शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लयमा देखिएको म्यानचेस्टर सिटी तेहरो उपाधिनजिक

रियल म्याड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा
बिहीबार, ०४ जेठ २०८०, ०६ : ३५
बिहीबार, ०४ जेठ २०८०

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । म्यानचेस्टर सिटीले बुधबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा स्पेनिस पावर हाउस रियल म्याड्रिडलाई ४—० गोलको फराकिलो अन्तरले हरायो ।

म्यानचेस्टर सिटी समग्रमा ५—१ गोलको अन्तरले फाइनलमा पुगेको हो । अघिल्लो साता रियल म्याड्रिडको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ । फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ । म्यानचेस्टर सिटी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि सन् २०२०÷२१ सिजनको फाइनलमा अर्को इङ्लिस क्लब चेल्सीले म्यानचेस्टर सिटीलाई १—० गोलले हराएको थियो । स्पेनिस नागरिक पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटी यो सिजन भने निकै लयमा देखिएको छ ।

त्यसैले यसपटक म्यानचेस्टर सिटी उच्च मनोबलका साथ पहिलो च्याम्पियन्स लिगउपाधि जित्ने योजनामा लागेको देखिन्छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रारम्भदेखि नै म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई दबाबमा राखेको थियो ।   

म्यानचेस्टर सिटीले दुबै हाफमा २—२ गोल गरेको थियो । म्यानचेस्टर सिटीका लागि सुरुको २ गोल २८ वर्षीय पोर्चुगिज मिडफिल्डर बेनार्डो सिल्भाले गरेका थिए । उनले १५ मिनेटको बीचमा २ गोल गरेका थिए । खेल सुरु भएको २३औं मिनेटमा उनले पहिलो गोल गरेका थिए ।

त्यसपछि निर्धारित समयको ३७ मिनेटमा आकर्षक गोल गर्दै सिल्भाले म्यानचेस्टर सिटीलाई पहिलो हाफमै २—० को अग्रता दिलाएका थिए । खेलको ७६औं मिनेटमा २७ वर्षीय स्विस खेलाडी म्यानुयल अकान्जीले म्यानचेस्टर सिटीका लागि तेस्रो गोल थपेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा २३ वर्षीय अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजले टोलीका लागि चौथो गोल गरेका थिए । हालसम्म सर्वाधिक १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियल म्याड्रिड भने खेल अवधिभर निरीह देखियो । रियल म्याड्रिड प्रतियोगिताको साविक विजेता क्लब पनि हो ।

यो सिजन लयमा देखिएको म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि पनि जित्ने अभियानमा छ । प्रिमियर लिग तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८५ अंक बटुलिसकेको छ ।

आगामी आइतबार घरेलु मैदानमा हुने खेलमा चेल्सीलाई हराए म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्नेछ । यसका अतिरिक्त यो सिजन म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पनि पुगिसकेको छ । वेम्बलीमा हुने फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप