिसले कहिल्यै प्रगति गर्न सक्दैन । सदैव अरूले गरिदेला र खाउँला भन्ने सोचमा रहने भएकाले उसका लागि कुनै बेला यस्तो दिन पनि आउन सक्छ, जहाँ खानै नपाएर भोकभोकै तड्पिनुपर्ने हुन्छ । 
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना साह्रै अल्छी मानिस बस्थ्यो । उसलाई ढलेको सिन्कोसम्म उठाउनुप¥यो भने पनि ज्वरो आउने गथ्र्यो । सदैव आफ्नो काम कसले गरिदेला र खान पाइएला भन्ने गथ्र्यो र त्यस्तै मानिको खोजीमा हिँड्ने गथ्र्यो । उसको व्यवहारबाट गाउँलेहरू आजित भइसकेका थिए । यहाँसम्म घरपरिवारका सदस्यसमेत हैरान थिए । 

अघिपछि कता लाग्थ्यो पत्तै हुन्थेन । जब साँझ बिहान खाने बेला हुन्थ्यो तब अगाडि जो भेटिन्थ्यो उसैको घरमा भतुवा लाग्न पुग्थ्यो । उसले मागेपछि दिनै पर्ने हुन्थ्यो । नदिए कहिले घुर्की लगाउँथ्यो कहिले नानाभाँतीका गाली, गलौज तथा सत्तोसराप गर्न पुगिरहेको हुन्थ्यो । उसको बानी सुधार्न घरपरिवार लगायत गाउँहरूले समेत निकै प्रयास गरे तर कसैको पनि केही लागेन ।  

त्यसै गाउँमा एक जना चतुर्भुज शर्मा नामक सज्जन बस्थे । उनी समस्या समाधान गर्न माहिर मानिन्थे । समस्या समाधान गर्न चतुर अर्थात् जस्तोसुकै समस्या पनि सहजै समाधान गर्ने भएकाले गाउँलेहरू उनलाई चतुरे भन्ने गर्थे । उनको स्वभाव अलि बेढङ्गको थियो तर समस्या लिएर आउनेको भने सबै समस्या चुट्कीको भरमा समाधान गरिदिन्थे । 

बिस्तारै गाउँलेहरूको यो समस्या उनको कानसम्म पनि पुग्यो । पहिले त यसतर्फ खासै चासो दिएका थिएनन् जब गाउँलेहरू आफैँ समाधान गरिदिन आग्रह गर्न आए तब उनी पनि मौन रहन सकेनन् र चाँडै नै समस्या समाधान गर्ने आश्वसन दिएर उनीहरूलाई विदा गरे ।   
समय बित्दै गयो । चतुरे अल्छीलाई सवक सिकाउने उपयुक्त समयको प्रतीक्षामा गर्न लागे.। यत्तिकैमा एक दिन उनको भेट उक्त अल्छी मानिससँग भयो । उसलाई देख्नासाथ चतुरेले मीठो शब्दमा सम्बोधन गर्दै भने–

‘अल्छी भाइ ! आज कसैलाई उल्लु बनाउन पाएनौ ? अनुहार मलिन देख्छु नि ? कतै भोकै त छैनौ ? यस्तै हो भने त राम्रो भएन है । भो छाडौँ यी कुरा । यस अघि जे भयो, भयो बिर्सिदेऊ । अब त्यस्तो हुने छैन । एक पेट खानकै लागि चिन्ता लिनुपर्दैन । भरे बेलुकाको भोजनका लागि मेरो घरमा आउनु ठीक सात बजे । भरपेट चाहे अनुसारको भोजन गर्न पाउने मात्र छैनौ आइन्दा एक पेट खानका लागि चिन्तित हुनुनपर्ने शिक्षासमेत पाउने छौ ।’

चतुरेको कुरा सुनेर अल्छी महोदयलाई निकै खुसी लाग्यो । उनले यस अघि विश्वासै गर्न नसकिने कामसमेत पूरा गर्दै आएकाले उनको भनाइमा अविश्वास गर्नुपर्ने अवस्था पनि थिएन । त्यसैले उसले प्रश्न मुद्रमा भन्यो–
‘साँच्चै हो ? के निमन्त्रणा नै हो भनेर मानौँ ?’

‘अनि के त भाइ ! अहिलेसम्म झुट बोलेको थाहा पाएका छौ ?’
‘त्यो त छैन ।’

‘अनि ?’
‘त्यस्तो उपाय छ भने अहिले नै सिकाई दिनुस् हुन्न ?’
‘हुँदैन ।’

‘किन ?’
‘किनकि यस्तो मन्त्र सिकाउन साँझको समय चाहिन्छ ।’
यति भनेर चतुरे हिँडे । अल्छी महोदय साँझको प्रतीक्षा गर्न लाग्यो । उसलाई त्यो दिन निकै लामो लाग्यो । पहिलो कुरा त प्रतीक्षाको समय यसै पनि सबैलाई लामै लाग्छ । त्यसमाथि उसले त्यस दिन बिहानैदेखि केही खान पाएको थिएन । जब साँझ पर्न लाग्यो तब उसले हतार हतार चतुरेको आगनमा पुगेर भन्यो–
‘आइपुगेँ शर्माजी ! भोजन तयार छ होइन । चाँडो गर्नुस्, भोकको मारे प्राणै निस्केला जस्तो भइसकेको छ ।’ 

उसको कुरा सुन्नासाथ चतुरेले एकछिन है भन्दै बाहिर आएर हात गोडा धुन आग्रह गरे । त्यसपछि अल्छीले हतार हतार हात गोडा धोयो र मुख मिठ्याउँदै खानाको प्रतीक्षा गर्न लाग्यो तर निकै बेर प्रतीक्षा गर्दा पनि चतुरे खाना लिएर नआएपछि उसले सशङ्कित हुँदै भन्यो–
‘होइन हो चतुरेजी ! खोइत खाना ? तयार छ भन्नुभएको होइन ?’

चतुरेले सबकका लागि यही मौका उपयुक्त ठाने र मुसुक्क हाँस्दै भने–
‘भोजन त तयार छ महाशय ! सबै ठीकठाक नै छ । मात्र एक कुरो कमी छ । त्यसैको प्रतीक्षामा छु । त्यो पूरा हुनासाथ खान पाउनुहुनेछ ।’
‘एउटा कुरो कमी छ रे ? के हो त्यो भनेको ?’

‘यही कि खाना बनाउनका लागि दुईवटा हात चलाउने मानिसको कमी छ ।’ त्यसपछि अल्छीलाई कुरो बुझ्न बेर लागेन । उसले आफूलाई होच्याउन चतुरेले यी सब गरेका हुन् भन्ने ठान्यो र दायाँ बायाँ कतै नहेरी कुलेलम ठोक्यो । उसले त्यो रात न कतै बास पायो न गाँस नै ।  
यस घटनाले उसलाई यति अपमानित बोध गरायो कि त्यसपछि कडा मिनेत गरी आफ्नै कमाई खान थाल्यो । जब उसले आफ्नो बानी सुधारेको थियो तब उसमाथि हेर्र्ने गाउँलेहरूको दृष्टिकोण पनि स्वतः सुध्रियो । हिजोसम्म सबैको छिःछि र दुरदुर बन्दै आएका अल्छी महाशय अब सबैको हाईहाईमा परिणत भयो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप