आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वअर्थमन्त्री पौडेलले भने–सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हावादारी

मङ्गलबार, १९ वैशाख २०८०, १८ : ११
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गरेका छन् । 

मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।  

पौडेलले मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताए ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको उनले बताए ।  

पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरे । पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको उनले बताए । वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको उनले आरोप लगाए । एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको विरुद्धमा लड्दा, पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको उनले बताए ।  

पौडेलले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतीका बारेमा कुनै चासो चिन्ता नभएको बताए । सरकारले अर्थतन्त्रको चुनौतीबाट मुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको उनले बताए । सरकार अर्थतन्त्रका चुनौती समाधान गर्नुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको उनले बताए । अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उनले उल्लेख गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप