मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणमा परेकी महिलाको अवस्था अज्ञात

शुक्रबार, ०८ वैशाख २०८०, २२ : ४६
शुक्रबार, ०८ वैशाख २०८०

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात छ । आज बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता छिन् । दिउँसोभर प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।

आज बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । “हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ”, प्रवक्ता डाँगीले भने, “बाघ त्यही झाडीमा देखिएको छ, बाघको उद्धारका लागि बर्दियाबाट टोली आउँदैछ ।”
    
महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका छन् । बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बेलौरी पुगेको  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए ।

“बर्दिया र शुक्लफाटाँको टोली सो क्षेत्रमा पुगिसकेको छ”, उनले भने, “आवश्यक परेमा हात्ती तम्तयार अवस्थामा राखिएका छन् ।” उनले राति भइसकेकाले क्यामेराबाट बाघको निगरानी गरेर बाघ नियन्त्रणमा लिइने जानकारी दिए ।

ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको प्रहरीले जनाएको छ । चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप