शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा रवि लामिछाने देखेपछि लक्ष्मी कोइरी सम्झे रामहरि खतिवडाले

शुक्रबार, १५ वैशाख २०८०, १४ : ४८
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभा बैठकमा पुनः आवाज उठाएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूले सदनको सुरुमै कोइरीको विषय उजागर गरेको भन्दै पुनः सो विषय उठाएको बताए ।  उनले रवि लामिछाने गृहमन्त्री भएका बेला प्रतिनिधिसभाको बैठकमा एमालेका फरार सांसद कोइरी किन पक्राउ गर्न नसकेको भन्दै २ पटक सदनमा प्रश्न उठाएका थिए । मन्त्रीबाट हटेपछि लामिछानेले सांसद खतिवडामाथि व्यक्तिगत कटाक्ष गरेका थिए । उपनिर्वाचनबाट निर्वाचित भएपछि लामिछानेले शुक्रवार पहिलोपटक संसद् बैठकमा सहभागिता जनाएका छन् ।  

लामिछानेको नाम नलिई सांसद खतिवडाले भने– ‘मैले यो सदनको सुरुमै एउटा विषय उजागर गरेको थिएँ, आज फेरि त्यसलाई पुनः स्मरण गराउन चाहन्छु लक्ष्मी महतो कोइरीको बारेमा । मैले यो विषयमा कुरा उठाउँदा एकजना माननीयले मेरो व्यक्तिगत कुरामा चर्चा परिचर्चा गर्नुभयो । मैले एउटा सांसदको नाताले सरकारको ध्यानाकर्षण गराएको थिएँ । सभामुख महोदय, अहिले पनि संसद् सचिवालयका महासचिवका नाममा नेपाल प्रहरीले चिठी लेखेर सम्मानित उच्च अदालत जनकपुरको आदेश अनुसार उहाँ थुनामा बस्नुपर्ने भनेर चिठी लेखिएको र त्यो आजसम्म पनि कार्यान्वयन भएको छैन ।’

उनले अगाडि भने– ‘लगातार १० बैठकमा अनुपस्थित हुँदा पनि कुनै संसदीय समितिमा राखिएको सुन्नमा आएको छ । संसद्मा सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्ष तिर नभई सम्पूर्ण सदनको पक्षमा हुन्छ भन्ने हामीले बुझेका थियौँ । त्यसैले संविधानको धारा ८९ को घ र प्रतिनिधि सभा नियमावली २०४८ को ‘घ’अनुसार उहाँ निलम्बित हुनुपर्ने हो कि हैन ? आजसम्म निलम्बित नहुनुको कारण के हो ? संसद्लाई जानकारी गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’ 

उनले अयोग्य लडाकुले २ लाख पाउने भन्ने कुरा आएको बताउँदै अयोग्यलाई मात्र नभई नेपालको योग्य नागरिकलाई पनि २ लाख दिइयोस् भन्ने माग गरे । उनले अहिले आर्थिक अवस्था कमजोर भएका बेला अयोग्यका नाममा रकम बाँड्न बन्द गर्न आग्रह गरे । सत्तापक्ष दलका सांसद खतिवडाले यो कुरा उठाउँदा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले टेबल बजाएर समर्थन जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप