सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

गण्डकीका मुख्यमन्त्रीले सार्वजनिक गरे सरकारका मुख्य उपलब्धि ?

शुक्रबार, ०८ वैशाख २०८०, २१ : ००
शुक्रबार, ०८ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो नेतृत्वको सरकारले हालसम्म गरेका महत्त्वपूर्ण कामको सूची सार्वजनिक गरेका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत लिने तयारी गरिरहँदा शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले गरेका उपलब्धिबारे चर्चा गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिँदै छन् । उनी अल्पमतमा परिसकेका कारण विश्वासको मत लिन बोलाइएको संसदमै राजीनामा घोषणा गर्न सक्ने आकलन पनि गरिएको छ । पुस २५ गते गण्डकी सरकारको बागडोर समालेका अधिकारीले पुस २९ गते पहिलो पटक विश्वासको मत लिएका थिए । शनिबार सरकार बनेको एक सय ५ दिन पूरा हुन्छ ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले आफ्नो सम्पत्ति विवरणदेखि यो अवधिमा सरकारले गरेका कामको फेहरिस्त सार्वजनिक गरे । उनले प्रदेशको औचित्यकै बारेमा प्रश्‍नहरु उठिरहेको बेला नेपालको संविधानले परिकल्पना गरेअनुसार जनजीविकाको सवालमा बलियो रुपमा प्रस्तुत भएको दाबी गरे ।

‘विगतको शासन सञ्‍चालनको क्रममा प्राप्‍त भएको अनुभव, प्रदेशको आन्तरिक आम्दानी तथा वर्तमान राष्‍िट्रय आर्थिक अवस्था र प्रदेशलाई थप चुस्त र प्रभावकारी देख्‍न चाहने जनताको भावनालाई सम्बोधन गरेका छौं,’ मुख्यमन्त्री अधिकारीले भने ।

वर्तमान सरकारले मन्त्रालयको संख्या १२ बाट घटाई ७ वटामा कायम गरेर प्रदेशको खर्च कटौती गर्न पहल गरेको उनको भनाइ छ । भयावह अवस्थामा रहेको मिर्गौला रोगबाट पीडित नागरिकहरुलाई निःशुल्क डायलाइसिस सेवा विस्तार गर्ने निर्णय उनले पदभार ग्रहण गरेकै दिन गरेका थिए । उक्त निर्णयमात्र नभइ आफूहरुले सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति एवं उपकरण जडान गर्ने कार्य सम्पन्न गर्ने अन्तिम चरणमा पु¥याएको दाबीसमेत गरे ।

मुख्यमन्त्री अधिकारीले भने, ‘यो सरकारले अघिल्लो संघीय निजामती सेवा ऐन जारी नहुँदा सेवा प्रवाहमा परेको असरलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहका कर्मचारीको वृत्ति विकास गर्नुका साथै प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा गठन तथा सञ्‍चालन ल्याएर व्यवस्थित गरेको छ ।’

गण्डकी प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने, चालु खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको उनले सुनाए । ३४ वटा कानुनलाई केही प्रदेश कानुन संशोधन ऐनमार्फत संशोधन गरिएको पनि उनले जनाए ।

मुख्यमन्त्री अधिकारीले सार्वजनिक गरेका केही उपलब्धि

—सडक तथा पूर्वाधार क्षेत्रमा २४१ योजनाहरुको ठेक्का सम्झौता हुनुका साथै ५१.८ किमि सडक कालोपत्रे साथै ३ वटा सडक पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

—एक स्थानीय तह, एक खेलमैदानू कार्यक्रम अन्तर्गत १५ वटा खेलमैदान निर्माणका लागि सम्झौता भएको ।

—विश्वकप क्रिकेट प्रतियोगितामा छनौट गराउन सफल गण्डकी प्रदेशका ३ जना खेलाडीलाई र  एक दिवसीय प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन सफल एक गरी ४ जना खेलाडीलाई जनही ५० हजार नगद र प्रशंसापत्रले पुरस्कृत ।

—भारतको अयोध्याधाममा स्थापना हुने रामलीला प्रतिमा निर्माणका लागि कालीगण्डकी नदी आसपास क्षेत्रबाट दुई थान देवशीला अयोध्याधामलाई हस्तान्तरण गर्ने गरी जनकपुरधामलाई प्रदान गरिएको छ ।

—दुध र दुग्धजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष र सदस्य नियुक्ति तथा स्रोत साधन व्यवस्थापन गरी बोर्डलाई क्रियाशील गराइएको ।

—गण्डकी प्रज्ञा प्रतिष्ठान सञ्चालनको लागि कानूनी व्यवस्था गर्न गण्डकी प्रज्ञा प्रतिष्ठान नियमावली, २०७९ स्वीकृत गरिएको ।

—एक निर्वाचन क्षेत्र, एक कृषि सडक कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९ र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरी कृषि तथा पूर्वाधार निर्माणको क्षेत्रमा सहजीकरण गरिएको ।

—गण्डकी प्रदेशका ११ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र समन्वय अधिकारीसँग राजस्व संकलन र अन्तर सरकार समन्वय सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।

—गण्डकी प्रदेश सरकारको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्याको डायलाइसिस केन्द्र स्थापना गर्नका लागि ७ करोड ५४ लाख ३८ हजार रुपैयाँ बजेट व्यवस्थापन गरिएको ।

—पर्यटन तथा उद्योग कार्यालयहरुवाट १,२१४ वटा नयाँ उद्योग र ९६६ वटा नयाँ वाणिज्य फर्महरु दर्ता गरिएको ।

—पर्यटन तथा उद्योग कार्यालयबाट २०० जनालाई सीप विकास तालिम प्रदान गर्नुका साथै १८० जना उद्यमीलाइ प्रविधि हस्तान्तरण गरिएको ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप