शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीहरु नियमित पार्टी कार्यालयमा जानैपर्ने, कुन बार कसको पालो ?

शुक्रबार, ०१ वैशाख २०८०, २३ : ०७
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरु कार्यतालिका बमोजिम पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयमा धेरै भिडभाड हुन थालेपछि कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरुले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको हो । प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् । सोमबार पर्यटन मन्त्री, मंगलबार सञ्चारमन्त्री, बुधबार प्रशासन मन्त्री, बिहीबार गृहमन्त्री, शुक्रबार प्रधानमन्त्री र शनिबार सल्लाहकार तथा विज्ञहरु पार्टी कार्यालय जानुपर्ने छ । प्रधानमन्त्रीले आफ्ना टिमसँग प्रत्येक शनिबार २ घण्टा छलफल गर्ने र आफैँ भेट्न आउनेभन्दा पनि बोलाएर भेट्न आउनेलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

अब प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना खानेगरी अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको छ । टोलीमा सहिद तथा बेपत्ता परिवार, जनमुक्ति सेना र घाइते तथा अपाङ्गलाई नछुट्नगरी राख्नुपर्ने छ । सर्वसाधरणसँगको भेटघाटलाई सहज र व्यवस्थित बनाइने जनाइएको छ ।  प्रधानमन्त्रीले प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रदेशका एक÷एक जनालाई फोन गर्ने भएका छन् । माओवादीले नेता कार्यकर्तालाई भेट्न पहिलो पटक कार्यतालिका बनाएको होइन । यसअघि पनि कार्यतालिका बनाएर पार्टी कार्यालयमा नेता कार्यकर्ता र सर्वसाधारणलाई भेट्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

पार्टी सचिव गणेश शाहले सरकार र पार्टीलाई जोड्न, भेटघाट गर्न पार्टी कार्यालयमा प्रधानमन्त्रीदेखि मन्त्रीहरु आउने कार्यतालिका बनाइएको जिकिर गरे । ‘कार्यतालिका बनाएपछि नेता कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्न सहज भयो । चाहेको समयमा तुरुन्तै भेट हुने भयो,’ शाहले भने, ‘अर्को, बालुवाटार र सिंहदरबारमा नेता कार्यकर्ताको भिडभाड घट्ने भयो । प्रधानमन्त्रीसहित मन्त्रीलाई काम गर्न सहज बनाउँछ ।’

कार्यतालिका बनाएमा प्रभावकारी काम गर्न सहज हुनका साथै एउटा प्रणालीको विकास गरी थिति बसाल्न खोजिएको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले बालुवाटारमै पार्टी बैठक भेला, छलफल राखेको भन्दै आलोचना भएको थियो । ती आलोचनालाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यातालिका नै बनाएर पार्टी कार्यालयदेखि सिंहदबारसम्म भेटघाट गर्ने तयारी गरेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप