शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हिमाली जिल्ला मुगुमा नेत्रज्योति सङ्घको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति

शुक्रबार, २४ चैत २०७९, ११ : ५३
शुक्रबार, २४ चैत २०७९

मुगु । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो ।

उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरूको आँखा परीक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविर मार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् ।

चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुका्े छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरुमध्यमा मोतीबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

त्यस्तै मुगुकै खत्याड गाउँपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतीबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरी समेत गरिएको थियो ।

दुईवटै शिविर मार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए ।

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।  

मोतीबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठिक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न सङ्घ संस्थाहरुसंगको सहकार्यमा देशैभरी वार्षिक हजारौँ निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप