आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

शनिबार, १८ चैत २०७९, १७ : १६
शनिबार, १८ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले)ले आगामी वैशाख १० गते हुने चिवतन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तर, एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोलि (आइतबार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ । त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रचार विभाग प्रमुख गुरुङले भने, ‘तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो पार्टीको तर्फबाट कमरेड सर्वेन्द्र खनाललाई पार्टीको तर्फबाट उम्मेदवार बनाएका छौं । त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीको निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा कमरेड रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेका छौं । त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा आज र भोलि थप छलफल गर्नुपर्ने आवश्यक्ता हामीले महसुस गरेका छौं । त्यहाँको राजनीति असाध्यै धेरै तरल भएको, उम्मेदवारहरुको बारेमा अझै छलफल गर्नुपर्ने, ठोस छलफल गर्नुपर्ने भएकाले भोलीका दिनसम्म बारा क्षेत्र नम्बर २ को उम्मेदवार तय गर्ने जिम्मेवारी पार्टीको मुख्यालयलाई दिएको छ । त्यो काम हामी भोलिसम्म सक्छौं । त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले त्यहाँका पार्टी इन्जार्चसहितका नेताहरुसँग बसेर सो विषयलाई टुंगो लगाउनु हुन्छ ।’

बैठकले पार्टी नेता भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली समेत बनाउने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी एमालेले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले बताए । उनले भने, ‘मिटरब्याजीबाट पीडितहरु काठमाडौँमा आई धर्नामा बसेको र उनीहरु शारीरिक तथा मानसिक पीडाका कारण बिरामी पर्दै गएको स्थितिप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकको प्रचलित कानुन र वित्तिय प्रणालीको मान्यता विपरित सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटर ब्याज असुल गर्नु गैरकानुनी हो । यस सन्दर्भमा सार्वजनिक भएका कतिपय घटनाहरु अमानवीय समेत छन् । मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिहरुले घरजग्गा गुमाउनु परेको, कतिपयले मुद्दामामिला व्यहोर्नुपरेको, कतिपय जेलमा परेको, कतिपयले घर छाडन बाध्य हुनुपरेको र कतिपय बालबालिकाहरुले पढाइसमेत गुमाउनु परेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्तको उपहास गरिरहेको हाम्रो पार्टीको निष्कर्ष छ । लामो समयदेखि पीडितहरुले यस विषयमा गम्भिर ध्यानाकर्षण गर्दा पनि समस्या समाधानका लागि तत्काल ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनताको परिचायक हो । हाम्रो पार्टी यस समस्याको समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ ।’ 

उनले भने, ‘नागरिकहरु मिटर ब्याजको पासोमा पर्ने स्थिति निर्माण हुनुको मुख्य कारणमा आम नागरिकसम्म वित्तिय पहुँच नहुनु र वित्तिय संस्थाहरु नागरिकहरुप्रति संवेदनशील एवम जवाफदेही नबन्नु समेत भएकाले वित्तिय संस्थाहरुलाई नागरिकको आवश्यक्ता, समस्या र चासोप्रति संवेदनशील हुने व्यवस्था गर्न हाम्रो पार्टी सम्वद्ध सबै पक्षको गम्भिर ध्यानाकर्षण गर्दछ । हाम्रो पार्टी मौद्रिक तरलताको संकट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तिय संस्था र लघुवित्तहरुको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र राख्न र व्यवसायीहरुको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन समेत दिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ आंै वर्ष प्रवेश हुने भएकाले सोही अवसरमा सोही दिनबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउनका लागि पार्टी सचिवालय र स्थायी कमिटीमा सदस्यहरुलाई सुझाव दिन पनि बैठकले निर्देशन दिएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप